ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सीमा आइपुगेका नेपालीको उद्धार गरिँदै

२०७७ जेठ, ७  
प्रदेश ०१
NA

भद्रपुर । भारतले सीमा क्षेत्रमा ल्याएर अलपत्र छाडिदिएको ३५ जना नेपालीलाई झापा गाउँपालिकाले सीमामै खानाको व्यवस्था गरेको छ । उनीहरूलाई भारतको किसनगञ्जबाट बसमा ल्याएर सोमवार साँझ सीमामा छाडिएको झापाका अध्यक्ष जयनारायण साहले बताए । भारतका विभिन्न क्षेत्रमा रोजगारीमा गएका नेपाली रेलको माध्यमद्वारा किसनगञ्जसम्म आएका थिए ।

रेल स्टेशनमा झरेका नेपालीलाई विहार सरकारले बसमा हालेर सीमासम्म ल्याएको दाबी साहले गरे । पालिकाको वडा नं १ स्थित लसुना सीमा क्षेत्रमा रहेका ३५ जना नेपालीमध्ये २५ जना झापाका विभिन्न पालिका र १० जना जिल्ला बाहिरको रहेको उनले बताए । दुई दिनअघि मात्र ३२ जना यही नाका भएर नेपाल प्रवेश गरेको उनको भनाइ छ । उनीहरूमध्ये केहीलाई सम्बन्धित पालिकाले लगिसकेको र बाँकी रहेकालाई क्वारेन्टाइनमा सुरक्षित राखिएको छ ।

त्यसैगरी मंगलवार बिहान मात्र कचनकवल गाउँपालिकाको सीमा क्षेत्रमा ६४ नेपाली आइपुगेका छन् । उनीहरूमध्ये १० पाठामारी र ५४ केचनाको सीमा क्षेत्रमा छन् । सीमा रहेका सुरक्षाकर्मीले उनीहरूलाई त्यही रोकेर राखेका छन् । ‘सीमा क्षेत्रमा आइपुगेका नेपालीलाई तत्काल उद्धार गरेर ल्याउँछौँ, भारततिर फर्काउँदैनौँ,’ प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले भने, ‘उनीहरूलाई राख्नका लागि होल्डिङ सेन्टर र क्वारेन्टाइनको व्यवस्था गरिएको छ ।’

जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले पूर्वीनाका काँकडभिट्टामा प्रवेश गर्ने नेपालीका लागि मेचीनगरमा, झापा गाउँपालिकाको सीमा क्षेत्रबाट आउनेलाई कनकाइ नगरपालिकास्थित कनकाइ क्याम्पस, भद्रपुर र कचनकवलका सीमा क्षेत्रबाट आउनेका लागि राख्न मेची बहुमुखी क्याम्पसमा होल्डिङ सेन्टर तयार गरिएको जानकारी दिए ।
उनले सीमा क्षेत्रबाट उद्धार गरेर ल्याइएका नेपालीलाई जिल्लाभित्रका भए सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइने र जिल्ला बाहिरका भए स्वास्थ्य परीक्षणपछि सम्बन्धित जिल्ला तथा प्रदेशमा पठाइने व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार सीमा क्षेत्रमा आएर रोकिएका नेपालीको संख्या १ हजार बढी छ । दुई दिनअघि पानीट्यांकी, नक्लबाडी क्षेत्रमा रहेका १ हजार नेपालीलाई उद्धार गरेर नेपाल ल्याउने तयारी गरिएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्