ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

पर्यटन विविधीकरणबारे योजना बनाउने समय

२०७७ जेठ, ८  
लेख | दृष्टिकोण
NA
author avatar नारायणप्रसाद पोखरेल

नेपालको पर्यटन सेवा उत्पादनको स्थिति सन् १९८० देखि अवरुद्धप्रायः छ । विगत ४० वर्षमा हामीले पर्यटन क्षेत्रको विकासका लागि आवश्यक नयाँनयाँ सेवा उत्पादन गरी अन्तरराष्ट्रिय पर्यटन बजारमा विविधता दिन सकेका छैनौं । टूर्स सेवा सञ्चालकहरूले सेवाको उत्पादन र सञ्चालनमा विशिष्टता प्राप्त गरी आपसी प्रतिस्पर्धामा समेत कमी ल्याउन सकेका छैनन् । केही अपवादलाई छाडेर सबैजसोले उस्तै प्रकारका सेवा दिइरहेको तथ्य भेटिन्छ । जबसम्म सेवा उत्पादनमा विविधता दिन समर्थ हुँदैनौं तबसम्म लक्ष्यअनुसार पर्यटन विकास र त्यसबाट आर्थिक समुन्नति प्राप्त गर्न सक्दैनौं । विविधताविनाको सेवासम्बन्धी उत्पादनले आपसी प्रतिस्पर्धालाई झनै बढाउने र हाम्रो आम्दानीलाई दिनप्रतिदिन खुम्च्याउँदै लैजानेछ ।

अब प्रविधिका माध्यमबाट पर्यटन सेवाको उत्पादन र विकासका बारेमा बहस र योजना बनाउन शुरू गरौं, जसले कोरोना असरले बेरोजगार भई नेपाल फर्केका जनशक्तिलाई रोजगारी सृजना गराउन समर्थ हुन सक्छौं ।

विगत ४० वर्षमा हामीले विश्व पर्यटन बजारका लागि उत्पादन गरेका सेवामा प्रख्यात भएका क्षेत्रहरू काठमाडौं उपत्यका, नगरकोट, धुलिखेल, पोखरा, चितवन राष्ट्रिय निकुञ्ज, अन्नपूर्ण पदमार्ग र सगरमाथा पदमार्ग आदि छन् । लुम्बिनी, पाल्पा, बर्दिया राष्ट्रिय निकुञ्ज, लाङटाङ पदमार्ग आदिलाई पर्यटन क्षेत्रका रूपमा समावेश गरिए तापनि यी क्षेत्रले खासै प्रगति गर्न सकेका छैनन् । सन् १९९५ तिर अमेरिकी नागरिक टोनी पार र तत्कालीन स्याङ्जा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद रुद्रबहादुर गुरुङको संयुक्त प्रयासमा सिरुबारी गाउँमार्फत गाउँ पर्यटन सेवा प्रारम्भ भएको थियो । गाउँ पर्यटन सेवा विशेष गरेर यूरोपेली र अमेरिकी पर्यटन बजारका लागि ठूलै आकर्षणको केन्द्रसमेत बन्न सफल भएको थियो । तर, सन् २००० पछि देशमा उत्पन्न द्वन्द्वले गाउँ पर्यटन सेवाले उचित गति लिन सकेन । हाल देशमा सिरुबारीसँगै, घलेगाउँ, मिल्लेक देउराली गाउँ, रैनास्टेट, काउलेपानी, चित्लाङ र बनेपालगायत स्थानमा गाउँ पर्यटन सेवा सञ्चालन भए पनि सेवाको गुणस्तर, आवश्यक नीति, नियम तथा सुपरभिजन आदि कारणले अन्तरराष्ट्रिय पर्यटन बजारमा प्रभाव पार्न र बाह्य पर्यटकलाई लोभ्याउन सकेको छैन । गाउँ पर्यटन सेवा सञ्चालित गाउँहरूको अवलोकनबाट स्वदेशी पर्यटकलाई बढी प्राथमिकता दिएको र सरसफाइ तथा गुणस्तर कायम हुन नसक्दा विदेशी पर्यटकलाई आकर्षित गर्न नसकेको देखिन्छ । विश्वभर पर्यटन सेवालाई उद्योगको मान्यता दिई यसबाट रोजगारी सृजना र विदेशी मुद्रा आर्जन गर्न आकर्षक सेवाहरू उत्पादन गरी विश्व पर्यटन बजारको ध्यान तान्न खोजिरहेका छन् । यसले पर्यटन उद्योग दिन प्रतिदिन प्रतिस्पर्धात्मक बन्दै गएको स्पष्ट हुन्छ ।

हामीसँग सर्वोच्च शिखर सगरमाथा छ, १४ सय किमिसम्म हिमाली भूभाग छ, बुद्ध, सीता जन्मेको देश हो भनेर मात्र विश्व पर्यटन बजारसँग प्रतिस्पर्धा गर्न सम्भव छैन । अन्तरराष्ट्रिय ख्यातिप्राप्त अन्नपूर्ण, धवलागिरि पदमार्गजस्ता धेरै क्षेत्र हामीले विकास, सुगमतालगायत नाममा गुमाइसकेका छौं । सेवा उत्पादनमा विविधता दिन नसकेकै कारण विश्वमा बढी मूल्य तिर्न सक्ने क्षमता भएका चिनियाँ पर्यटक नजीकै भए पनि लाभ लिन सकिएको छैन । अझ चिनियाँ पर्यटन बजारमा नेपालको छवि सस्तो, उत्कृष्ट सेवा दिन नसक्ने, निम्न र निम्नमध्यम स्तरका नागरिकले भ्रमण गर्ने मुलुक बन्न थालेको छ । एउटै प्रकारको सेवा उत्पादन, निम्न गुणस्तर र अस्वस्थ प्रतिस्पर्धाले थाइल्यान्ड, मलेशिया, सिंगापुर, भियतनाम आदि मुलुकका स्तरीय टूर्स सञ्चालकहरूले नेपालको टूर्स सेवा विक्री गर्न बन्द गरिरहेका छन् । भारतका उच्च स्तरीय टूर्स सञ्चालकहरूले समेत नेपाललाई प्रमुख गन्तव्यका रूपमा राख्न छोडिसकेका छन् ।

विविधता दिन नसकेकै कारणले विश्वमा बढी मूल्य तिर्न सक्ने क्षमता भएका चिनियाँ पर्यटकनजीकै भए पनि लाभ लिन सकिएको छैन । चिनियाँ पर्यटन बजारमा निम्न र निम्नमध्यम स्तरका नागरिकले भ्रमण गर्ने मुलुक भनेर चिनिन थालेको छ ।

पर्यटनसँग सम्बद्ध सबै प्रकारका सेवाको स्तर दिनप्रतिदिन खस्कँदै गएको छ । यस्तै अवस्था रहे हाल चिनियाँ पर्यटकको आगमनसमेत थाइल्यान्ड, मलेशिया र सिंगापुरजस्तै घट्दै जानेछ । सन् २०१९ मा करीब ११ लाख ७३ हजार जना नेपाल आएको सरकारी तथ्यांक छ, जसमा भारतीय, चिनियाँलगायत विश्वका सबै प्रकारका व्यापारी, उद्योगी तथा व्यवसायका लागि आवश्यक दक्ष कामदार र विभिन्न मुलुकमा स्थायी रूपमा बसोवास गर्ने नेपालीसमेत पर्छन् । त्यसैले नेपाल भ्रमणमा आउने पर्यटकको संख्या जम्मा आगमन संख्याको आधा अर्थात् करीब साढे ५ लाख मात्र हो भन्दा अत्युक्ति नहोला । यति हुँदाहुँदै पनि नेपाललाई पर्यटनका दृष्टिले सम्भावनायुक्त मानिन्छ । यसमा प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदा हाम्रा आधार हुन् । अझ नेपालका दुवै छिमेकी पर्यटन बजारका लागि उर्वर भूमि हुन् । यति धेरै सम्भावना हुँदाहुँदै पनि उद्योगी, व्यापारी, कामदार र विदेशमा रहेका नेपालीसमेत गरी २० लाख पर्यटक ल्याउन नेपाल भ्रमण वर्ष नै मनाउनुपर्ने ? के कारणले हामी पछाडि छौं त ? अब यसबारे सबैले चिन्तन र मनन गर्ने बेला भइसकेको छ । यसका लागि सर्वप्रथम पर्यटन व्यवसायी नै अगाडि आउनुपर्छ । पर्यटन सेवा उत्पादन, विविधिता र उत्कृष्टताका क्षेत्रमा हामीले काम गर्न ढिलाइ गर्नु हुँदैन । पदयात्रा पर्यटन, पर्वतीय पर्यटन, सांस्कृतिक पर्यटन हाम्रा विशेष सेवा हुन् । तर, व्यावसायिक पर्यटनजस्तै बहुराष्ट्रिय कम्पनीको साधारणसभा, सेमिनार, गोष्ठी आदि चाडपर्वसम्बन्धी पर्यटन, धार्मिक पर्यटन, साहसिक पर्यटन, कृषि पर्यटन, योग तथा मेडिटेशन तथा उपचारसम्बन्धी पर्यटन आदिमा पनि ध्यान पुर्‍याउन सकिएको छैन । हामीले केकति प्रकारका पर्यटन सेवा उत्पादन गर्न सक्छौं, सेवा उत्पादन र सञ्चालनमा कसरी गुणस्तर कायम गर्न सकिन्छ ? हाम्रो सस्कृति, रीतिरिवाज र चाडपर्वको पर्यटन सेवा उत्पादनमा कस्तो भूमिका रहन्छ ? सांस्कृतिक पर्यटनको विकास के कसरी गर्न सकिन्छ ? विभिन्न समुदायलाई कसरी पर्यटनको विकासमा लगाउन सकिन्छ ? यस्ता विषय छलफलमा ल्याई त्यसैबमोजिम योजना बनाउन र लागू गर्न अनिवार्य भइसकेको छ ।

पर्यटनको क्षेत्रमा दशकौं बिताएका र अनुभव सँगालेका, पर्यटन विकासको विषयमा विद्यावारिधि गरेका, पर्यटनसँग सम्बद्ध संघसंगठनमा अग्रपंक्तिमा रहेका व्यक्तित्वहरू अहिले कोभिड–१९ का कारण फुर्सदमा हुनुहुन्छ । अब प्रविधिको माध्यमबाट पर्यटन सेवाको उत्पादन र विकासका बारेमा बहस र योजना बनाउन शुरू गरौं, जसले कोरोनाका असरले बेरोजगार भई नेपाल फर्केका जनशक्तिलाई रोजगारी सृजना दिलाउन समर्थ हुन सक्छौं ।

लेखक पर्यटन व्यवसायी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्