ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

चोरी निकासी रोक्न वन र निकुञ्जमा सुरक्षाकर्मीको गस्ती

२०७७ जेठ, ८  
कर्णाली प्रदेश
NA

जाजरकोट । कोरोना भाइरसको जोखिमबाट जोगिन र जोगाउन यार्सागुम्बा सङ्कलनमा रोक लगाएपछि डोल्पाका पाटनमा सुरक्षाकर्मीले गस्ती शुरू गरेका छन् । सामुदायिक वन समूहमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गस्ती गरिररहेका छन् ।

यार्सागुम्बा लगायतका अन्य बहुमूल्य जडीबुटीको चोरी निकासी रोक्न गस्ती शुरू गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । हप्ता दिनअघि यार्सागुम्बा चोरीका लागि उपल्लो डोल्पामा केही व्यक्ति फेला परेपछि गस्ती कार्यलाई थप कडाइ गरिएको छ । जाजरकोट, डोल्पा, रुकुमपश्चिम र जुम्लालगायत जिल्लाका स्थानीयवासी डोल्पामा यार्सागुम्बा सङ्कलनका लागि डोल्पा जाने गरेका थिए । कोरोना भाइरसका कारण पहिलोपटक बन्द गरिएका डोल्पाका यार्सा पाटनमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरी सबै नाकासमेत बन्द गरिएको छ । बाहिर जिल्लाबाट र जिल्लाभित्रका मानिसले लुकीछिपी चोरी गर्ने भएकाले रोक्न पाटनमै नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको क्याम्प राखिएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए ।

जिल्लामा रहेका डिभिजन वन कार्यालय अन्तर्गतका सामुदायिक वनमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको छ भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज अन्तर्गतका मध्यवर्ती क्षेत्रका वनमा नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन गरिएको छ । सामुदायिक वनमा जगदुल्ला गाउँपालिकामा १०, ठूलीभेरी नगरपालिकाको माझफालमा २०, छार्कामा २० र काइके गाउँपालिकाको ठाँगेमा १० गरी ६० सशस्त्र प्रहरी यार्सा पाटनमा पठाएको सशस्त्र प्रहरी बल ४६ नं गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक चेतसिंह थापाले जानकारी दिए । सामुदायिक वनमा पनि प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको समेत उनले जानकारी दिए ।

त्यसैगरी नेपाल प्रहरीले पनि आफ्नो टोली यार्सागुम्बा पाटनमा परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले बताए । रञ्जितकारले जिल्लाको माझफालमा १४, जगदुल्लामा ११, ठाँगेमा १०, नावरपानीमा १० र छार्काको तालपाटनमा १० जना गरी ५० प्रहरी सम्बन्धित क्षेत्रमा पुगेर नियमित गस्ती गरिरहेको जानकारी दिए । अन्य चौकीमा पनि प्रहरी पुगेकाले यार्सागुम्बा पाटनको सुरक्षामा कुनै कमी नभएको दाबी उनले गरे ।  अघिल्ला वर्षहरूमा जेठको १० गतेपछि जिल्लाका सबै यार्सा पाटन खुला गर्ने गरिएको भए पनि यस वर्ष भने कोरोना भाइरसका कारण जिल्लाका सबै पाटन बन्द गरिएकाले नेपाली सेना, प्रहरी र स्थानीयवासीको पहलमा यार्सा पाटन चोरी गर्नबाट जोगाइरहेको प्रमुख जिल्ला अधिकारी सुनारले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्