ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जेठ २० गतेसम्म लकडाउन

मोडालिटीबारे उच्चस्तरीय समितिले पछि निर्णय गर्ने

२०७७ जेठ, ४  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण गर्न जारी लकडाउनलाई सरकारले थप १५ दिनका लागि निरन्तरता दिएको छ । आइतवार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्म लकडाउनको समयावधि थप गर्ने निर्णय गरेको हो । आइतवारै बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोनाको जोखीम कम गर्न लकडाउन नै उपयुक्त विकल्प भएको भन्दै थप कडाइका साथ लकडाउनको समय थप्न सरकारलाई सिफारिस गरेको थियो । सरकारले पछिल्लोपटक थप गरेको समय जेठ ५ गते सोमवार सकिँदै छ ।

सरकारले पहिलोपटक चैत ११ देखि लकडाउन लागू गरेको थियो जतिबेला नेपालमा संक्रमितको संख्या दुई जना मात्र थियो । अहिले कोरोना भाइरस संक्रमितको संख्या २९५ पुगेको छ भने आइतवारसम्म दुई जनाको ज्यान समेत गएको छ । कोरोना भाइरसको संक्रमण र जोखिम झन् बढेको भन्दै सरकारले पटक पटक लकडाउन थप  गर्दै आएको छ ।

आइतवारको बैठकमा विभिन्न विषयमा छलफल भए पनि समय थप गर्ने विषयमा मात्र निर्णय भएको अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । ‘कोरोना उच्चस्तरीय समन्वय समितिको आगामी बैठकले अन्य विषयमा निर्णय गर्नेछ,’ उनले बताए ।

आइतवारको बैठकले क्वारेन्टीनमा रहेका व्यक्तिहरूलाई श्रमस“ग कसरी जोड्ने भनेर छलफल गरेको र यसबारेमा पनि उच्चस्तरीय समितिबाट निर्णय हुने सरकारका प्रवक्ता समेत रहेका खतिवडाले जानकारी दिए ।

बैठकमा यसअघि गरिएको निर्णयअनुसार स्वास्थ्य सुरक्षाको ख्याल गर्दै सरकारले तोकेका विभिन्न उद्योग, विकास निर्माणका काम र शहरी क्षेत्रमा हुने साना खालका विकास निर्माणका काम सञ्चालनलाई निरन्तरता दिने निर्णय भएको  खतिवडाले बताए ।  

यसअघि वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले खाद्यान्न र अन्य अत्यावश्यक वस्तुको उत्पादन गर्दै आपूर्ति सहज बनाउन वैशाख २६ गतेबाट विभिन्न ४२ प्रकारका उद्योग सञ्चालल गर्न दिने निर्णय गरेको थियो ।  विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग तथा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगसमेत सञ्चालनमा ल्याउने निर्णय पनि गरेको थियो । सीमामा रहेका नेपाली नागरिकहरूका साथै क्वारेन्टीनको स्तर र क्षमता तथा सबै नागरिकको रोग प्रतिरोधात्मक क्षमता बढाउने विषयमा पनि छलफल भएको खतिवडाको भनाइ छ  ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्