ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनमा शिक्षा विज्ञहरु भन्छन् : कक्षा कोठासम्म पुग्ने शिक्षक तालिमको खाँचो

पहुँचबाहेक सबै शिक्षकले प्रविधि नजान्दा लकडाउनमा शैक्षिक गतिविधि न्यून

२०७७ जेठ, ८  
शिक्षा
Image Not Found
author avatar ममता थापा

जेठ ८, काठमाडौं । कोरोना महामारीको संक्रमण फैलिन नदिन  दुई महीनादेखि लकडाउन जारी रहेपछि अहिलेको स्थितिमा शिक्षण सिकाईका नयाँ विधि र प्रविधिको खोजी भइरहेको सन्दर्भमा पुरानै शैलीको शिक्षक तालिम कति प्रभावकारी होला भन्ने बहस शुरु भएको छ । 

शिक्षा पत्रकार समूहले बुधवार आयोजना गरेको भर्चुअल अन्तरक्रिया ‘अबको शिक्षक तालिम कस्तो हुने ?’  कार्यक्रमका सहभागीले बदलिदाें चुनौति सामना गर्न सक्ने शिक्षक जनशक्तिका लागि नयाँ तालिमको खाँचो औंल्याएका छन् । 

विगतमा शिक्षकले तालिम केन्द्रमा सिकेको शिक्षण ज्ञान–सीप बाटोसम्म सम्झिने र कक्षा कोठा पुग्दा बिर्सिने स्थिति रहेको भन्दै अवका दिनमा त्यसको प्रभाव कक्षा कोठामै देखिने र नतिजा आउनेगरी तालिम दिनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा तुलसी थपलियाले विद्यार्थीको सिकाइमा रुपान्तरण भयो/ भएन भन्नेमै तालिमको औचित्य देखिने बताए ।

उनका अनुसार तालिमको प्रभावकारिता चार तहमा जाँचिन्छ । पहिलो, तालिम लिने शिक्षकले नै तालिम प्रभावकारी रह्यो रहेन भनेर तत्कालै दिने जवाफ । दोस्रो, तालिमको परिक्षा मूल्यांकन । तेस्रो, तालिम लिनेको शिक्षण व्यवहार । र, चौथो विद्यार्थीको सिकाइमा रुपान्तरण । शिक्षण व्यवहार र विद्यार्थीको सिकाइमा रुपान्तरमाथि प्रश्न उठेकाले नयाँ ढंगले सोच्नुपर्ने बेला आएको महानिर्देशक थपलियाले बताए । 

अहिले १० दिन केन्द्रमा र ५ दिन विद्यालयमा अभ्यास गराईन्छ । तालिम प्रभाव घट्दै जाँदा ‘तालिम’ शब्दप्रति नै नकारात्मक बुझाइ हुन थालेपछि कार्यक्रमलाई शिक्षकको पेशागत विकास (टीपीडी)का रुपमा शिक्षण क्षमता बढाउन तालिम दिने गरिएको उल्लेख गर्दै महानिर्देशक थपलियाले भने, ‘एउटै स्ट्याण्र्डर्डले हुँदो रहेनछ, अब निश्चित स्टाण्र्डर्डचाहिं चाहिन्छ तर परिवेशअनुसार विविध स्वरुपमा लचकता अपनाउनेगरी तालिमको डिजाइन हुँदैछ ।’ 

कोरोनाको कहरमा बालविकास कक्षादेखि १२ सम्मका ८२ लाख ५७ हजार विद्यार्थी लकडाउनमा छन् ।

उनीहरुका झण्डै ३ लाख शिक्षक पनि घरमै छन् । पठनपाठन ठप्प छ । यस्तो बेला खासगरी अनलाइन, रेडियो/ टिभी, एप्स तथा रेकर्डेड माध्यमबाट पठनपाठन गराउनुपर्ने बाध्यता आइसकेको स्थितिमा शिक्षकहरुले प्रविधि नजानेकै कारण कुनै शैक्षिक गतिविधि हुन सकेको छैन । त्यसैले शिक्षक तालिमको पुरानो ढर्रामा सुधारको खाँचो देखिएको हो । 

शिक्षाविद् प्रा डा विद्यानाथ कोइराला नि : शुल्क तालिमले नै तालिमको महत्व घटाएको बताउँछन् ।  तालिम आवश्यकताका आधारमा सशुल्क हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘तालिम किन्ने हो, शिक्षक स्वयंले आफूलाई के कुरा नपुगेको हो, तिनलाई सशुल्क मोड्युलर तालिम दिउँ ।’ 

कोरोना कहरको यो बेला डाक्टर, प्रहरी अनि पत्रकार काममा खटिने तर, ३ लाख शिक्षक विदा मनाएर चुपचाप घरमा बसिरहन नमिल्ने उनको भनाइ छ । अनलाइन, रेडियो÷टिभि, एप्स तथा रेकर्डेड माध्यमबाट के गरी पढाउन सकिने हो शिक्षक स्वयंलाई तालिम प्याकेज बनाउन दिनुपर्ने कोइराला बताउँछन् ।  

शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले अनलाइनको पहुँच भएका ठाउँमा शिक्षक सक्रिय रहेको बताए । एकाङ्की रुपमा शिक्षक घरभित्र बसे भन्न नमिल्ने उल्लेख गर्दै थापाले भने, ‘पाठ्यक्रमलाई विद्यार्थीसम्म पुरयाउने पात्र शिक्षक नै रहेकाले ऊ योग्य हुनुपर्नेमा शंका छैन, तर शिक्षकको अवस्था पनि बुझ्नुपर्छ ।’ शिक्षक तालिम समय–सान्दर्भिक हुनु पर्नेमा उनको जोड थियो । 

अन्तरक्रियामा सहभागी निलबाराही मावि कालीमाटी काठामाडौंकी प्रधानाध्यापक डा जानुका नेपाल पौडेलले नभोकाइकनै शिक्षकलाई तालिम दिइएको बताइन् । उनको भनाइ थियो, ‘विद्यालयलाई नै तालिम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दिनुपर्छ, आवश्यकताका आधारमा विद्यालयले नै तालिम चाहिने शिक्षकलाई अवसर दिन्छ ।’

शैक्षिक तालिम केन्द्र बागमती प्रदेशका प्रमुख डा तोयनाथ खनालले आवश्यकतामा आधारित पुनर्ताजगी तालिम दिने गरेको जानकारी दिए । ‘त्यहीं पुनर्ताजगीलाई टेकेर हामीले अहिले शिक्षकलाई आवश्यकताकै आधारमा अनलाइन तालिम दिइरहेका छौं,’ उनको प्रष्टोक्ति थियो । 

नेपालमा सामुदायिक विद्यालयका ९८ प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् भन्ने सरकारी आँकडा छ । तर तालिमको प्रभावकारिता कक्षासम्म पुगेन भन्ने गुनासो आइरहँदा यसबारे ठोस अध्ययनको तथ्यचाहिं बाहिर ल्याइएको छैन । 

नयाँ शैक्षिक सत्र शुरु हुने र एसईईलगायतका परिक्षा संचालन हुने यो बेला विद्यालय लकडाउन जारी रहँदा बन्द छन् । 


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्