ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

प्रदेश नं १ मा ४० हजारभन्दा बढीको पीसीआर परीक्षण हुँदै

२०७७ जेठ, ९  
प्रदेश ०१
Image Not Found

जेठ ९, विराटनगर । प्रदेश नं १ मा ४० हजार बढी नागरिकको पीसीआर परीक्षण गरिने भएको  छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा शुक्रवार बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड–१९ को परीक्षण कार्ययोजना स्वीकृतसमेत गरेको छ । 

भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेश भित्र कोभिड–१९ संक्रमित पहिचानका लागि परीक्षणको दायरा बढाउन लागिएको हो । 

दैनिक एक हजारका दरले पीसीआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री राईले जानकारी दिए । स्वीकृत भएको कार्ययोजनाले स्वाब परीक्षणका लागि जिल्लाको वर्गीकरणसमेत गरेको छ । 

उच्चजोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा वर्गीकरण गरिएको छ । उच्चजोखिम क्षेत्रमा एक प्रतिशत, जोखिम क्षेत्रमा शून्य दशमलव ७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा कुल जनसंख्याको शून्य दशमलव पाँच प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो ।  

कोभिड–१९ को नियन्त्रण, उपचार व्यवस्थाका लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताको समेत वृद्धि गरिने भएको छ । यसकालागि कोशी कोभिड अस्पतालमा १००, झापामा २००, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा २००, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३००, कृष्णदास आश्रम बराहश्रेत्र २०० र नेपाली सेना इटहरीमा ५० गरी थप ८५० बेड थपिने भएका छन् । 

यसैबीच प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकको व्यवस्थापन गर्ने संयुक्त कार्ययोजनासमेत स्वीकृत गरिएको छ । स्वीकृत कार्ययोजनाअनुसार इलाम, झापा, मोरङ र सुनसरीमा होल्डिङ एरिया पहिचान गरी निर्माणसमेत थालिएको छ । 

होल्डिङ एरियामा १५ हजार बेड संख्या बन्ने भएका छन् । इलाममा दुई हजार, झापामा चार हजार, मोरङमा पाँच हजार र सुनसरीमा चार हजार बेड तयार हुन थालेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्