ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शल्यक्रियाबाट पिसाबनली सम्बन्धी रोगको पूर्ण उपचार हुन्छ

२०७६ फागुन, २  
स्वास्थ्य र जीवन शैली
Image Not Found
डा. विनोद श्रेष्ठ, वरिष्ठ युरोलोजिकल सर्जन, बीएन्डबी अस्पताल, ग्वार्को

पिसाबसम्बन्धी संक्रमणका कारण पिसाबसम्बन्धी विभिन्न जटिल रोगहरू देखिन सक्छन् । पिसाब नलीसम्बन्धी समस्याले पिसाबथैली कमजोर भई विभिन्न रोग देखिने, मिर्गौला फेल हुनेसम्मको समस्या ल्याउन सक्छ । दुर्घटना वा अन्य चोटका कारण पिसाबको नली छिन्ने, पिसाब नली साँघुरो हुँदै जाने लगायत समस्या आउँछन् । यसै सन्दर्भमा वरिष्ठ युरोलोजिकल सर्जन, जेनिटोयुरिनरी रिकन्स्ट्रक्शन सर्जरी विशेषज्ञ डा. विनोद श्रेष्ठसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :

पिसाबसम्बन्धी रोगहरू के के हुन् ?
नेफ्रोलोजी र युरोलोजी गरी पिसाबसम्बन्धी रोगलाई दुई भागमा विभाजन गर्न सकिन्छ । जुनसुकै उमेरका व्यक्तिमा देखिने पिसाबसम्बन्धी रोग नेफ्रोलोजी र पिसाबसम्बन्धी जन्मजात देखिने रोग युरोलोजीअन्तर्गत पर्छ । पिसाबसम्बन्धी विभिन्न प्रकारका रोगहरू हुन्छन् । अनुवांशिक रोग, चोटपटकको कारण पिसाबको नली छिनेर हुने पिसाबसम्बन्धी समस्या, पिसाबको नली साँघुरो हुने, पिसाब नलीको टुप्पोभन्दा तल वा माथिबाट पिसाब बग्ने, पत्थरी, प्रोस्टेटमा समस्या, प्रोस्टेट क्यान्सर लगायत पिसाबसम्बन्धी रोग हुन् ।

जेनिटोयुरिनरी रिकन्स्ट्रक्शन सर्जरी भनेको के हो ?
पिसाबको नलीमा हुने समस्या जेनिटोयुरिनरी हो । शल्यक्रियाबाट यसको उपचार गर्न सकिन्छ, जसलाई जेनिटोयुरिनरी रिकन्स्ट्रक्शन सर्जरी भनिन्छ । पिसाबको नली छिनिने, पिसाबको नली साँघुरो भएर देखिने समस्या र पिसाबको नलीसम्बन्धी जन्मजात समस्या आदि यस अन्तर्गत पर्छन् ।

पिसाबको नलीसम्बन्धी समस्या हुँदा कस्ता लक्षण देखिन्छन् ?
पिसाबनली सम्बन्धी समस्या देखिएपछि अधिकांश अवस्थामा त सजिलै थाहा पाइने लक्षण हुन्छन् । पिसाब राम्रोसँग ननिख्रिने, आफै पिसाब बग्ने, पातलो पिसाब हुने, पिसाब फेर्न गाह्रो हुने लगायत लक्षण देखिन्छन् । यी त प्रत्यक्ष देखिने समस्या भए तर लक्षणै नदेखिएरै पनि यस्ता समस्या 
हुन सक्छन् ।

जेनिटोयुरिनरी समस्या किन देखिन्छ ?
पिसाबको नली साँघुरो हुने वा बन्द हुने मुख्य कारण चोटपटक हो । दुर्घटनाको कारण वा अन्य चोटपटकले पुठ्ठाको हड्डी भाँचिएर पिसाबको नली छिनिन सक्छ । कतिपय अवस्थामा पिसाबको संक्रमणका कारण पिसाब नली साँघुरो हुँदै जान्छ । तर कतिपय अवस्थामा कुनै कारणविनै पनि विस्तारै पिसाबको नली साँघुरो हुँदै जाने हुन्छ, जसको कारण थाहै हुँदैन । यसैगरी संक्रामक यौन रोगको कारण पनि यस्तो समस्या देखिन सक्छ ।

यसको उपचार पद्धति के हुन्छ ?
औषधि खाएर जेनिटोयुरिनरी सम्बन्धी समस्याको उपचार हुँदैन । यसमा शल्यक्रिया गर्नैपर्ने हुन्छ । पिसाब नलीसम्बन्धी यस्ता समस्या देखिएमा युरेथ्रोप्लास्टी गर्न सकिन्छ । मुखभित्रको छालाको प्रयोग गरी नयाँ पिसाब नली  बनाएर युरोथ्रोप्लास्टी गर्न सकिन्छ । केही अवस्थामा एकैपटकमा पूर्ण निको पार्न सकिने पनि हुन्छ । त्यस्तो अवस्थामा दुई र तीन पटकसम्म युरेथ्रोप्लास्टी गर्नुपर्ने हुन्छ । यो शल्यक्रियाबाट पिसाबनली सम्बन्धी रोग पूर्णरूपमा निको पार्न सकिन्छ । 

शल्यक्रियाको अन्य कुनै विकल्प हुँदैन ?
समय समयमा पिसाब नली खोलिराख्ने एउटा विकल्प हुन सक्छ । यन्त्रको माध्यमबाट समय समयमा पिसाब नली खोल्न सकिने वा फराकिलो बनाउन सकिने भए पनि केही समयपछि पुनः त्यो समस्या बल्झिने हुन्छ । त्यसकारण यसरी संक्रमण फैलिन दिनुभन्दा शल्यक्रिया नै यसको उत्तम उपाय हो ।

जन्मजात पनि यस्तो समस्या देखिन सक्छ ?
जेनिटोयुरिनरी सम्बन्धी जन्मजात समस्या एकदमै कम हुन्छ । तर जन्मिँदै पिसाब नली पिसाबको टुप्पोमा नभएर त्योभन्दा तलमाथि खुल्ने हुन्छ । कतिपयको पिसाबको नली नै हुँदैन । तर यो समस्या एकदमै कम मानिसमा मात्र देखिन्छ । यस्तो अवस्थामा पनि कृत्रिम पिसाब नली बनाएर शल्यक्रियाद्वारा यसको उपचार गर्न सकिन्छ । 

जेनिटोयुरिनरी सम्बन्धी समस्याले के कस्तो असर गर्दछ ?
शारीरिक रूपमा शरीरलाई असर गर्ने कुरा त छँदै छ, पिसाबको नली साँघुरो भएमा पिसाब राम्रोसँग खुल्दैन । यस्तो अवस्थामा हरेकपटक पिसाब फेर्दा बल गर्नुपर्ने हुन्छ । यसले कालान्तरमा पिसाबको थैली नै कमजोर पार्न सक्छ, जुन पछि शल्यक्रियापछि पनि सामान्य अवस्थामा नआउन सक्छ । यस्तो अवस्थामा बाहिर पिसाब फाल्न नसकी पिसाब पुनः मिर्गौलामा आउन सक्छ, जसले बारम्बर पिसाबको संक्रमण भई मिर्गौला फेल पनि भएका थुप्रै बिरामीहरू आएका छन् । यस्ता केही बिरामीमा पिसाब आफै चुहिरहने र अत्यधिक गन्हाउने पनि हुन सक्छ । यही कारणले सम्बन्धविच्छेद भएका बिरामी पनि हामीकहाँ आउने गरेका छन्, अर्थात् यस रोगले शारीरिक मात्र नभएर सामाजिक र पारिवारिक असर पुर्‍याएको देखिन्छ ।

नेपालमा युरोलोजीसम्बन्धी उपचारको अवस्था कस्तो छ ?
अन्य देशमा जस्तै नेपालमा पनि अत्याधुनिक प्रविधिबाट युरोलोजीसम्बन्धी समस्याको उपचार हुन्छ । पहिले शरीरमा ठूलो मात्रामा चिरेर शल्यक्रिया गरिन्थ्यो । अहिले लेजर मेशिनको सहायताले सानो प्वालबाट यसको शल्यक्रिया गर्न सकिन्छ ।

पिसाब सम्बन्धी समस्या हुँदा बिरामीहरू कुन अवस्थामा अस्पताल आउने गरेका छन् ?
शहरी क्षेत्रबाट रोगको सामान्य अवस्थामै अस्पताल आउने गरेको भए पनि अझै पनि ग्रामीण क्षेत्रबाट रोगको जटिल अवस्थामा मात्रै बिरामी अस्पताल आउने गरेका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्