ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

खाद्यबाली लगाइने जमीनको क्षेत्रफल घट्दो

२०७७ जेठ, १४  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । सरकारले कृषि उत्पादन बढाउन बाँझो जमीन राख्न नपाउने नियम ल्याए खाद्यबाली लगाइने जमीनको क्षेत्रफल भने घटिरहेको छ । आर्थिक वर्ष २०७५/७६ को दाँजोमा चालू आव २०७६/७७ मा खाद्यान्न लगाइएको जग्गाको क्षेत्रफल शून्य दशमलव ९ प्रतिशत घटेको छ । भूमिको खण्डीकरण भइरहेको र युवा शक्ति वैदेशिक रोजगारीमा गएकाले खाद्यान्न लगाइएको क्षेत्रफल घटेको सरकारले बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलवार संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७६/७७ ले धानबाली लगाएको क्षेत्रफल पनि गत आवको दाँजोमा २ दशमलव २ प्रतिशत घटेको देखाएको छ । मौसम प्रतिकूलताले रोपाइँ कम भएको सरकारको भनाइ छ । त्यसो त यस वर्ष धानको उत्पादनको वृद्धिदर पनि गत आवको दाँजोमा कम छ । अघिल्लो आवमा ८ दशमलव ९ प्रतिशत धानको उत्पादन बढेकामा गतवर्षको दाँजोमा यस वर्ष १ दशमलव १ प्रतिशत कम हुने अनुमान छ ।  धानबालीको क्षेत्रफल घटे पनि गहुँ र मकै बालीको क्षेत्रफल भने बढेको छ । मकैको शून्य दशमलव २ प्रतिशत र गहुँको शून्य दशमलव ३ प्रतिशत क्षेत्रफल बढेको प्रतिवेदनमा उल्लेख छ ।

यस वर्ष कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान पनि घटेको छ । आव २०६७/६८ मा कुल गार्हस्थ्य उत्पादनमा समग्र कृषिक्षेत्रको योगदान ३७ दशमलव १ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७६/७७ मा आइपुग्दा घटेर २७ दशमलव ७ प्रतिशत रहने अनुमान गरिएको छ ।

आव २०७५/७६ मा कृषिक्षेत्रको उत्पादन ५ दशमलव १ प्रतिशत बढेकोमा चालू आवमा २ दशमलव ६ प्रतिशतमा खुम्चने प्रारम्भिक अनुमान छ । धान उत्पादनमा आएको कमी र कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अवलम्बन गरिएका उपायहरूले समेत तरकारी, मासु र दुग्ध उत्पादनमा असर पारेको सर्वेक्षणमा उल्लेख छ । गहुँ, मकै तथा फलफूल बाली उत्पादनमा सामान्य वृद्धि हुने अनुमान छ । कृषि प्रविधिको प्रयोग र व्यावसायिकता बढ्दै जानु तथा सेवाक्षेत्रको विस्तार हुनु जस्ता कारणले कृषिक्षेत्रमा नागरिकको आबद्धता समेत क्रमिक रूपमा घट्दै गएको छ । सन् २००८ को नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार कृषिक्षेत्रमा जनसंख्याको ७३ दशमलव ९ प्रतिशत आबद्ध रहेकोमा सन् २०१८ मा घटेर ६० दशमलव ४ प्रतिशत कायम भएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदान घट्दै गए तापनि आर्थिक वृद्धिमा यस क्षेत्रको योगदानमा भने उतारचढाव आएको आर्थिक सर्वेक्षणले देखाएको छ  । आर्थिक वर्ष २०७५/७६ को आर्थिक वृद्धिमा यस क्षेत्रको योगदान २१ दशमलव २ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षमा यस्तो योगदान ३२ दशमलव ७ प्रतिशत रहेको अनुमान गरिएको छ ।

बजेट तथा कार्यक्रम शाखाका वरिष्ठ कृषि अर्थविद् लालकुमार श्रेष्ठले नेपालमा अझै पनि ठूलो मात्रामा निर्वाहमुखी कृषि प्रणाली कायम रहेको बताए । साथै यसतर्फ नयाँ पुस्ताको आकर्षण घट्दै गएकाले पनि कुल गार्हस्थ्य उत्पादनमा कृषिक्षेत्रको योगदानमा कमी आएको उनको बुझाइ छ ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा तरकारीको उत्पादनमा समेत ४ दशमलव ३ प्रतिशत ह्रास आएर ४० हजार ८९ मेट्रिकटन रहने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो उत्पादन ४ प्रतिशत बढेको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्