ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

१० महीनामा कर्णाली प्रदेशको बजेट खर्च १५ प्रतिशत मात्र

२०७७ जेठ, ४  
कर्णाली प्रदेश
Image Not Found
author avatar विनोद लम्साल

जेठ ४, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको दश महीनामा १५ प्रतिशत बजेट खर्च गरेको छ । गतवर्ष ३५ प्रतिशतको हाराहारीमा बजेट खर्चिएको कर्णाली प्रदेश सरकारको चालू आर्थिक वर्षमा पनि कम खर्च हुने देखिएको छ । 

सरकारले रू. ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये रू. पाँच अर्ब २८ करोड ६१ लाख ८९ हजार ४७९ खर्च गरेको छ । 

पूँजीगततर्फ रू. दुई अर्ब २५ करोड ५४ लाख ८ हजार ८३३ र चालूतर्फ रू. तीन अर्ब ३० करोड ७८ लाख ६ ४६ खर्च भएको छ । 

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म पूूँजीगततर्फ १० दशमलव ५९ र चालूतर्फ २३ दशमलव २१ प्रतिशत बजेट खर्च भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले ४१ दशमलव ६५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले २९ दशमलव १८ प्रतिशत, भौतिक पूूर्वाधार विकास मन्त्रालयले १४ दशमलव ५० प्रतिशत र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १५ प्रतिशत बजेट खर्च गरेका छन् ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १७ दशमलव १७ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको शून्य दशमलव ८१ प्रतिशत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ३ दशमलव १५ प्रतिशत बजेट खर्च भएको छ । 

यो वर्ष कोरोना प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुनुपर्दा बजेट खर्च बढाउन नसकिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।

पहिलो चौमासमा १ दशमलव ६१ प्रतिशत र दोस्रो चौमासमा १० दशमलव ८ प्रतिशत बजेट खर्च भएको थियो । अन्तिम चौमाससम्म खर्च ६० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । 

चालू आव सकिनै लाग्दासम्म न्यून बजेट मात्रै खर्च गरेको सरकारले बाँकी दुई महीनामा लक्ष्यअनुसार खर्च गर्ने सम्भावना न्यून छ । कर्णालीमा लकडाउनका कारण विगत दुई महीनादेखि विकास निर्माणका काम ठप्प छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्