ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जापानी अर्थतन्त्र मन्दीमा 

२०७७ जेठ, ५  
अन्तरराष्ट्रिय
Image Not Found

जेठ ५, टोकियो (जापान) । जापानी अर्थतन्त्र मन्दीमा गएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न आपतकाल लागू गरिएसँगै आर्थिक गतिविधिहरु प्रभावित बनेपछि अर्थतन्त्र मन्दीमा गएको हो । 

सन् २०२० को पहिलो त्रैमासमा अर्थतन्त्र वार्षिक ३ दशमलव ४ प्रतिशतले खुम्चिएको छ । गत वर्षको अन्तिम त्रैमासमा पनि अर्थतन्त्र ६ दशमलव ४ प्रतिशतले खुम्चिएको थियो । 

योसँगै अर्थतन्त्र २०१५ यताको पहिलो पटक मन्दीमा गएको छ । अक्टोबरमा गरिएको विक्री कर वृद्धिका कारण उपभोक्ता खर्च घटेकै बेलामा कोरोना भाइरसको महामारीले आगोमा घ्यूको काम गरेको छ । 

महामारीको मारबाट आम जनता, व्यवसाय र अर्थतन्त्रलाई जोगाउन सरकारले १० खर्ब डलरको स्टिमुलस प्याकेजको घोषणा गरेको छ । केन्द्रीय बैंक ‘बैंक अफ जापान’ ले अप्रिलमा लगातार दोस्रो महीना पनि स्टिमुलसका उपायहरु विस्तार गरेको छ । 

महामारीको झट्का कम गर्न यसै महिना दोस्रो पूरक बजेट ल्याउने वाचा प्रधानमन्त्री सिन्जो आबेले गरेका छन् । संक्रमण घट्दै गएपछि सरकारले गत बिहीवार ४७ मध्ये ३९ प्रिफेक्चरमा आपतकाल हटाएको छ । 

तर चालू त्रैमासको आर्थिक परिदृश्य पनि धूमिल नै छ । अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार चालू त्रैमासमा अर्थतन्त्र २२ प्रतिशतले खुम्चिने छ । यो संकुचन अहिलेसम्मकै ठूलो हुने बताइएको छ । कोरोना भाइरसको महामारीको मारमा अहिले समग्र विश्व अर्थतन्त्र छ । 

महामारीका कारण विश्व अर्थतन्त्रले समेत यस वर्ष ८८ खर्ब डलरसम्म गुमाउने अनुमान भर्खरै मात्र बहुपक्षीय कर्जादाता निकाय एशियाली विकास बैंकले गरेको थियो । 

जर्मन अर्थतन्त्र पनि मन्दीमा गएको गत हप्ता सार्वजनिक भएको तथ्यांकले देखाएको छ । महामारी नियन्त्रण गर्न लागू गरिएको कठोर बन्दाबन्दीका कारण अन्य प्रमुख अर्थतन्त्रसमेत प्रभावित भएका छन् । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्