ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

शिथिल बन्दै अर्थतन्त्र

चैत महीनामा विप्रेषण आधा घट्यो

२०७७ जेठ, ६  
समाचार
Image Not Found
author avatar ममता थापा

काठमाडौं । कोरोना भाइरस र त्यसलाई रोक्न लागू भएको लकडाउनले नेपालको अर्थतन्त्र शिथिल हुँदै जान थालेको छ । एकै महीनामा कुल निर्यात, आयात र विप्रेषण आप्रवाहमा संकुचन आएको छ भने सरकारको राजस्व संकलन र खर्च पनि प्रभावित भएको छ ।

फागुन महीनासम्म मासिक ७५ अर्ब हाराहारीमा विप्रेषण भित्रिने गरेकोमा चैतमा त्यसको आधा मात्र भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेकोे देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनअनुसार फागुनसम्म ५ खर्ब ९२ अर्ब ४२ करोड विप्रेषण भित्रिएकोमा चैतमा ३४ अर्ब ४८ करोड रुपयाँमात्र थपिएको छ । यद्यपि समग्रमा हेर्दा भने अघिल्लो चैतको तुलनामा ४ प्रतिशत मात्रै घटेको देखिन्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चैतसम्म रू. ६ खर्ब २६ अर्ब ९० करोड विप्रेषण नेपाल भित्रिएको छ । अघिल्लो आवको सो अवधिमा विप्रेषण आप्रवाह करीब २१ प्रतिशत बढेको थियो । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोरोना भाइरसको प्रभावका कारण नै समीक्षा अवधिमा विप्रेषण घटेको बताए । ‘लकडाउनका कारण श्रम गन्तव्य मुलुकमा पनि लकडाउन लगाइएको छ । नेपाली कामदारको रोजगारी पनि जोखिममा परेको छ,’ उनले भने, ‘फलस्वरूप यस पटक विप्रेषण आप्रवाहमा ह्रास आएको हो ।’

चालू आर्थिक वर्षको शुरूदेखि नै नेपालमा विप्रेषण आप्रवाहमा ह्रास आउँदै छ । यस पटक भने कोरोना भाइरसका कारण विप्रेषण आप्रवाह थप प्रभावित भएको छ । यद्यपि, विश्व बैंकले कोरोना भाइरसका कारण चालू आवमा नेपालको विप्रेषण आप्रवाह १४ प्रतिशतले घट्ने अनुमान गरेको छ । वैशाख महीनामा यो झनै घट्ने देखिन्छ ।

गत फागुनको तुलनामा चैतमा खाद्य तथा पेय पदार्थको मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा वार्षिक विन्दुगत आधारमा ४ दशमलव ४४ प्रतिशत वृद्धि भएको उपभोक्ता मुद्रास्फीति चालू आवको चैतसम्ममा भने बढेर ६ दशमलव ७४ प्रतिशत पुगेको छ ।

गत फागुन र चैतबीचमा मात्रै खाद्यान्नको मूल्य ह्वात्तै बढेको छ । गत फागुनमा उपभोक्ता मुद्रास्फीतिदर (मूल्यवृद्धि) शून्य दशमलव २७ ले घटे पनि चैतसम्ममा आउँदा १ दशमलव ६८ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले बताएको छ ।

चालू आवको चैतसम्ममा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९ दशमलव ६८ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४ दशमलव ४८ प्रतिशत छ ।  राष्ट्र बैंकका अनुसार यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको हो । गैरखाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको थियो । क्षेत्रगत आधारमा हेर्दा काठमाडौंमा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । यहाँको मुद्रास्फीति दर ७ दशमलव १९ प्रतिशत छ ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट यस अवधिमा उद्योगधन्दा न्यून क्षमतामा सञ्चालन भएको र आपूर्ति समेत प्रभावित भएकाले खाद्यान्नको मूल्य बढेको बताउँछन् । ‘गत माघको तुलनामा फागुनमा मूल्यवृद्धि घटेको थियो, तर चैतमा ह्वात्तै बढ्यो । कोरोनाको प्रभाव एकै महीनामा देखिन थालेको छ, जबकि चैतमा १० दिन त काम सुचारु भएको थियो । वैशाखयता सबै ठप्प भएकाले अबको तथ्यांक झन् भयावह हुन सक्छ,’ उनले भने । आपूर्ति शृखंला टुटेपछि बजारमा मूल्य बढ्नु स्वाभाविक भएको अर्थविद् केशव आचार्य बताउँछन् । ‘किसानले गरेको उत्पादन पनि बजारमा आउन सकेको छैन । उत्पादित क्षेत्रबाट बजारसम्म लैजान पासको व्यवस्था गरिए पनि प्रहरीले बीचैबाट फर्काएको अवस्था छ,’ उनले भने, ‘यसकारण बजारमा जे जति मूल्यमा पाइन्छ, त्यसलाई ग्राहकले किन्नुपर्ने बाध्यता छ ।’

निर्यात एक तिहाइ घट्यो
नेपालको निर्यात पनि चैतमा करीब एक तिहाइ घटेको छ । गत फागुनमा रू. ९ अर्ब ९ करोड हाराहारीमा निर्यात गर्न सफल भए पनि चैतमा भने ३ अर्ब ९ रुपैंयाँको मात्र निर्यात भएको छ । पछिल्लो १ महीनामा भने निर्यात रू. ६ अर्बले कमी भएको छ । आर्थिक वर्ष २०७६/७७ को नौ महीनामा कुल वस्तु निर्यात १२ दशमलव ९ प्रतिशतले बढेर रू. ७८ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो ।

आर्थिक वर्ष २०७६/७७ को ९ महीनामा कुल वस्तु आयात ७ दशमलव ५ प्रतिशतले घटेर रू. ९८२ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१ दशमलव ३ प्रतिशतले बढेको थियो । राष्ट्र बैंकका अनुसार कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाबिन तेल, कम्प्युटर तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एमएस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको हो ।

९ महीनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति
समीक्षा अवधिमा नेपालसँग रू. ११ खर्ब ५५ अर्ब ९० करोड बराबरको विदेशी मुद्रा सञ्चिति छ । उक्त सञ्चितिले साढे ९ दशमलव ५ महीनाको आयात धान्न सक्ने राष्ट्र बैंकले बताएको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा रू. ९०२ अर्ब ४४ करोड रहेकोमा २०७६ चैत मसान्तमा रू. ९९६ अर्ब ८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा रू. १३६ अर्ब ४७ करोड रहेकोमा २०७६ चैत मसान्तमा रू. १५९ अर्ब ८१ करोड पुगेको छ ।

शोधनान्तर साढे ३६ अर्ब बचतमा
गत आर्थिक वर्षभरि घाटामा रहेको शोधनान्तर स्थिति यस वर्ष रू. ३६ अर्ब ६१ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रू. ६४ अर्ब ६८ करोडले घाटामा रहेको थियो । कोरोना महामारी र लकडाउनले गर्दा विदेशी पर्यटकबाट हुने आम्दानी पनि धेरै घटेको छ । चालू आवको समीक्षा अवधिमा भ्रमण आय शून्य दशमलव ६ प्रतिशतले वृद्धि भएर रू. ५५ अर्ब ७६ करोड पुगेको छ । गत आवको सोही अवधिमा यस्तो आय रू. ५५ अर्ब ४३ करोड थियो । यसपटक भ्रमण आयमार्फत हुने आम्दानीको वृद्धि दरमा पनि ह्रास आएको डा. भट्ट बताउँछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्