ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

तीन घुम्ती पसलबाट शुरू भएको विराटनगरको व्यापारिक इतिहास

२०७६ फागुन, २  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । नेपालमा औद्योगिकीकरणको शुरुआत विराटनगरबाट भएकाले नेपालको औद्योगिक इतिहासमा यस शहरको महत्त्वपूर्ण भूमिका छ । अहिले पनि सुनसरी–मोरङ औद्योगिक कोरिडर मुलुककै ठूला औद्योगिक कोरिडोरमध्ये एक हो । 

हाल प्रदेश १ को अस्थायी राजधानी समेत रहेको यस शहरको व्यापारिक इतिहास विसं १९५० देखि शुरू भएको हो । जब तत्कालीन बडाहाकिम जितबहादुर खत्रीले विराटनगर बजार बसाउन पसलहरू खोल्न वातावरण मिलाएपछि पहिलो पटक महेश भगत, रामलखन भगत र रौनियारका तीन घुम्ती पसलहरू खुले, त्यसअघि हालको बनसखण्डी मन्दिर रहेको स्थानमा हटिया लाग्ने गर्थ्यो । विराटनगरको किनबेचको पहिलो थलो पनि त्यही रहेको थियो । 

त्यसपछि जावलाखेलका सिद्धिलाल हलुवाईले हालको रंगेलीरोडमा एउटा मिठाई पसल खोले । त्यतिखेर स–साना पसलमा नुनतेल लगायत सामग्रीहरूको विक्री गरिन्थ्यो । 

विसं १९४० को दशकमा भारतको कुशमाह हाट (बजार)बाट व्यापार व्यावसायका लागि ५ परिवार माडवारी समुदाय नेपाल (विराटनगर) प्रवेश गरेका थिए । त्यतिखेर सुगनलाल चाँदमल दुगड, छोगमल फत्तेचन्द सेठिया, विजराज बनेचन्द नाहटा, रतनचन्द सुगनचन्द चौलखा र धनराज नेमचन्द पारख नेपाल आएका थिए । 

विराटनगरमै सनपाटको खरीदविक्री गर्न सकियोस् भनेर तत्कालीन मोरङ बस्दोबस्त हाकिम सुब्बा कालीदास कोइराला र बजार अड्डा हाकिम सुब्बा गुञ्जमानले पाँच परिवार माडवारीहरूलाई निःशुल्क जमीन उपलब्ध गराएर विराटनगरमा स्थायी बसोवासको ब्यवस्था मिलाएका थिए । 

यी पाँच परिवार पछि विसं १९५० मा चार परिवार, विसं १९६० मा १३ परिवार माडवारी समूह विराटनगरमा व्यापार व्यवसायमा प्रवेश गरेका थिए । रामलाल गोल्छा विसं १९७८ मा विराटनगर आएका थिए । त्यतिबेला सनपाट र धान बयलगाडामा राखेर फारविसगञ्जसम्म पुर्‍याउनु पर्थ्यो । 

व्यापारी र समाजसेवीहरूको अनुरोधमा विसं १९६८ मा विराटनगरसँग सीमा जोडिएको भारतको जोगबनीसम्म रेल सेवा शुरू भयो । त्यसपछि जोगबनीबाट सहजै जुट, धान र तोरीको निकासी भारततर्फ बढेको थियो । 

नेपालको पहिलो उद्योगको रूपमा स्थापित विराटनगर जुट मिल १९९२ मा स्थापना भएको थियो । तर जुट मिल निर्माण गर्न निकै समय लागेकाले त्यसअघि जुट मिल भन्दा दक्षिणपट्टि कृष्ण राइस मिल स्थापना भएर सञ्चालनमा आएको थियो । तत्कालीन कृष्ण (पछि गुह्येश्वरी) राइस मिलको चिम्नीबाट धूँवाको मुस्लो निस्कने गरेको अग्रजहरू व्यक्तिहरू बताउँछन् । 

१९९२ सालमा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्सेरको सवारी मोरङको हरैंचामा भएको बेला कृष्णप्रसाद कोइराला, उद्योगपति रामलाल गोल्छाले जुट मिल स्थापनाका लागि बिन्तीपत्र हालेपछि ५१ प्रतिशत नेपालको र ४९ प्रतिशत शेयर भारतको हुनेगरी जुट मिलको स्थापना भएको थियो । 

विराटनगर बजारको विस्तारसँगै माडवारी समुदायको प्रवेशले यहाको पुरानो प्रविधि पनि फेरिएको पाइन्छ । पहिले चामल ढिकीमा कुट्ने, तेल गोरु लगाएर कोलमा पेल्ने चलनमा पनि परिवर्तन आयो । तेल, जुट र राइस मिलहरू खुलेपछि पुरानो प्रविधि हराएको थियो । तर सो समयमा मुलुकका अन्य भागमा भने पुरानै प्रविधि कायम थियो । सदरमुकाम रंगेलीबाट विराटनगर सारिएपछि विराटनगर बजारको विकासले तीव्रता लिएको थियो । विराटनगर जुट मिलको स्थापनापछि उद्योगहरू खुल्ने क्रम शुरू भएको हो । त्यसबेला नारायण रिजालको नारायण राइस मिल, रामलाल गोल्छाको जुट, चामल र स्टिलको व्यवसाय, तोलाराम दुगडको वैदेशिक व्यापार, कालुराम र मदनलाल अग्रवालको व्यापार, रामकिशन राठीका चामल मिलहरू, बोहोरा परिवारको बिँडी उद्योग, सत्यनारायण धनावतको विविध व्यापार, पण्डित मेघराज शर्माको नेपाल साहित्य भण्डार प्रकाशन र पुस्तक पसल आदि खुलेका थिए ।

जनस्तरको पहिलो सहकारी     
कृष्णप्रसाद कोइराला, हनुमान दास, याकुब खाँ, किफाय तुल्ला र गणेश मल भन्सालीहरूको संयुक्त लगानीमा विराटनगरको मेन रोडमा विसं १९७४ मा ‘उद्योगी गोला’ खुलेको थियो । यो नै नेपालको पहिलो सहकारी थियो, जसले किसानलाई नुन, तेल, औषधि, मल, बीउ, कीटनाशक विषादी मगाएर सरल मोलमा दिने र किसानका उत्पादनहरू पनि उचित मूल्यमा किनिदिने गरिन्थ्यो । देशमा खपत नहुने वस्तु विदेश पठाउने र किसानलाई आवश्यक पर्ने ऋण पनि दिने गरिन्थ्यो । तर विसं १९७६ मा कृष्णप्रसाद कोइरालाको सर्वस्वहरण हुँदा गोला लीलाम भएको थियो । तर निर्वासनबाट फर्कंदा विसं १९८६ मा कोइरालाले भारतबाट विरमफुल चामलको बीउ ल्याएर किसानलाई वितरण गरेका थिए ।

कस्तो थियो त्यो बेला विराटनगर ?
बुधहाट चौकबाट शनिहाटसम्म बाटोको दुवैतिर गोला र घरहरू थिए । बाटोभरि ठूला ठूला खाल्डा थिए । सनपाट, धान र तोरीको व्यापार हुन्थ्यो । व्यापार गर्न सबैले घोडा र बयलगाडाको प्रयोग गर्थे । रामलाल गोल्छा पनि सनपाटको व्यापार गर्न घोडा चढेर हिँड्ने गरेको स्मरण गर्दै ज्ञानचन्द दुगडले भने, ‘पछिसम्म पनि उहाँको घोडा रहेको मलाई सम्झना छ ।’ नेपालबाट सनपाट र धानको निकासीबाट आएको रकमले तेस्रो मुलुकबाट स्टिल ल्याएर स्थापना गरिएको हुलास मेटल क्राफ्ट नै नेपालको पहिलो स्टिल उद्योग हो । 

दुगडका अनुसार विराटनगर जुट मिलमा सो बेलामा पनि टेलिफोन रहेको थियो । अहिलेको जैन भवन रहेको ठाउँमा विराटनगर जुट मिलको आफ्नै गोला रहेको थियो । त्यहाँ पनि एक लाइन टेलिफोन थियो । भारतको कलकत्तामा जुट, तोरी र धानको के भाउ छ भन्ने जानकारी पहिले जुट मिलको टेलिफोनमा आउँथ्यो । त्यसपछि गोलाबाट फोन गरेर बुझेपछि मात्र विराटनगरमा सनपाट, तोरी र धानको किनबेच हुन्थ्यो । 

नून, तेल, औषधि, कपडा लगायत सामग्रीहरू गोरुगाडामा भारतबाट किनेर ल्याउने गरिएको थियो । त्यतिबेला भन्सारमा ‘बासिन्दा’ र ‘चौसल्या’ भनेर दुईखाले भन्सार रेट रहेका थिए । पूर्जी पनि अलग अलग खाले काटिन्थे । नेपालमा स्थायी बसोवास भएकाहरू बासिन्दामा पर्थे र उनीहरूले बोर्डर पारिबाट ल्याएको सामानको आधामात्र भन्सार तिर्नुपर्थ्यो । उता चौसल्याहरूले भने पूरै भन्सार तिरेर मात्र सामान ल्याउन पाउँथे । अहिले अतिथि सदन भएको स्थानमा पहिले तेजरथ कोठी थियो ।

१९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना भएपछि सो तेजरथ कोठीको बन्द भएको थियो । विसं १९९० भन्दा अगाडि विराटनगरमा काठका घरहरू मात्र थिए । त्यसपछि मात्र छिटपुट रूपमा पक्की घरहरू निर्माण हुन थालेका हुन् ।

प्रतिक्रिया [2]
User Image

राजवीर सिंह (Boston, MA, USA)

[Feb 14, 2020 04:09am]

धेरैसमय पछी विराटनगरको बारेमा केहि पढ्न पाइयो..असाध्यै खुशी लाग्यो र पढ्दा पढ्दै मानसपटल मा पुरानो यादहरू ताजा भएर आयो..विराटनगर मेरो जन्मभूमी..मेरो बाल्यकाल बितेको स्थानहरू..मैले अध्य्यन गरेको स्कुल कलेज । म बोस्टन आको १० वर्ष हुन लाग्यो र आज पनि म विराटनगरलाई हरपल मिस्स गरिराखेको हुन्छु । विराटनगर जहाँ मेरो जीवन को पहिलो र अन्तिम प्रेम भयो..अहिले पनि मलाई त्यो दिन याद आउँछ जब म बरगाछी उनको घरको वरपर चक्कर काटिराखेको हुन्थे मुटुभरी साँचो प्रेम बोकेर (वो दिन भी क्या दिन थे !) तर मैले उनलाई पाउन सकिन..म आज जुन उँच्चाइमा छु..त्यहाँ पुग्न मेरो विराटनगर र मेरो प्रेम(अधुरो/हमारी अधूरी कहानी)को धेरै नै ठुलो योगदन छ । भन्छन् .."True Love never has a happy ending because there is no ending to True Love." विराटनगरको बारेमा यस्तै केहि फेरी पढ्न पाइयोस ..!!


User Image

Abhay Jang Thapa (Biratnagar - 6)

[Feb 14, 2020 03:46am]

"हाल प्रदेश १ को अस्थायी राजधानी समेत रहेको यस शहरको..." is it correct ? https://en.wikipedia.org/wiki/Biratnagar


प्रतिक्रिया दिनुहोस्