ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बीउ प्रवर्द्धन केन्द्रमै बीउ अभाव भएपछि किसान निराश

२०७७ जेठ, ९  
बजार
NA
author avatar पंखबहादुर शाही

 

 

 

दैलेख । जिल्लाको दुल्लु नगरपालिका–१३ को खातिगौडास्थित हातेमालो तरकारी तथा बीउ प्रवद्र्धन केन्द्रमा बीउ अभाव भएपछि किसान निराश भएका छन् । पटक–पटकको असिनापानीले बीउबालीमा क्षति गरेपछि बीउ अभाव भएको हो ।

किसानहरूले १२० रोपनी जमीनमा प्याज, चम्सुर, केराउ र सिमी लगायतको बेर्ना उत्पादनका लागि खेती गरेको बीउ केन्द्रका प्रमुख विष्णु शाहीले बताए । बीउ केन्द्रमा खातिगौडाका १२० घरधुरीका करीब ३०० जना किसान आवद्ध छन् । असिनाले बीउ बालीमा क्षति पुर्‍याएपछि सबै किसान चिन्तित छन् ।

विगतका बर्षहरूमा राम्रो उत्पादनसँगै राम्रो आम्दानी गरेका किसानहरूले यसपटक असिनापानीका कारण उत्पादन र आम्दानी गुमाउनुपरेको किसान रमेश खड्काले बताए । ‘हाम्रो रोजीरोटी भनेको नै यही हो । त्यहीपनि असिनापानीले सखाप बनायो,’ उनले भने, ‘पहिला हामी रोजगारी गर्न कालापहाड जान्थ्यौँ । बीउ केन्द्र स्थापना भएदेखि यहीँ काम गरेर घरखर्च टार्दै आएका थियौँ ।’

असिनापानीको क्षति व्यहोरेका किसानलाई विश्वव्यापी कोरोना भाइरस रोकथामका लागि करीब २ महीनादेखिको लकडाउन अर्को चिन्ताको विषय बनेको छ । बीउबालीबाट हुने आम्दानी गुमेपछि यतिबेला आपूmहरूसँग पैसाको अभाव भएकोले बिहान बेलुका छाक टार्न पनि समस्या भइरहेको मनसरा बिकले बताईन् । यो वर्ष असिनापानीले करीब रू. ३५ लाखभन्दा बढी घाटा व्यहोर्नुपरेको उनको भनाइ छ । यससँगै लकडाउनको बेला खाद्यान्नको अभाव झेल्न बाध्य बीउ केन्द्रमा आबद्ध किसानलाई उधारोमा चामल ल्याएर वितरण गरिएको उनले सुनाइन् ।

गत बर्ष बीउ केन्द्रले ३० क्वीन्टल प्याज, ३० क्वीन्टल सिमी, २५ क्वीन्टल चम्सुर र २० क्वीन्टल केराउको बेर्ना उत्पादन गरी ३२ लाख बराबरको आम्दानी गरेको थियो । बीउ केन्द्रले उत्पादित बीउ काठमाडौं पठाउने गरेको छ ।

यसैबीच दुल्लु नगरपालिकाले क्षतिको विवरण संकलन गरेको नगर कृषि शाखा प्रमुख राजन विष्टले बताए । विवरणका आधारमा राहतस्वरूप बीउ उपलब्ध गराउन पहल गरिने उनको भनाइ छ । पटक–पटकको असिनापानीले जिल्लाभर तरकारी, फलफूल र गहुँबालीमा क्षति पुर्‍याएकोले लकडाउन खुकुलो भएपछि जिल्लाका ११ ओटै स्थानीय तहका प्रमुखहरूसँग राहत र क्षतिपूर्तिका विषयमा छलफल गरिने जिल्ला कृषि विकास कार्यालयका प्रमुख तिलक पाण्डेले जानकारी दिए ।

बीउको माग बढ्दो
कोरोना भाइरसका कारण भारतलगायत अन्य मुलुकबाट गाउँ भित्रिनेको संख्या बढेसँगै खेतीपातीमा लाग्नेको संख्या पनि बढेको छ । यससँगै जिल्लामा विभिन्न बालीका बीउको माग पनि बढेको कृषि विकास कार्यालयका प्रमुख पाण्डेले बताए । किसानको मागलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयसँग समन्वयन गरेर बन्द भएका एग्रोभेट पसलहरू बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्ने निर्णय गरेको उनको भनाइ छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्