ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउन सदुपयोग गर्दै दैलेखको चामुण्डा मावि : ५५ रोपनी जमीनमा कृषि उत्पादनको तयारी

२०७७ जेठ, ११  
कर्णाली प्रदेश
Image Not Found
author avatar पंखबहादुर शाही

दैलेख । लकडाउनको समयमा पनि दैलेखको एक सामुदायिक विद्यालयले उदारणीय कार्य गरेको छ । बन्दाबन्दीका कारण हरेकजसो कामकाज ठप्प भएका बेला चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ स्थित चामुण्डा माध्यमिक विद्यालय, हाडाकोटले कृषि उत्पादनका काम निरन्तर गरिरहेको हो । प्राविधिक धार अन्तर्गत अध्ययन अध्यापन भइरहेको ३ वर्षे बाली विज्ञान र कृषि (जेटीए) अन्तर्गर्त विद्यालयले कृषिबाली उत्पादनको तयारी गरेको हो । विद्यालय बन्द भए पनि ग्रामीण भेगमा आउन सक्ने खाद्य संकटलाई टार्न विद्यालय नजिकका विद्यार्थी र समुदायले सामाजिक (शारीरिक) दूरी कायम गर्दै उत्पादनका काम शुरू गरेका छन् ।

विद्यालयको कृषि धारतर्फ प्रयोगात्मक जमीनमा रोपण गरिएका सुन्तला, कागती लगायत अमिला जातका बिरुवाहरूको गोडमेल सहित नगदेबाली बेसारखेती, तरकारी खेती र मकैखेती गर्ने काम सञ्चालन भइरहेको विद्यालयले बताएको छ । ‘आत्मनिर्भरतामा जोड दिन विद्यालयले वैशाख १६ गते बैठक बसेर सबैको सल्लाह–सुझाव अनुरूप यो अभियान सञ्चालन गरेको हो,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरकबहादुर शाहीले भने ।

बाँझो जमीनको उपयोग गर्ने निर्णयअनुसार ‘क्लष्टर खेती’ कार्य भइरहेको उनले बताए । ‘शिक्षालाई श्रम, श्रमलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोड्ने हाम्रो उद्देश्य हो,’ उनले भने, ‘जुन जिल्लामै पहिलोपटक सामुदायिक विद्यालयले गर्दै छ ।’

शाहीका अनुसार विद्यालयले करीब २० रोपनीमा धान÷मकै खेती, ५ रोपनीमा खुर्सानीखेती, १० रोपनीमा बेसार÷अदुवाखेती र अन्य १० रोपनीमा मिश्रित (सिमी, करेला, फर्सी, काँक्रा) खेती गर्ने योजना सहित काम भइरहेका छन् । यस्तो खालको कामको शुरुआत समुदाय, नगरपालिका र विद्यालयको साझेदारीमा भएको हो ।

यसअघि ६१ जना कृषक मजदूरले २० रोपनीमा यस्तै उत्पादनमूलक काम गर्न जमीन तयारी सम्पन्न भइसकेको छ । ‘अब बाँकी काम वडा कार्यालय, समुदाय र विद्यालयको साझेदारीमा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट गरिनेछ,’ विव्यस अध्यक्ष शाहीले भने । विद्यालयले गत आर्थिक वर्षमा नगरपालिकाको करीब २२ लाख अनुदानमा ५५ रोपनी जग्गा स्थानीयबाट खरीद गरेको हो ।

‘अब सामुदायिक विद्यालयलाई केही प्राविधिक धारमा समावेसश गर्दै रोजगारीका अवसर सृजना हुने खालका काम गर्नु जरुरी देखिन्छ,’ विद्यालयका प्रधानाध्यापक जयप्रसाद तिमिल्सेनाले भने, ‘जुन चामुण्डा माविले गर्दै छ ।’

एक सामुदायिक विद्यालयले थालेको अभियान जिल्लामै अनुकरणीय मानिएको स्थानीय बुद्धिजीवी दीपक शाही बताउँछन्  । यो अभियानले अहिले वडाभित्रका कुनै पनि कृषकको खेत, पाखो, भीर बाँझो नभई उपयोग भइरहेको छ । चामुण्डाबिन्द्रासैनी नगरपालिकाका प्रमुख सूर्यबहादुर शाहीले आम नगरवासीलाई उत्पादनमा जोड दिई कृषिको परनिरर्भरता घटाउनु नै प्रमुख लक्ष्य भएको बताए । उनले भने, ‘यो विद्यालयलाई कर्णाली प्रदेशकै नमूना बनाउँछौँ ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्