ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

मृतक युवकमा कोरोना संक्रमण पूष्टिसँगै नरैनापुर बन्द

२०७७ जेठ, ४  
प्रदेश ०५
NA

जेठ ४, बाँके । क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पूष्टि भएसँगै बाँकेको नरैनापुरलाई आइतवार चारैतिरबाट बन्द गरिएको छ ।  

सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा संक्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीले आवतजावतमा रोक लगाएर नरैनापुर बन्द गराएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए । 

उनका अनुसार कोरोना संक्रमितको शव व्यवस्थापन  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा गरिने तयारी भएको छ । 

उक्त कार्यविधिमा नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मीसहित मिलेर शवको अन्त्येष्टि गर्ने उल्लेख  छ । ती  युवकलाई भारतको मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सीधै क्वारेन्टाइनमा राखिएको थियो । 

नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका वडा नं ५ निवासी युवकले आइतवार बिहान ४ बजेतिर दुई पटक बान्ता गरेलगत्तै अचानक मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनका अनुसार ती युवकसहित भारतबाट नेपाल प्रवेश गरेको पीसीआर परीक्षण गर्दा यसअघि नरैनापुर ८ मा कोरोना संक्रमण पूष्टि भएको थियो । कोरोना संक्रमित आठमध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टाइनका थिए । 

संक्रमितको सम्पर्कमा रहेका आधारमा नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिवार २६३ को स्वाब संकलन गरिएको थियो । संकलित स्वाबको पीसीआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएको थियो ।  

भेरी अस्पतालको आरटिपीसीआर यन्त्रमा गरिएको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।  

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले मृत्युको कारण  पिसिआर रिपोर्ट पोजेटिभ भएकाले सोहीअनुसार अन्त्येष्टि गरिने बताए । पीसीआर रिपोर्ट नआउँदासम्म आइतवार दिनभर शव क्वारिन्टनमै राखिएको थियो । 

क्वारेन्टाइनमा मृत्यु भएपछि नरैनापुरका बासिन्दा थप त्रसित बनेका छन् । उक्त क्वारेन्टिनमा मृतकसँगै अन्य ३८ जनालाई राखिएको थियो ।  

बाँकेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का एक, वडा नं. ८ का २४  र नरैनापुरका ८  गरी ३३ कोरोना संक्रमित छन् । तीमध्ये २५ को बाँकेको खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा र आठ जनाको दाङको अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्