ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

भारतको आगराबाट आएका थिए दैलेखको पहिलो संक्रमित

नगरपालिका सिल गर्ने तयारी

२०७७ जेठ, ६  
कर्णाली प्रदेश
NA
author avatar पंखबहादुर शाही

जेठ ६, दैलेख ।  लकडाउनको ५६औं दिनमा कर्णाली प्रदेशमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । दैलेखको आठबीस नगरपालिका–१ सात्तालाका ३५ वर्षीया युवामा सोमवार कोरोना संक्रमण पुष्टि भएको हो । शनिवार स्वाब संकलन गरी आइतवार सुर्खेतस्थित प्रदेश प्रयोगशालामा जाँच गर्दा कोरोना संक्रमण देखिएको थियो । थप पुष्टिका लागि बाँकेको भेरी अस्पतालको प्रयोगशालामा स्वाब पठाउँदा पनि कोरोना पोजेटिभ देखिएको छ ।

भारतको आगरामा कोल्ड स्टोरमा काम गर्ने ती व्यक्ति आगराबाट कोल्ड स्टोरको गाडीमा कञ्चनपुरको पश्चिमी भारतीय सीमा नाका वनवासासम्म आएको बताइएको छ । वनवासामा ती युवालाई ३५ दिन क्वारेन्टाइनमा राखिएको थियो ।

क्वारेन्टाइन अवधि पूरा भएपछि भारतीय पक्षले जबरजस्ती नेपालतिर पठाएपछि ती युवासहित नेपालीहरूलाई स्थानीय तहको समन्वयमा उद्धार गरेर सम्बन्धित पालिका पठाइएको थियो । उनीसहित ३९ जनालाई वडा–१ को लक्ष्मी आधारभूत विद्यालयको क्वारेन्टाइनमा राखिएको नगरपालिकाले बताएको छ  ।

उनीहरू भारतबाट आएकोले महेन्द्रनगरबाट गाडी रिजर्भ गरी उद्धार गरेर जेठ १ गते गाउँमा ल्याइएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले जानकारी दिए । उनीहरूको जेठ ३ गते शनिवार हामीले सबैको पीसीआरको स्वाब संकलन गराइएको उनले बताए । ‘त्योभन्दा पहिला गाउँमा आउने समयमा आरडीटी जाँच गरिएको र त्यसमा रिपोर्ट नेगेटिभ देखिएको थियो,’ उनले भने, ‘कोरोना पोजेटिभ देखिएको खबर पाएपछि अहिले वडा लक गरिएको वडाध्यक्ष विश्वकर्माले बताए ।

‘स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतकी निर्देशक रीता भण्डारी जोशीले संक्रमितलाई दैलेख जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा ल्याउने तयारी गरिएको बताइन् । स्वास्थ्य अवस्था एकदम नर्मल छ,’ उनले भनिन् । समस्या भएको खण्डमा दैलेख अस्पतालमै भेन्टिलेटर भएका कारण त्यहीँ राखिनेछ ।’

क्वारेन्टाइनमा बसेका ३९ जनाको स्वाब जाँच गर्दा ती व्यक्तिमा मात्रै पोजेटिभ देखिएको थियो । ‘अब क्वारेन्टाइनमा बसेका अन्यलाई पुनः जाँच गर्ने वा के गर्ने भन्ने निर्णय भइरहेको उनले जानकरी दिइन्  । स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले त्यो विषयमा के गर्ने भन्नेबारे छलफल भइरहेको बताए ।

आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले नगरपालिका नै सिल गर्ने तयारी गरिएको जानकारी दिए । विषेशगरी कोरोना पोजेटिभ देखिएको वडालाई निगरानीमा राखिने र उनले हालसम्म को कोसँग सम्पर्क गरे त्यसको सबै डेटा संकलन गरिने उनले बताए । ‘सम्पर्कमा आएकाहरूको पनि स्वाब परीक्षण गरिनेछ,’ उनले भने 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्