ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतमा फसेका नागरिकको उद्धार गर्ने तयारी

२०७७ जेठ, ६  
प्रदेश ०२
NA
author avatar अभियान संवाददाता

जनकपुरधाम । लकडाउनका कारण भारतमा फसेका प्रदेश २ का नागरिकलाई नेपाल ल्याउने तयारी शुरू भएको छ । नाकाबाट लुकिछिपी आउने क्रम बढ्न थालेपछि सीमामा फसेकालाई व्यवस्थित रूपमै ल्याउने तयारी गरिएको हो । नाकामा फसेका तथा भारतबाट आउन चाहनेको व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेशका जिल्ला प्रशासन कार्यालयलाई दिइएको छ ।

धनुषामा जटही नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाउने व्यवस्था मिलाइएको छ । धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवं क्वारेन्टाइन व्यवस्थापन समिति संयोजक शरदकुमार पोखरेलले सीमाक्षेत्रमा अलपत्र परेका जिल्लावासीलाई जटही नाकाबाट प्रवेशको व्यवस्था मिलाउने निर्णय भएको जानकारी दिए । ‘नाकामा फसेका धनुषावासीलाई सम्बन्धित पालिकामा पठाउने गरी जटही नाकाबाट ल्याउने निर्णय भएको छ,’ उनले भने, ‘नेपाली सीमामा क्वारेन्टाइन स्टेशन हुनेछ ।

पारिबाट आएकाहरू क्वारेन्टाइन स्टेशनमा बस्नेछन् । त्यहाँबाट सम्बन्धित पालिकाले आ–आफ्ना नागरिकलाई गाडीमा लैजानेछन् ।’नाकामा हेल्थ डेस्कसमेत स्थापना गरी सम्बन्धित स्थानीय तहको क्वारेन्टाइन पठाइने पोखरेलले बताए ।

भारतमा रहेका तथा नाकामा फसेकाको तथ्यांक संकलन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । सुरक्षाकर्मीहरू जटहीमा क्वारेन्टाइन स्टेशन निर्माणमा जुटिसकेको भन्दै उनले भारतमा फसेकाहरूलाई छिट्टै नेपाल ल्याउन शुरू गरिने बताए ।

‘बिहान १० बजे र साँझ ६ बजे नाकाबाट दिनको दुईपटक गाडी चलाइनेछ, गाडीको व्यवस्था हामी गर्छौैं, पैसा स्थानीय तहले तिर्छ,’ पोखरेलले भने, ‘स्थानीय तहहरूलाई क्वारेन्टाइनको क्षमता बढाउन हामीले भनिसकेका छौं ।’ धनुषाका विभिन्न नाकामा अहिले २ देखि ३ सय नेपाली अलपत्र अवस्थामा रहेको उनले बताए ।

भारतको क्वारेन्टाइनमा बसेर नेपाल आउने करीब ५ हजार नेपाली प्रदेश २ का विभिन्न नाकामा अलपत्र अवस्थामा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले बताएको छ । यसैगरी, भारतको क्वारेन्टाइनमा नबसेका तर स्वदेश फिर्ता आउन चाहने प्रदेश २ को नागरिकको संख्या १० देखि १२ हजार रहेको मन्त्रालय स्रोतको दाबी छ । मन्त्रालयका अनुसार अध्ययन, रोजगार, उपचार लगायत लागि भारतमा रहेका प्रदेश २ का नागरिकको संख्या एकदेखि डेढ लाखसम्म छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्