ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

उपत्यकामा कोरोना परीक्षण गराउनेको संख्या ह्वात्तै बढ्यो

२०७७ जेठ, ६  
समाचार
Image Not Found

जेठ ६, काठमाडौं । उपत्यकामा पछिल्लो साता कोभिड–१९ संक्रमित देखिन थालेसँगै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणका लागि आउनेको संख्या ह्वात्तै बढेको छ । 

वैशाखको अन्तिमसम्म दैनिक २० देखि ६० जनासम्म परीक्षणका लागि आउने गरेकामा जेठ महीनामा दैनिक झण्डै ७०० परीक्षणका लागि आइरहेको अस्पतालले जानकारी दिएको छ ।

परीक्षणका लागि आउनेमध्ये कतिपय संक्रमित जिल्लाबाट आएका, संक्रमित भएका व्यक्तिसँग सम्पर्क भएकादेखि संक्रमणको सम्भावना न्यून रहेका व्यक्तिसमेत रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए । 

अहिले उपत्यकाका अधिकांश नगरपालिकाले आफ्नो नगरमा नफर्कन र फर्कन पर्दा परीक्षण गरेर मात्रै आउन भनिरहेका छन् । यसैले गर्दा अस्पतालमा परीक्षणका लागि आउनेको संख्या बढिरहेको हो । 

दुई साता पहिलेसम्म परीक्षणका लागि किट पर्याप्त मात्रामा नभए पनि अहिले किट पर्याप्त भएकाले पनि परीक्षणको दायरा बढाइएको छ । केही महीनादेखि काठमाडौं उपत्यका नछाडेका र संक्रमितको सम्पर्कमा नगएका व्यक्ति पनि त्रासका कारण आफूलाई कोभिड–१९ छ छैन भनी परीक्षण गराउन आइरहेका छन् । 

परीक्षणका लागि आउनेमा नेपालीसँगै विदेशी पनि रहेको डा राजभण्डारीले बताए । कतिपयमा आफूलाई संक्रमण छैन भन्ने लागेपनि कागजातका लागि परीक्षण गराउन आइरहेका छन् । उनले भने, ‘आफ्नो देशमा फर्कनु पहिले परीक्षण गर्नुपर्ने भएकाले पनि उनीहरु आइरहेका छन् ।’

कतिपय व्यक्ति भने उपत्यकाकै एउटा स्थानबाट अर्को स्थानमा जाँदा पनि कतै आफू संक्रमित भइहालेँ कि भनी जचाउन आइरहेका छन् । 

कतिपय व्यक्ति तरकारी पसल वा अरु कुनै पसल खोल्नका लागि आफूलाई संक्रमण छैन भनि प्रमाणित गराउनका लागि आइरहेका छन् । बैंकलगायतका संस्था खुल्दा पहिले बिदाका बसेका कर्मचारी पनि कोभिड–१९ परीक्षण गर्न आएका छन् । बन्दाबन्दीको समयमा पनि भिडभाड भइरहेका कतिपय कार्यालयका कर्मचारी पनि परीक्षणका लागि आइरहेको अस्पतालले जानकारी दिएको छ । 

अस्पतालमा अहिले झण्डै पाँचदेखि ७०० सम्म कोभिड–१९ को परीक्षणका लागि आइरहेकामा धेरै व्यक्तिमा संक्रमणको सम्भावना नरहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले बताए । 

उनका अनुसार जो व्यक्तिमा संक्रमणको सम्भावना छैन भने उसलाई सबै विवरण सुनेर अस्पतालले हरियो कार्ड (सङ्क्रमण नभएको प्रमाणपत्र) दिएर घर फर्काउने गरेको छ । 
अस्पतालमा आएकामध्ये ४० प्रतिशत व्यक्तिमा संक्रमणको सम्भावना नभएपनि उनीहरु डराएर जाँच गर्न आइरहेको उनले बताए । 

वैशाखसम्म दैनिक २० देखि ३० जनासम्म व्यक्ति कोभिड–१९ जाँचका लागि आउने गरेकामा गत मंगलवार काठमाडौं र भक्तपुरमा संक्रमित व्यक्ति फेला परेसँगै यो संख्या ह्वात्तै बढेको हो । बन्दाबन्दी खुकुलो भएपछि उपत्यका बारिहका जिल्लाबाट धेरै उपत्यका फर्किएका थिए । कतिपय संक्रमित अहिलेसम्म नभेटिएका जिल्लाबाट आएका व्यक्तिसमेत परीक्षणका लागि आइरहेका उनले बताए । 

काठमाडौं उपत्यका बाहिरका कोरोना संक्रमितको संख्या बढी रहेको जिल्लाबाट आएका वा संक्रमितको सम्पर्कमा आएका हुनसक्ने, संक्रमण रोकथामका लागि अग्रपङ्तिमा रहेर काम गर्नेहरुको नमूना संकलन भइरहेको डा राजभण्डारीले बताए । 

यो महीनाको पहिलो दिनदेखि नै अस्पतालमा कोभिड–१९ को परीक्षणका लागि आउनेको संख्या बढिरहेको छ । यहाँ आएकामध्ये कतिपयको आरडीटी र कतिपयको पीसीआर परीक्षण हुने गरेको छ । संक्रमणको सम्भावना बढी भएका व्यक्तिको पीसीआर परीक्षण र जोखिम कम भएका व्यक्तिको आरडीटी परीक्षण भइरहेको उनले बताए । 

अस्पतालले परीक्षण भएको दुई दिनपछि नतिजा दिने गरेको छ । व्यक्तिले सम्पर्क नम्बर र ठेगाना फरक लेख्ने गर्दा उसलाई सम्पर्क गर्न र पोजेटिभ आउँदा कन्ट्याक ट्रेसिङमा समस्या हुने उनको भनाइ छ । उनीहरु लामो समयदेखि काठमाडौं बस्ने भएपनि आफ्नो जिल्लाको ठेगाना लेख्ने गरेको पाइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्