ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनमा पनि कालीगण्डकी कोरिडोरको काम धमाधम

२०७७ जेठ, ११  
समाचार
NA

काठमाडौं । लकडाउन अवधिमा काली गण्डकी कोरिडोर प्रसारण लाइनको कामलाई गति दिइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको एकीकृत कार्ययोजनाका कारण कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्ड निर्माण अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरूको पूर्ण पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण धमाधम भइरहेको विवरण प्राप्त भएको छ । दाना र कुश्मास्थित खुर्कोटमा २२०/१३२ केभी सबस्टेशन निर्माणका बाँकी रहेका काम पनि लकडाउनमा जारी छ । दुवै सबस्टेशनका अधिकांश उपकरणहरू जडान भइसकेको प्राधिकरणले बताएको छ ।

दाना—कुश्मा खण्ड यही असारभित्रमा सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । सो प्रसारण लाइनको अवस्थाका बारेमा कार्यकारी निर्देशक घिसिङले गत फागुनको अन्तिम सातामा स्थलगत निरीक्षण गरेका थिए । पछिल्लो पटक उहाँले नियमित रूपमा आयोजनाको अवस्थाका बारेमा जानकारी लिँदै स्थानीय स्तरमा समन्वय गरिरहेका छन् ।

यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिनेछ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा सञ्चालनमा रहेको ११ दशमलव २ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुने गरी व्यवस्था गरिएको छ । हाल थापा खोलाको विद्युत् ३३ केभी लाइनमार्फत प्रवाह भइरहेको छ ।

घिसिङले प्रसारण लाइन अभावमा मिस्त्री खोलाको विद्युत्् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताए । उनले भने, ‘गत वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो तर लकडाउनले निर्माण प्रभावित हुनपुग्यो, केही ठाउँमा देखिएको अवरोध खुलाएर काम सुरु गर्न म्याग्दी तथा पर्वतका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरूको दह्रो साथ र सहयोग पाएका छौं, असारभित्र जसरी पनि चार्ज गर्ने गरी टिम खटिएको छ ।’

दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले राष्ट्रिय आवश्यकता र चाहनालाई ख्याल गरेर आयोजनामा ठूलो सहयोग पुर्‍याउनु भएको प्राधिकरणको बुझाइ छ । स्थानीय स्तरमा हुने सहयोग र समन्वय नै ठूला आयोजनाका लागि प्रेरणाको स्रोत बन्ने गरेको छ । प्रसारण लाइनमा हरेक टावर नै एउटा आयोजना जस्तो बन्ने नेपालको विकासको विकृतिलाई अन्त्य गर्न स्थानीय प्रशासनले गरेको सहयोग आफैमा अनुकरणयोग्य रहेको प्राधिकरणले बताएको छ ।

कुल ३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत ११० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एक टावर मात्रै खडा गर्न बाँकी छ । केही स्थानीयले प्रसारण लाइन मूनि आफ्नो घर परेको भन्दै रुट सार्न माग गर्दै निर्माणमा अवरोध गर्दै आएका थिए । म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल, गाउँपालिका अध्यक्ष, वडाध्यक्षलगायतको पहलमा स्थानीयसँग छलफल गरी टावर निर्माण अगाडि बढाइएको प्राधिकरणले बताएको छ ।

अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्ेटशनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्