ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कर्णाली प्रदेशमा खाद्य संकट न्यूनीकरणका लागि सहकारी अभियान 

२०७७ जेठ, ५  
कर्णाली प्रदेश
Image Not Found
author avatar विनोद लम्साल

जेठ ५, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले खाद्य संकट न्यूनीकरणका लागि सहकारी अभियान सञ्चालन गर्ने भएको छ ।  

खाद्य संकट न्यूनीकरण गर्न ‘उत्पादन वृद्धिका लागि सहकारी अभियान’ सञ्चालन गर्ने  भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीको संयोजनमा सहकारी क्षेत्रमा आवद्ध कर्णाली प्रदेशका प्रमुख तथा राष्ट्रिय प्रतिनिधिसँगको भर्चुअल बैठकबाट यो निर्णय गरिएको हो  । 

‘बन्दाबन्दीपश्चात् कर्णालीमा खाद्य संकट हुन सक्छ, मन्त्री केसीले भनिन् ‘यही कुरालाई महत्व दिएर हामीले बैठकमा सातओटा निर्णय गरेका छौँ । यसबाट यहाँको खाद्य सुरक्षामा टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ ।’

यसका लागि कर्णाली प्रदेशका सबै सहकारीलाई सम्भावित खाद्य संकट न्यूनीकरणका लागि उत्पादन अभियानमा आवद्ध गर्ने, कृषि क्षेत्रमा लगानी गर्न चाहने शेयर सदस्य तथा समूहलाई सहुलियत ऋण उपलब्ध गराउने, लकडाउनको पालना गर्दै सहकारीको अत्यावश्यक सेवा प्रवाह गर्ने निर्णय गरिएको केसीले जानकारी दिइन् ।  

यस्तै, बाँझो जमीन उपयोग गरी खेती गर्न चाहने समूह तथा शेयर सदस्यलाई लिजमा सहुलियत, मल, बीउ, बेर्ना, भुरा, चल्ला उपलब्ध गराउन सरकारसँग सहजीकरण एवम् गर्न सक्ने, सहकारीले आफैँले उपलब्ध गराउने तथा बजारीकरणमा सहजीकरण गर्ने, उनले बताइन् । 

साथै, आगामी एक हप्ताभित्र प्रदेश सरकारको नीति तथा कार्यक्रममा सुझाव दिने, प्रदेशभरिका सहकारीले कोरोना प्रतिकार्यमा खेलेको भूमिकाको प्रतिवेदन तयार गर्ने निर्णय पनि भएको मन्त्री केसीले बताइन् । 

मन्त्री केसीका अनुसार कोरोनाबाट बच्नका लागि सहकारीका शेयर सदस्यमाझ सचेतनाका कार्यक्रम सञ्चालन गर्ने र सहकारीको दैनिक कार्य सञ्चालन तथा सेवा प्रवाह गर्नका लागि लकडाउनको अवधिभर आवश्यक पर्ने सवारी तथा कार्य सञ्चालन अनुमतिपत्रका लागि कृषि मन्त्रालयले सहजीकरण गर्ने निर्णयसमेत भएको छ ।

बैठकका सहभागीले मुख्यगरी कर्णाली प्रदेशको उत्पादनलाई रोजगारीसँग जोड्ने, कृषिमा लगानी वृद्धि गर्ने, स्वदेश तथा विदेशबाट गाउँ फर्केका युवालाई स्वरोजगारका कार्यक्रममा संलग्न गराउने सुझाव दिएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्