ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

कोन्करले रेल भाडा बढाएपछि नेपालको पारवाहन लागतमा वृद्धि

२०७७ जेठ, ६  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ६, वीरगञ्ज  । तेस्रो मुलुकबाट भारतीय बन्दरगाहसम्म आइपुगेका कन्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहमा ल्याउने जिम्मा पाएको भारतीय कन्टेनर निगम लिमिटेड (कोन्कर) ले ढुवानी भाडा बढाएको छ । कोन्करले भाडा बढाएपछि नेपालका लागि पारवाहनको लागत वृद्धि हुने भएको छ ।

हिमालयन टर्मिनल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुकान्त चौधरीले कोन्करले यही मे १ देखि लागू हुने गरी रेलको भाडा  बढाएको जानकारी दिए । भारतीय रेलवेको भगिनी संस्था कोन्कर सुक्खा बन्दरगाह सञ्चालन गरिरहेको हिमालयन टर्मिनलको मुख्य साझेदार हो । भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाहबाट वीरगञ्जसम्म कन्टेनर ढुवानीमा कोन्करको एकाधिकार छ ।

कोलकाता र विशाखापत्तनम् बन्दरगाहबाट हुने ढुवानीमा प्रतिकन्टेनर भारतीय रुपयाँ (भारु) ५ हजारदेखि ९ हजारसम्म भाडा वृद्धि भएको आयातकर्ताले बताएका छन् । कण्टेनरको आकार र मालसामानको तौलका आधारमा भाडा दर फरक हुन्छ । 

यसअघि कोलकाताबाट वीरगञ्जसम्म २० फीटको कन्टेनरमा १० मेट्रिकटन (मेट) मालसामान ल्याउँदा भारु ३९ हजार ६७० भाडा थियो । कोन्करको नयाँ दरअनुसार यो भाडा अब भारु ४५ हजार १३३ पुगेको छ ।

४० फीटको कन्टेनरमा २० देखि ३० मेटसम्मको नयाँ भाडादर भारु ८३ हजार ४९० छ । वृद्धिअघि यो दर भारु ७४ हजार २७० थियो । कोन्करले भाडा बढाएको जानकारी पाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए ।

‘कोन्करले रेलको भाडा बढाएको जानकारी आएको छ, नेपालका लागि भाडा नबढाउन आग्रह पनि गरिएको छ,’ सहसचिव ढकालले आर्थिक अभियानसित भने । कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमार्फत यसबारेमा पहल भइरहेको जानकारी उनले दिए । 

कोन्करले अघिल्लो वर्ष सन् १९÷२० मा भाडा नबढाएकोले यस वर्ष वृद्धि गर्नु परेको हिमालयन टर्मिनलका सीईओ चौधरीले बताए । सामान्यतः वर्षमा २ पटक भाडा बढ्नेमा यसपटक १३ महीनापछिमात्रै वृद्धि भएको दाबी उनको छ  ।

रेलको भाडाबाट सिपिङ कम्पनीको मध्यस्थता हटाउने हो भने कोन्करले बढाएको भाडादर अहिले आयातकर्ताले तिरिरहेकोभन्दा कम हुने दाबी चौधरीको छ ।

 ‘आयातकर्ताले रेलको भाडा सिधैं कोन्करलाई बुझाउँदा सिपिङ कम्पनीले लिने अतिरिक्त रकममात्र घट्दैन, भाडामा छूट सुविधा पनि पाउँछन्,’ चौधरीले आर्थिक अभियानसित भने । तर, अहिले आयातकर्ताले रेल भाडा सिपिङ कम्पनीलाई बुझाउँछन् ।

सन् २०१९ फेब्रुअरीयता कोलकाता बन्दरगाहमार्फत हुने ढुवानीमा ‘डाइरेक्ट ट्रान्ससिपमेण्ट’ प्रणाली कार्यान्वयनमा छ । विशाखापत्तनम्मा त्यसअघि नै यो प्रणाली लागू थियो । सीआइएफ वीरगञ्ज उल्लेख गरेर आएका कन्टेनरको ढुवानी खर्च आयातकर्ताले सिपिङ कम्पनीलाई तिर्नु पर्दछ ।

कोन्करले सिपिङ कम्पनीमार्फत भुक्तानी लिने प्रावधान छ । कोन्करको भाडामा सिपिङ कम्पनीहरूले भारु १५ हजारदेखि २५ हजारसम्म बढी रकम जोडेर लिने गरेको नेपाल उद्योग वाणिज्य महासंघ पारवाहन तथा यातायात समितिका अध्यक्ष अशोककुमार टेमानीले बताए । 

‘कोन्करले सार्वजनिक गरेको भाडामा सिपिङ कम्पनीले आफ्नो फाईदाका लागि अतिरिक्त रकम लिन्छन्, यसले नेपालको वैदेशिक व्यापारमा पारवहन लागत वृद्धि भइरहेको छ,’ टेमानीको भनाइ छ । सरकार वैदेशिक व्यापारको लागत घटाउन गम्भीर नभएको आरोप आयातकर्ताको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्