ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

खुम्चने भयो प्रदेशहरूको अर्थतन्त्र

२०७७ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट आर्थिक गतिविधिमा आएको कमीका कारण मुलुकको आर्थिक वृद्धिदर प्रभावित भएसँगै प्रदेशहरूको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर पनि कम हुने भएको छ ।

केन्द्रीय तथ्यांक विभागले मंगलवार सार्वजनिक गरेको प्रदेशस्तरीय आर्थिक वृद्धिको प्रक्षेपणले चालू आर्थिक वर्ष २०७६/७७ मा सातै प्रदेशको आर्थिक बृद्धि अघिल्लो वर्षको तुलनामा खुम्चने देखाएको हो । विभागका अनुसार चालू आवमा सबैभन्दा कम आर्थिक वृद्धि दर वाग्मती प्रदेशको १ दशमलव २३ प्रतिशतले हुनेछ भने सुदूरपश्चिमको आर्थिक वृद्धिदर सबैभन्दा बढी ४ दशमलव शून्य ८ प्रतिशत रहनेछ ।

वाग्मतीबाहेक सबै प्रदेशको जीडीमा कृषिको योगदान सबैभन्दा बढी रहेको छ भने सबै प्रदेशमा खानी क्षेत्रका योगदान कम रहेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा वाग्मती प्रदेशको अंश ३५ दशमलव ८४ प्रतिशत रहेको छ । वाग्मती प्रदेशमा कृषिक्षेत्रको योगदान कम छ भने थोक तथा खुद्रा व्यापारको अंश बढी छ । त्यसैले लकडाउनबाट कारोबार बन्द हुँदा आर्थिक वृद्धिदर सबैभन्दा कम हुने देखिएको हो । ‘राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ३७ खर्ब ६७ अर्ब रुपैयाँ अनुमान गरिएकामा सबैभन्दा बढी अंश ३५ दशमलव ८४ प्रतिशत योगदान वाग्मती प्रदेशको हुनेछ,’ प्रतिवेदनमा भनिएको छ ।

गत आवमा यो अंश ३६ दशमलव ३५ प्रतिशत रहेको थियो । वाग्मतीको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा १३ खर्ब ५० अर्ब रुपैयाँ हुने अनुमान गरिएको छ ।

यो वर्ष प्रदेश नम्बर १ को कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा ५ खर्ब ९६ अर्ब रुपैयाँ हुने अनुमान विभागले गरेको छ । गतवर्ष राष्ट्रिय तहमा १ नम्बर प्रदेशले १५ दशमलव ७३ प्रतिशत अंश ओगटेकोमा यो वर्ष १५ दशमलव ८२ प्रतिशत अंश रहने अनुमान छ । १ नम्बर प्रदेशमा सबैभन्दा बढी योगदान कृषिक्षेत्रको ३७ दशमलव १४ प्रतिशत रहेको छ । सबैभन्दा कम योगदान खानीक्षेत्रको शून्य दशमलव ४७ प्रतिशत रहेको विभागले जानकारी दिएको छ ।

तथ्यांक विभागका अनुसार प्रदेश–२ को जीडीपीमा ४० प्रतिशत अंश कृषिक्षेत्रको रहेको छ भने सबैभन्दा कम खानी तथा उत्खनन क्षेत्रको शून्य दशमलव ५७ प्रतिशत रहेको छ । गण्डकी प्रदेशको जीडीपीको उपभोक्ता मूल्यमा हेर्दा ३ खर्ब ३५ अर्ब रुपैयाँ यो वर्ष हुने अनुमान विभागको छ । अघिल्लो वर्ष ३ खर्ब ८ अर्ब रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्रमा ८ दशमलव ९३ प्रतिशत योगदान गरेको गण्डकी प्रदेशले यो वर्ष ८ दशमलव ९० प्रतिशत योगदान गर्ने छ । जीडीपीमा गण्डकी प्रदेशमा सबैभन्दा बढी योगदान कृषिक्षेत्रको २९ दशमलव ९ प्रतिशत छ भने सबभन्दा कम खानीक्षेत्रको शून्य दशमलव ७५ प्रतिशत रहेको विभागले जानकारी दिएको छ ।

प्रदेश नम्बर ५ को जीडीपीको उत्पादन मूल्यमा ५ खर्ब ३४ अर्ब रुपैयाँ रहेको विभागले जनाएको छ । गत आर्थिक वर्षमा राष्ट्रिय अर्थतन्त्रमा १४ दशमलव १८ प्रतिशत अंश ओगटेको यो प्रदेशले यो वर्ष १४ दशमलव १८ प्रतिशत योगदान ओगट्ने विभागले जानकारी दिएको छ । ‘प्रदेशको जीडीपीमा कृषिक्षेत्रको योगदान ३३ दशमलव ८६ प्रतिशत छ भने सबैभन्दा कम शून्य दशमलव ६२ प्रतिशत खानीक्षेत्रको रहेको छ,’ विभागले भनेको छ ।

कर्णाली प्रदेशको जीडीपी यस आवमा उपभोक्ता मूल्यमा १ खर्ब ६१ अर्ब रुपैयाँ रहनेछ । अघिल्लो वर्ष १ खर्ब ४४ अर्ब रुपैयाँ थियो । गत आव राष्ट्रिय अर्थतन्त्रमा ४ दशमलव १६ प्रतिशत योगदान रहेको कर्णाली प्रदेशको योगदान चालू आव ४ दशमलव २७ प्रतिशतमा रहनेछ । कर्णालीमा सबैभन्दा बढी योगदान कृषिक्षेत्रको ३४ दशमलव १९ प्रतिशत छ भने खानीक्षेत्रको योगदान सबैभन्दा कम शून्य दशमलव ५० प्रतिशत रहेको विभागले बताएको छ ।

कोरोनाको कारण चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव २८ प्रतिशत मात्र हुने केही दिनअघि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको थियो । ‘उक्त प्रक्षेपणलाई आधार मान्दै कुन प्रदेशको अंश जीडीपीमा कति भन्नेबारे प्रदेशगत अंश बाँडफाँट गरिएको हो,’ तथ्यांक विभागका उपमहानिर्देशक हेमराज जोशीले अभियानलाई बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्