ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

सुदूरपश्चिमबाट २ लाख २६ हजार वैदेशिक रोजगारीमा

२०७७ जेठ, ९  
सुदूरपश्चिम प्रदेश
NA
author avatar वीरेन्द्र भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशको नौओटै जिल्लाबाट गरी २ लाख २६ हजार ७३ व्यक्ति वैदेशिक रोजगारी (भारत बाहेकका देश)मा गएको पाइएको छ । यो संख्या सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पासपोर्ट बनाएर बाहिरिएको हो ।

कतार, मलेशिया, दुवैलगायत मुलुकहरूमा कामका लागि बाहिरिएको संख्या सबैभन्दा बढी छ । कोरोना महामारी र लकडाउनका कारण अधिकांश मजदूरले काम गर्न पाएका छैनन् । यस्तोमा रोजगारदाता कम्पनीले पारिश्रमिक नदिएपछि बन्धकमा राखेको घरखेत गुम्ने चिन्ता कामदार र उनीहरूको परिवारमा परेको छ ।

लकडाउनयता कामका लागि बाहिरिएका कुनै पनि मजदूरले रकम पठाउन नसकेको अवस्थामा वैदेशिक रोजगारमा निर्भर श्रमिकका परिवारको दैनिक जीवनयापन कष्टकर बन्दै गएको छ । आफ्ना दुवै छोरा डेढ वर्षअघिदेखि मलेशियामा रहेको भन्दै धनगढी उपमहानगरपालिका–१३ राजपुरकी  पदमादेवी कलौनीले फागुनयता छोराहरूले पैसा पठाउन नसकेको गुनासो गरिन् ।

सुदूरपश्चिमका जिल्लामध्ये कैलालीबाट सबैभन्दा बढी ६२ हजार ६४४ जना वैदेशिक रोजगारीमा छन् । यस्तै कञ्चनपुरबाट ३८ हजार ३९८, बाजुराबाट ८ हजार ५४, बझाङबाट २२ हजार ८४५, दार्चुलाबाट ६ हजार ८६४ तथा बैतडीबाट २१ हजार ३९ व्यक्ति रहेका छन् । केही वर्षयता वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढ्दै गएका बेला फागुनयता भने कोभिड १९ का कारण पासपोर्ट बनाउन कोही पनि नआएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको भनाइ छ । वैदेशिक रोजगारी रहर नभएर बाध्यता भएको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले वार्षिक करोडौं रुपैयाँ रेमिट्यान्सको रूपमा सुदूरपश्चिम भित्रिने गरेकोमा हाल आउन छोडेको बताए । ‘यसले श्रमिक र उनको परिवारलाई त आर्थिक संकट परेको छ नै, साथै प्रदेशको आगामी विकासमा पनि अवरोध आउने देखिन्छ,’ उनले भने ।

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्