ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अष्ट्रेलियामा तेस्रो चार्टर उडान गर्दै नेपाल एयरलाइन्स

२०७७ जेठ, ७  
समाचार
Image Not Found

जेठ ७, काठमाडौं । नेपाल एयरलाइन्सले तेस्रो पटक अष्ट्रेलियामा चार्टर उडान गर्ने भएको छ । निगमको वाइडबडी ए–३३० जहाजले आगामी जेठ २३ गते (मे ५ तारिख) अष्ट्रेलियाको राजधानी क्यान्बेरामा उडान गर्न लागेको हो । यो नेपालको राजधानी र अष्ट्रेलियाको राजधानी जोड्ने पहिलो उडान हुनेछ ।

नेपालस्थित अष्ट्रेलियन दूतावासले निगमको वाइडबडी जहाज चार्टर गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए । उनका अनुसार जेठ २३ गते क्यानबेरामा निगमको वाइडबडी जहाजले चार्टर उडान गर्ने निश्चित भएको छ । 

नेपालमा लकडाउनका कारण रोकिएका अष्ट्रेलियाली र न्यूजील्याण्डका नागरिक र छुट्टीमा आएका पीआर होल्डर नेपाली नागरिकसहित २५० भन्दा बढीलाई दूतावासले जहाज चार्टर गरी लैजान लागेको हो ।

यसअघि वैशाख २४ गते निगमको वाइडबडी जहाजले अष्ट्रेलियाको सिड्नीमा चार्टर उडान गरेको थियो । त्यस्तै लकडाउनको अवधिमा निगमको वाइडबडी जहाजले पहिलोपटक विसं २०७६ चैत १९ गते अष्ट्रेलियाको ब्रिसबेनमा चार्टर उडन गरेको थियो । 

यी उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान भनेको थियो । मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै अष्ट्रेलियासम्मको ती दुवै उडान क्रमशः करीब  १२ र १३ घण्टाको थियो । निगमको पुनः अष्ट्रेलिया उडान क्वालालम्पुर ट्रान्जिट भएर क्यानबेरा पुग्नेछ । नेपाल र अष्ट्रेलियाबीच हवाईसेवा सम्झौता भइसके पनि नियमित उडान हुनसकेको छैन ।

जापानमा तीन चार्टर उडान
निगमको वाइडबडी जहाजले आगामी जेठ ९ गते जापानमा पनि तेस्रोपटक चार्टर उडान गर्दैछ । निगमले जापानको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर उडान गर्न लागेको हो । सोही गन्तव्यमा यसअघि जेठ २ गते निगमको वाइडबडी जहाजले दोस्रोपटक चार्टर उडान गरेको थियो । 

त्यसैगरी गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर उडान गरेको थियो । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगमको जहाजले नारितामा चार्टर उडान गरेको हो । निगमको वाइडबडी जहाज काठमाडौंको सुमेघ टूर एण्ड ट्राभल्स प्रालिले काठमाडौं–नारिता (जापान) चार्टर उडानको अनुमति लिएको निगमले जानकारी दिएको छ ।

नेपाल एयरलाइन्सले जापानको नारितामा गत फागुन १९ गतेदेखि सिधा उडान सेवा शुरु गरेको थियो । कोभिड–१९ को संक्रमण विश्वभर फैलिएपछि उक्त गन्तव्यको उडान हाललाई स्थगन भएको छ ।

हङकङमा पनि चार्टर उडान
निगमले आगामी जेठ ११ गते हङकङमा पनि चार्टर उडान गर्ने कार्यतालिका बनाएको छ । नेपालमा लकडाउनका कारण रोकिएका केही कङकङ्गेली नागरिक र हङकङ आइडी भएका नेपालीलाई जहाज चार्टर गरी लैजान लागिएको हो । 

यो गन्तव्यको उडानका लागि पनि निगमको वाइडबडी जहाज चार्टर गरिएको छ । यात्रुको संख्या भने यकिन भएको छैन । हङकङमा निगमले नियमित उडान गर्दै आएको छ । यो गन्तव्यमा लकडाउनका कारण हाललाई उडान स्थगन भएको हो । निगमले भारतका तीनसहित नौ गन्तव्यमा आफ्ना दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत अन्तरराष्ट्रिय उडान गर्दै आएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्