ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बारा–पर्सा कोरिडोरका औषधि उद्योगद्वारा निषेधाज्ञा अवज्ञा

२०७७ जेठ, ११  
प्रदेश ०२
NA
author avatar अभियान संवाददाता

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय बाराले लगाएको निषेधाज्ञा उल्लंघन गर्दै बारा–पर्सा औद्योगिक कोरिडोरका औषधि उद्योगले कामदार ओसारेको पाइएको छ । पर्सा र रौतहटमा कोरोनाका संक्रमित बढेपछि बारा प्रशासनले ती जिल्लाबाट कामदार ल्याएर उद्योग चलाउन नपाइने आदेश जारी गरेकोमा उद्योगहरूले त्यस्तो आदेश अवज्ञा गरेका हुन् ।

बारामा सञ्चालित केही औषधि उद्योगहरूले पर्साको वीरगञ्जबाट गाडीमा कामदार लैजाने ल्याउने गरेका छन् । कोरिडोरमा १६ ओटा औषधि उद्योग छन् । बारा प्रशासनले जेठ ५ गते निषेधाज्ञा जारी गरेर जेठ २० सम्म उद्योग चलाउन छिमेकी जिल्लाबाट कामदार ल्याउन रोक लगाएको छ । प्रशासनले उद्योगहरूलाई स्थानीय कामदारबाट उत्पादन सुचारु राख्न भनेको छ । पर्सा र रौतहटमा कोरोनाका बिरामी बढेकाले ती जिल्लाबाट कामदार ल्याउँदा बारामा कोरोना फैलिन सक्ने भन्दै प्रशासनले कार्यालय प्रयोजनका लागि समेत ती जिल्लाबाट आवागमन रोकेको छ । बाराका सबै उद्योग प्रतिष्ठानलाई स्थानीय कामदारलाई कारखानाभित्रै आवासीय प्रबन्ध मिलाएर उत्पादन अघि बढाउन भनिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए । केही उद्योगले निषेधाज्ञा उल्लंघन गरेर वीरगञ्जबाट कामदार ओसारेको थाहा पाएपछि नियन्त्रणका लागि पर्सा प्रशासनसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी पण्डितले बताए । बाराबाट कुनै पनि उद्योगलाई कामदार ओसार्ने अनुमति नदिइएको उनले स्पष्ट पारे । वीरगञ्जबाट कामदार लिएर आउजाउ गर्ने गाडीलाई बारा जिल्ला अन्तर्गत पर्ने सडक खण्डमा खटिएका प्रहरीले समेत रोकेका छैनन् । चेकजाँचमा कडाइ गरी उल्लंघन गर्नेलाई कारबाही गरिने पण्डितले बताए ।

प्रशासनले लगाएको निषेधाज्ञा अवज्ञा गर्नेलाई स्थानीय प्रशासन ऐन २०२८ अनुसार ५ सय रुपैयाँसम्म जरीवाना वा एक महीना कैद वा दुवै सजाय हुने व्यवस्था छ । संक्रामक रोग ऐन २०२० मा यस्तो आदेश नमान्नेलाई १ सय रुपैयाँ जरीवाना वा १ महीना कैद वा दुवै सजाय हुने उल्लेख छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्