ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना : चार दातृ निकाय लगानी गर्न सहमत

२०७७ जेठ, ४  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । लामो समयदेखि अन्योलमा रहेको ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनामा एशियाली विकास बैंक (एडीबी), यूरोपेली लगानी बैंक (ईआईबी), एशियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) र कोरियाली निर्यात–आयात (एक्जिम) बैंक लगानी गर्न प्रारम्भिक रूपमा सहमत भएका छन् । उनीहरूले लगानी गर्न प्रारम्भिक सहमति जनाउँदै लगानीको ठोस ढाँचा प्रस्ताव पेश गर्न अर्थ मन्त्रालयलाई आग्रह गरिसकेका छन् ।

शुक्रवार अर्थ मन्त्रालयको अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत् प्राधिकरणले भिडियो कन्फरेन्समार्फत उक्त आयोजनामा लगानी गर्न इच्छुक एडीबी, ईआईबी, एआईआईबी र कोरियाली एक्जिम बैंकसँग छलफल गरेका थिए । उक्त छलफलमा यी दाता दूधकोशी जलविद्युत् आयोजनामा लगानी गर्न प्रारम्भिक सहमत भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार अर्थ मन्त्रालयमार्फत नै लगानी ढाँचा यी लगानीकर्तालाई पठाइनेछ ।

यस आयोजनामा एडीबीले ५५ करोड अमेरिकी डलर, ईआईबीले ५० करोड डलर, एआईआईबीले ३० करोड डलरसम्म लगानी गर्ने प्रारम्भिक सहमति देखाएका छन् । त्यस्तै, एडीबीको निजीक्षेत्रमा लगानी गर्ने संयन्त्रमार्पmत थप २० करोडदेखि ३० करोड डलरसम्म लगानी हुनसक्ने आशा देखिएको घिसिङले बताए । उनले भने, ‘कोरियाली एक्जिम बैंकले भने हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनमध्ये कुनै एकमा सम्पूर्ण लगानी गर्न सकिने बताएको छ ।’

शुक्रवार भएको छलफलमा अर्थका सहसचिव श्रीकृष्ण नेपालले दूधकोशी जलविद्युत् आयोजना तुलनात्मक रूपमा सस्तो रहेको बताउँदै दाता र बैंकहरूलाई यस आयोजनामा लगानी गर्न आग्रह गरेका थिए । जलाशययुक्त आयोजनाको निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै लगानी पनि सुरक्षित हुने उनको भनाइ थियो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आयोजनाको हालसम्मको अवस्था, लागत, लगानी ढाँचा, जलाशययुक्त आयोजनाको महŒवलगायत विषयमा बैंकहरूलाई जानकारी गराएका थिए ।

आयोजनामा १ अर्ब ५३ करोड डलर अर्थात् करीब १ खर्ब ६० अर्ब नेपाली रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । आयोजनाको निर्माण अवधिको ब्याज, करलगायतमा हुने खर्च गरेर कुल २ अर्ब डलर लगानी हुनसक्ने अनुमान गरिएको छ । यस आयोजनाको सहवित्तीयकरणमार्पmत लगानी गर्ने बैंकको नेतृत्व एडीबीले गर्ने बताइएको छ ।

एडीबीकै अनुदानमा आयोजनाको विस्तृत डिजाइन पनि अन्तिम चरणमा पुगेका प्राधिकरणले बताएको छ ।

यससँगै झन्डै ३५ वर्षअघि चर्चामा आएको आयोजनाको निर्माण अगाडि बढ्ने अपेक्षा गरिएको छ । ओखलढुंगामा निर्माण हुने भनिएको यस आयोजनामा २२० मीटर अग्लो र ६३० मीटर लामो बाँध बाँधेर जलाशय क्षेत्र पनि निर्माण गरिनेछ । सो जलाशय क्षेत्र दूधकोशी नदीमा १७ किलोमीटर, ठोट्ने खोलामा ५ दशमलव ५ किलोमीटर र रावा खोलामा ८ किलोमीटरसम्म पैmलिने बताइएको छ । त्यसबाट १ हजार २०५ मीटर लामो २ ओटा पक्की डाइभर्सन सुरुङबाट ६०० मेवा विद्युत् उत्पादन गरिने बताइएको छ । यसका अतिरिक्त ड्यामदेखि तलपट्टिको भागबाट ३५ मेवा विद्युत् उत्पादन गर्ने बताइएको छ ।

सरकारले शुक्रवार नै आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममार्फत दूधकोशीलाई प्राथमिकतामा राख्दै निर्माण थाल्ने घोषणा गरेको छ । गत पुसमा आयोजनास्थलको निरीक्षणमा गएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले पनि दूधकोशीलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाउने बताएका थिए । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पहिचान गरेका १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये दूधकोशीलाई पहिलो प्राथमिकतामा राखेको छ ।

‘दैनिक एवम् मौसमी विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्न र मुलुकभित्र खपत हुन नसकेको विद्युत् छिमेकी मुलुकमा निर्यातका लागि समेत जलाशययुक्त आयोजना तत्काल निर्माण अगाडि बढाउनुपर्छ,’ घिसिङले भने, ‘दूधकोशीको विस्तृत अध्ययन अन्तिम चरणमा पुगेको छ, अध्ययन भएका जलाशययुक्त आयोजनामध्ये लागत र ऊर्जा उत्पादनका आधारमा दूधकोशी तुलनात्मक रूपमा सस्तो र आकर्षक भएकाले यो आयोजना आर्थिक रूपमा लगानीयोग्य भएको बैंकहरूलाई जानकारी गराएका छौं ।’ आयोजनाबाट वार्षिक ३ अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुनेछ । यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र वर्षामा २ अर्ब ८ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुने बताइएको छ । उत्पादित बिजुली प्रस्तावित सुनकोशी–ढल्केवर ४ सय केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने प्राधिकरणको भनाइ छ ।

आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको ३ हजार ८ सय ७६ हेक्टर जमीन प्रभावित हुनेछ । जलाशययुक्त आयोजना भए तापनि विस्थापित हुने घरधुरी तुलनात्मक रूपमा कम रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्