ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बन्दाबन्दीको मारमा साना तथा मझौला व्यवसाय

२०७७ जेठ, ११  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लामो लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुँदा धेरैजसो साना तथा मझौला व्यवसायी आप्mनो व्यवसाय नै छाड्ने मनस्थितिमा पुगेका छन् ।

दुई महीनादेखिको बन्दाबन्दीका कारण मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान गर्ने साना तथा मझौला व्यवसाय अहिले ठप्प भएको छ, जसका कारण यससँग सम्बद्ध व्यवसायी व्यवसायबाट पलायन हुने अवस्थामा पुगेका छन् ।

नेपालमा साना तथा मझौला व्यवसायले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशत योगदान गर्छ भने करीब १७ लाख रोजगारी सृजना गर्छ ।

कोरोना महामारीका कारण गरिएको देशव्यापी लकडाउनले मुलुकभरका साना तथा मझौला उद्योग अहिले ठप्प छन्, सञ्चालनमा रहेका पनि पूर्ण क्षमतामा चलेका छैनन् ।
अहिले मुलुकको पूmल व्यवसायमा दैनिक १ करोड रुपैयाभन्दा बढीको क्षति बेहोरिरहेको पुष्प व्यवसायीहरू बताउँछन् । त्यस्तै नेपाल विद्युतीय व्यापार महासंघका अनुसार विद्युतीय सामग्री उत्पादन, आयातमा संलग्न २० हजार जनाको रोजगारी संकटमा छ ।

नेपालमा विदेशी पर्यटक ठप्प हुँदा हस्तकलाको व्यापार लगभग शून्य नै छ । साथै, मेटलक्राफ्ट, फेल्ट, पश्मिनाजस्ता हस्ताकलाका सामग्रीको निर्यातमा पनि ह्रास आउन शुरू गरिसकेको नेपाल हस्तकला महासंघले बताएको छ ।

डोल्मा इम्प्याक्ट फन्डका लगानी निर्देशक शब्द ज्ञवालीका अनुसार अहिले साना तथा मझौला व्यवसायी नै सबैभन्दा धेरै समस्यामा रहेका छन् । तीमध्ये पनि पर्यटन क्षेत्रसँग प्रत्यक्ष सम्बन्ध राख्ने निर्यात उद्योग धेरै प्रभावित भएको ज्ञवाली बताउँछन् । ‘हस्तकलादेखि रेस्टुराँ व्यवसायको पर्यटन क्षेत्रसँग प्रत्यक्ष सरोकार रहन्छ । अहिले समग्र पर्यटन क्षेत्र प्रभावित हुँदा यी व्यवसाय जोखिममा छन्,’ उनले भने ।

काठमाडौं मल व्यापार संघकी अध्यक्ष सुषमा महराका अनुसार लामो समयसम्म व्यापार व्यवसाय ठप्प हुँदा साना तथा मझौला व्यापारीलाई बैंकको ऋण, घरभाडा, कर्मचारीको तलब आदिले थिचिरहेको छ । त्यसैले उनीहरू व्यवसाय छोड्ने वा पलायन हुने सम्भावना बढेको छ । सिभिल मल व्यापार संघका उपाध्यक्ष सुजित तण्डुकारको भनाइ पनि त्यस्तै छ । ‘अहिलेको यो अवस्थाले गर्दा धेरैजसो व्यापारीले हार खाइसकेका छन् । कतिपयले त व्यापार छोडेर कृषि पेशामा लाग्ने योजनासमेत बनाइरहेका छन्,’ उनी भन्छन् । व्यापार व्यवसाय शून्य हुँदा बैंकको ऋण, घरभाडा, कर्मचारीको तलबजस्ता कुराको व्यवस्थापनले साना तथा मझौला व्यवसायी तनावमा छन् । सञ्चालनमा रहेका यस्ता व्यवसायमध्ये करीब ५० प्रतिशतले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने गरेको राष्ट्र बैंकको अध्ययनले देखाउँछ ।

न्यूरोड, खिचापोखरी आसपासमा व्यापार गर्ने व्यापारीहरूको सटरभाडा महँगो रहेकाले समस्या दिनदिनै बढ्दै गएको बताउँछन्, काठमाडौं उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शेरचन ।

साना तथा मझौला व्यापारीहरूको आम्दानीको अर्को स्रोत नहुने र त्यही सीमित व्यापारमार्पmत बैंकको ब्याज र किस्ता तिर्नेदेखि घरभाडा तिर्नेसम्मका काम गर्नुपर्ने हुन्छ । लकडाउनबाट सबैभन्दा बढी समस्यामा पर्ने उनीहरू नै भएको अर्थविद् डा. गोविन्द नेपालले बताए । ‘ठूला व्यापारीहरूको आम्दानीको स्रोत धेरै हुन्छ । तर, साना व्यापारीको आम्दानी एउटै कुरामा केन्द्रित हुन्छ । त्यही व्यवसाय ठप्प हुँदा उनीहरूको अस्तित्व नै संकटमा पर्ने र छिटै पलायन हुने अवस्था रहन्छ,’ उनले भने ।

घरधनी, व्यापारिक संघसंस्था र सरकार सबै मिलेर महामारीको अन्त्य नहुने बेलासम्मका लागि घरभाडालगायत बैंकको ब्याज आदि कुरामा केही प्रतिशत छूट दिएर उनीहरूलाई पलायन हुनबाट जोगाउन सकिने नेपालको सुझाव छ ।

व्यवसाय छोड्दा वा पेशा परिवर्तन गर्दा अहिले गरिरहेको व्यवसायको लगानी खेर जाने र अर्को पेशाको अनुभव नभएका कारण भोलिका दिनमा झनै समस्या थपिन सक्ने उनले बताए ।

होटल/रेस्टुराँ जस्तै मान्छेको भौतिक उपस्थिति हुनुपर्ने सपिङ मल, सुपरमार्केट जस्ता व्यवसाय पनि प्रभावित भएको उनले बताए । ‘मान्छेहरूको बाक्लो उपस्थिति आवश्यक पर्ने भएकाले लकडाउनपश्चात् पनि यी व्यवसाय पुनः पहिलेकै अवस्थामा आउन लामो समय लाग्ने देखिन्छ,’ ज्ञवालीले भने ।

बिजनेश अक्सिजन प्रालिका निर्देशक सिद्धान्तराज पाण्डेले आपूmहरूले लगानी गरेका व्यवसायका समस्याहरू एकै प्रकृतिका नभएको बताउँछन् । उनका अनुसार कतिपयसँग कच्चा पदार्थ छैन । ‘कच्चापदार्थ भएकाहरूसँग श्रमिक व्यवस्थापनमा समस्या छ, जसका कारण उत्पादनमूलक उद्योगहरू अझ बढी समस्यामा छन्,’ उनले भने ।

खाद्यान्नसम्बन्धी काम गर्ने उद्योगी/व्यवसायी सरकारी निकायबीच समन्वय नहुँदा समस्यामा परेका छन् । सरकारले त्यस्ता उद्योगलाई ढुवानी गर्न दिने भने पनि त्यसको पूर्णरूपमा पालना नहुँदा समस्या भएको उनको बुझाइ छ ।

यस्ता साना तथा मझौला उद्योगलाई थप जोखिममा जान नदिन लकडाउनको मोडालिटी परिवर्तन गरिनुपर्ने सुझाव पाण्डेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्