ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दार्चुला–तिंकर सडक निर्माणमा नेपाली सेना तैनाथ

२०७७ जेठ, ९  
समाचार
NA

काठमाडौं (अस) । नेपाली सेनाले महाकाली कोरिडोर (दार्चुला–तिंकर सडक योजना)का लागि दार्चुलाको घाँटीबगर इलाका नजिकैको थी भन्ने स्थानमा एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । सरकारले  २०७७ वैशाख १ र १४ गते दार्चुला–तिंकर सडक योजना अन्तर्गत उत्तरतर्फको ८७ किलोमिटर खण्ड नेपाली सेनामार्फत निर्माण गराउने निर्णय गरेअनुरूप सो क्षेत्रमा सेना तैनाथ गरिएको बिहीवार सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ ।

चीन र भारतको सीमा नाकासमेत पर्ने दार्चुलाको व्यास गाउँपालिका–२ स्थित घाँटीबगर इलाकामा करीब २ मिटर चौडाइको ४५० मिटर गोरेटो तथा घोडेटो बाटो निर्माण गरिनेछ । बाटो निर्माणका लागि दक्ष प्रावधिक जनशक्ति र थप सुरक्षा तथा बन्दोबस्तीका उपकरण र अन्य सामग्रीसहितको टोली बिहीवार नै त्यहाँ पुगेको छ ।

व्यास–२ मा पर्ने मौरी भीरमा ठूलो चट्टान र घाँटीबगर भन्ने स्थानमा पहिरो समेत गएकोले आवतजावतमा समस्या हँुदा छाङरु र तिंकर गाउँका १८२ घरपरिवारका करीब १ हजार २०० जना जिल्ला सदरमुकाम खलंगा आवतजावत गर्न हालसम्म भारतीय बाटो प्रयोग गर्न बाध्य थिए । सडक खण्ड सुचारु भएपछि स्थानीय बासिन्दा नेपालकै भूमि प्रयोग गरी आवतजावत गर्न सक्नेछन् ।

घाँटीबगर र मौरी भीर इलाकामा पर्ने ४५० मिटर सडक खण्ड अविलम्ब सुचारु गर्न दार्चुला जिल्ला सुरक्षा समितिबाट निर्णय भए बमोजिम सडक खण्ड निर्माणका लागि प्रावधिक जनशक्ति तैनाथ गरिएको नेपाली सेनाले जानकारी दिएको छ । सेनाले सरकारबाट प्राप्त यस जिम्मेवारीलाई उपलब्ध स्रोत साधन, जनशक्ति र प्राविधिक विज्ञताको पूर्ण उपयोग गर्दै यथासम्भव छिटो सम्पन्न गर्नेगरी काम थालिने बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्