ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै “विराट एक्स्पो २०७६”

२०७६ फागुन, २  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । विराटनगरमा शुक्रवारदेखि विराट एक्स्पो २०२० शुरू हुँदै छ । उद्योग संगठन मोरङको आयोजना तथा नोबेल मेडिकल कलेज तथा टिचिङ हस्पिटलको प्रमुख प्रायोजक रहेको एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजकले बुधवार नै दिइसकेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाबाट एक्स्पोको उद्घाटन हुने कार्यक्रम छ । 

१० गतेसम्म चल्ने उक्त मेलामा आर्थिक तथा व्यावसायिक चहलपहल बढ्नेछ । ‘आर्थिक विकासको मूल आधार, उद्योग, पर्यटन, कृषि र व्यापार’ मूल नाराका साथ सञ्चालन हुने एक्स्पोले स्थानीय अर्थतन्त्र चलायमान बनाउने अपेक्षा आयोजकको छ । दुलालका अनुसार यसपालिको एक्स्पोमा १ अर्बको कारोबार हुने अनुमान गरिएको छ । ‘एक्स्पोको कारण १ अर्ब रुपैयाँ बजारमा आउँदा त्यसले अहिलेको बजारलाई एकपटक पक्कै चलायमान बनाउनेछ,’ उनले भने । 

प्रदेश १ का प्रमुख औद्योगिक घरानाहरूको सहभागिता रहने यस एक्सपोमा जुम्लाको २ सय रुपैयाँ किलोको मार्सी चामलदेखि ४ करोड रुपैयाँ पर्ने प्राडो गाडीसम्म राखिएका छन् । 

एक्स्पोका संयोजक भोलेश्वर दुलालका अनुसार एक्स्पोले उत्पादक र उपभोक्तालाई जोड्ने काम गर्नेछ । उनका अनुसार प्रदेश १ का स्थानिय उत्पादनसँगै अन्य प्रदेशका रैथाने उत्पादनहरू एक्स्पोमा राखिएका छन् । जुम्लाको स्याउ, मार्सी चामल, पाँउ, तेह्रथुमको ढाका, उदयपुरको खरायो, बरमझियाको पेडा, सुपारीको टपरी, इलामको ललीपप, तेह्रथुम र संखुवासभाको अल्लो, किवीलगायत कृषि उत्पादन एक्स्पोमा राखिएको दुलालले जानकारी दिए । 

एक्स्पोमा औद्योगिक उत्पादनसहित कृषि, जडीबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक ऊर्जा, अटोमोबाइल्स तथा पार्ट्स, हस्तकलाका सामग्री, विद्युतीय, घरायसी सामग्री, गार्मेन्ट, खाद्य स्वास्थ्य, शिक्षा एवं बैंक तथा वित्तीय क्षेत्रका कुल ३४० ओटा स्टल छन् ।

उद्योग संगठनले २०४९ सालदेखि एक्स्पो गर्दै आएको छ भने मोरङ व्यापार संघले पनि विभिन्न समयमा व्यापार मेलाको आयोजना गर्दै आएको छ । यसअघिका एक्स्पोहरूमा बा“सको टेन्ट लगाएर स्टल र प्याभिलियन बनाइन्थ्यो । तर यो पटक अन्तरराष्ट्रिय स्तरको डोमको प्रयोग गरेर स्टल र प्याभिलियन निर्माण गरिएको छ ।

नेपालमै पहिलो पटक डोममा ३४० ओटा स्टल बनाएर एक्स्पो आयोजना गरेको आयोजकहरूको दाबी छ । आयोजकले फरक फरक उत्पादनको छुट्टाछुट्टै प्याभिलियन बनाएका छन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेका अनुसार स्थानीयदेखि अन्तरराष्ट्रिय स्तरसम्म व्यापारलाई जोड्ने र प्रदेश–१ मा लगानीको वातावरण सृजना गर्न एक्स्पोको महत्त्वपूर्ण भूमिका हुनेछ । ‘एक्स्पोले बजारको पहिचान, पर्यटन प्रवद्र्धन, प्रविधि पहिचान, उत्पादकबीच स्वस्थ प्रतिस्पर्धा र लगानीमैत्री वातावरण निर्माण गर्नेछ,’ उनले भने ।

एक्स्पोको अवसरमा हेलिकोप्टर चढेर १५ मिनेट विराटनगर शहरको हवाई अवलोकन गर्न सकिनेछ । यसको शुल्क ७ हजार ५०० रुपैयाँ रहेको छ । त्यस्तै, पाथीभरा दर्शन, हात्ती सफारीको प्याकेज पनि ल्याइएको छ । 

मनोरञ्जनका लागि बाल उद्यान, खेल सामग्री तथा खाजाका लागि विभिन्न स्टलहरू राखिएका छन् । त्यसबाहेक नेपालका चर्चित कलाकार तथा गायकगायिकाले हरेक साँझ सांगीतिक प्रस्तुति दिनेछन् । सांस्कृतिक कार्यक्रम संयोजक सुरेन्द्र गोल्छाले युवा बालबालिका सबैलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले मेला अवधिभर हरेक दिन सांगीतिक कार्यक्रम राखिएको बताए ।

एक्स्पोमा भारत, बंगलादेश, श्रीलंका पाकिस्तान र भुटानका औद्योगिक उत्पादन रहनेछन् । आयोजकले यो एक्स्पो ३ लाख दर्शकले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा राखेका छन् ।

एक्स्पो अवलोकनका लागि विद्यार्थीलाई २५ रुपैयाँको प्रवेश शुल्क रहेको छ भने सर्वसाधारणलाई ५० रुपैयाँ शुल्क तोकिएको छ । यो पटक १५ स्थानबाट टिकट वितरण हुने भएकाले प्रवेशका लागि सर्वसाधारणलाई खासै समस्या नहुने आयोजकले दाबी गरेका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्