ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

नगरपालिका सिल गरेर कोरोना परीक्षण

२०७७ जेठ, ७  
वाग्मती प्रदेश
NA

काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कोरोना संक्रमितको संख्या बढेसँगै नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरि नगरभित्र कोरोना संक्रमित देखिएपछि जेठ ७ गते बिहानसम्मका लागि नगरपालिका सिल गरेर कोरोना परीक्षणलाई तीव्रता दिएको हो ।

चैत ७ गते बिहानसम्म विभिन्न जिल्लाबाट चन्द्रागिरिमा आएका कोही पनि व्यक्तिलाई प्रवेश गर्न दिइनेछैन भने घरभित्र भएका व्यक्तिलाई घरबाहिर निस्कन बन्देज गरिएको नगरपालिकाले बताएको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले बन्दाबन्दीको समयमा विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि नगरपालिका सिल गरेर कोरोना परीक्षणको दायरा बढाइएको जानकारी दिए । ‘चैत ११ गते देशभर बन्दाबन्दी भएदेखि विभिन्न जिल्लाबाट चन्द्रागिरि आएका १ हजार व्यक्तिको आरडीटी परीक्षण गर्न लागेका छौँ’, उनले भने । चन्द्रागिरि नगरपालिकाले विभिन्न जिल्लाबाट बन्दाबन्दीको समयमा चन्द्रागिरिमा आएका व्यक्तिको लगत संकलन गरिरहेको छ ।

चन्द्रागिरिले सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा दैनिक २५ देखि ३० जनाको पीसीआर र आरडीटी परीक्षण गर्दै आएको छ । हालसम्म चन्द्रागिरि नगरपालिकाले ५०० भन्दा धेरै व्यक्तिको पीसीआर र आरडीटी परीक्षण गरिसकेको नगरप्रमुख गिरीको भनाइ छ । पछिल्लो समय बन्दाबन्दी शुरू भएदेखि बारा, मकवानपुर, धादिङलगायत जिल्लाबाट चन्द्रागिरिमा आएका ५ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

चन्द्रागिरिले कोरोना भाइरसको जोखिमयुक्त क्षेत्रबाट आएका व्यक्तिलाई प्राथमिकतामा राखेर कोरोना परीक्षण गर्नेगरेको छ । यस्तै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधिको समेत कोरोना परीक्षण गरिने नगरपालिकाले बताएको छ । वागमती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाको रूपमा रहेको चन्द्रागिरिमा १५ वडा छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्