ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा फसेका प्रदेश २ का नागरिकको उद्धार गर्ने तयारी

२०७७ जेठ, ५  
प्रदेश ०२
NA
author avatar अभियान संवाददाता

जेठ ५, जनकपरधाम । कोरोना भाइरस (कोरोना–१९) महामारीपछिको लकडाउनका कारण भारतमा फसेका प्रदेश २ का नागरिकलाई नेपाल ल्याउने तयारी शुरू भएको छ । नाकाबाट लुकिछिपी आउने क्रम बढ्न थालेपछि सीमामा फसेकालाई व्यवस्थित रूपमै ल्याउने तयारी गरिएको हो ।

नाकामा फसेका तथा भारतबाट आउन चाहनेको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेशका जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ । भारतबाट आउन खोज्ने नेपालीहरू आफ्नो जिल्लाको नाकाबाट मात्र प्रवेश गर्न पाउने बताइएको छ ।

धनुषामा जटही नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवं क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक शरदकुमार पोखरेलले सीमाक्षेत्रमा अलपत्र परेका जिल्लावासीलाई जटही नाकाबाट प्रवेशको व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए ।

‘नाकामा फसेका धनुषावासीलाई सम्बन्धित पालिकामा पठाउने गरी जटही नाकाबाट ल्याउने निर्णय भएको छ,’ उनले भने, ‘नेपाली सीमामा क्वारेन्टाइन स्टेशन हुनेछ । पारिबाट आएकाहरू क्वारेन्टाइन स्टेशनमा बस्नेछन् । त्यहाँबाट सम्बन्धित पालिकाले आ–आफ्ना नागरिकलाई गाडीमा लैजानेछन् ।’

नाकामा हेल्थ डेस्कसमेत स्थापना गरी सम्बन्धित स्थानीय तहको क्वारेन्टाइन पठाइने पोखरेलले बताए । भारतमा रहेका तथा नाकामा फसेकाको तथ्यांक संकलन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । सुरक्षाकर्मीहरू जटहीमा क्वारेन्टाइन स्टेशन निर्माणमा जुटिसकेको भन्दै उनले भारतमा फसेकाहरूलाई छिट्टै नेपाल ल्याउन शुरू गरिने बताए ।

‘बिहान १० बजे र साँझ ६ बजे नाकाबाट दिनको दुईपटक गाडी चलाइनेछ, गाडीको व्यवस्था हामी गर्छौैं, पैसा स्थानीय तहले तिर्छ,’ पोखरेलले भने, ‘स्थानीय तहहरूलाई क्वारेन्टाइनको क्षमता बढाउन हामीले भनिसकेका छौं ।’ धनुषाका विभिन्न नाकामा अहिले २ देखि ३ सय नेपाली अलपत्र अवस्थामा रहेको उनले वताए  ।

भारतको क्वारेन्टाइनमा बसेर नेपाल आउन फिर्ता आउने करीब ५ हजार नेपाली प्रदेश २ का विभिन्न नाकामा अलपत्र अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले वताएको छ ।

यसैगरी, भारतको क्वारेन्टाइनमा नबसेका तर स्वदेश फिर्ता आउन चाहने प्रदेश २ को नागरिकको संख्या १० देखि १२ हजार रहेको मन्त्रालय स्रोतको दाबी छ । मन्त्रालयका अनुसार अध्ययन, रोजगार, उपचार लगायत लागि भारतमा रहेका प्रदेश २ का नागरिकको संख्या एकदेखि डेढ लाखसम्म छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्