ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बाँझो जमीनमा खेती गर्नेलाई धवलागिरी गाउँपालिकाले अनुदान दिने

२०७७ जेठ, ११  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिकाले बाँझो जमीनमा खेती गर्नेलाई अनुदान दिने भएको छ । गाउँपालिकाका अध्यक्ष थमसरा पुनको अध्यक्षमा मुनामा बसेको कार्यपालिकाको बैठकले खेती हुन छाडेर बाँझिएका जमीनलाई उपयोग गर्नेलाई प्रोत्साहन गर्ने निर्णय गरेको हो ।

आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम तथा बजेटमा समावेश गरी बाँझो जमीन प्रयोगमा ल्याउने सम्बन्धी कार्यविधि ल्याएर कार्यान्वयन गर्ने कार्यपालिकाका प्रवक्ता झकबहादुर छन्त्यालले जानकारी दिए । जमीन बाँझो राख्ने समस्या घटाउने, खेतीतर्फ आकर्षित गरेर उत्पादन बढाउने, आयात घटाउने, रोजगारी र आयआर्जन बढाउन यस्तो नीति लिने निर्णय गरेको उनले बताए ।

बैदेशिक रोजगारी, बसाइसराइका कारण जनशक्तिको अभाव, कृषि उपज विक्री गर्दा उत्पादन लागत पनि नउठ्ने, प्राकृतिक प्रकोप, बाँदर आतंक, बजारको अभावलगायत कारणले बस्तीदेखि टाढाको खेतबारीमा खेती गर्न छाडेका छन् ।

खाद्यबालीको साथै उच्च बजार मूल्य भएका दलहन, तरकारी, फलफूल, जडिबुटीको व्यवसायिक खेतीतर्फ आकर्षित गर्न लागिएको प्रवक्ता छन्त्यालले बताए । तल्लो क्षेत्रमा केरा, सुन्तला र उच्च पहाडी क्षेत्रमा सतुवा, टिम्मुरलगायत जडिबुटी खेती गर्न किसानलाई आग्रह गरिएको छ ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइसरका कारण खाद्य संकटको अवस्था आउन नदिन पालिकाका ७ ओटै वडामा खाद्य बैंक स्थापना गरेर समस्यामा पर्ने विपन्न, मजदुरलाई उपलब्ध गराइने भएको छ ।

राहत वितरणमा स्थानीय कोदो, मकै, गहुँ, धान, जौ, उवालगायत खाद्यान्न बालीलाई प्राथमिकता दिइने भएको छ । यसैगरी खाद्यान्नको प्रयोग गरेर मदिरा उत्पादनमा समेत रोक लगाइएको छ । कोदो, गहुँ, मकै, चामलबाट घरेलु मदिरा बनाउने चलन छ ।

संकट, सामाजिक विचलन र आर्थिक संकट ल्याउने भएकाले मदिरा उत्पादनबाट जिविकोपार्जन गर्दै आएकाहरूलाई आयआर्जनको बैकल्पिक सीप सिकाउने गाउँपालिकाले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्