ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

भारतमै रोकियो ४६ हजार मेट्रिक टन मल

२०७७ जेठ, १५  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । धान रोपाइँको नयाँ सिजन शुरू हुन केही सातामात्रै बाँकी रहँदा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले ल्याउन लागेको करीब ४६ हजार मेट्रिकटन (मेट) युरिया र डीएपी मल भारतमै अड्किएको छ ।

यी दुवै कम्पनीले चीनबाट ल्याउन लागेको २५ हजार मेट डीएपी मल चैत २१ देखि कोलकाता बन्दरगाहमा रोकिएको छ । यता साल्ट ट्रेडिङले ल्याउन लागेको २१ हजार ५ सय मेट युरिया मल ओमानबाट लोड हुन नसकेपछि आपूर्तिकर्ता कम्पनीले भारतको गुजरातमा भण्डारण गरिएको मल नै दिने प्रस्ताव गरेको छ ।

तर, नेपाल–भारत वाणिज्य सन्धिअनुसार नेपालले गुजरातस्थित बन्दरगाहबाट तेस्रो मुलुकबाट ल्याइएका कुनै पनि सामान सीधै ल्याउन नपाउने भएकाले समस्या भएको साल्ट ट्रेडिङका महाप्रबन्धक कुमारराज भण्डारीले बताए । ‘गुजरातबाट नेपाल ल्याउन भारत सरकारसँग स्वीकृतिको पहल थालिएको छ,’ महाप्रबन्धक भण्डारीले भने ।

नेपालले भारतको पश्चिम बंगालस्थित कोलकाता, हल्दिया र आन्ध्र प्रदेशको विशाखापत्तनम् बन्दरगाह उपयोग गर्दै आएको छ । उडिसाको धाम्रा र गुजरातको मुद्रा बन्दरगाह उपयोगको सैद्धान्तिक समझदारी भए पनि सहमति भइनसकेकाले गुजरातस्थित बन्दरगाहबाट मल भिœयाउन नसकिएको हो । कोलकातामा रहेको २५ हजार मेट मल भने कोरोना भाइरसको जोखिम बढेका कारण श्रमिकको अभावले प्याकिङमा समस्या भइरहेको र प्याकिङ भएको मल पनि ढुवानीको समस्याले नेपालसम्म आउन सकेको छैन ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावासले श्रमिक उपलब्ध गराए पनि त्यहाँको स्थानीय प्रशासनले कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै श्रमिकको संख्या
घटाएको छ ।

अहिले कोलकातामा श्रमिकहरूले करीब ५ लाख बोरा मल प्याकिङ गरिरहेको कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्र भण्डारीले जानकारी दिए । ‘रोपाइँको समयमा कृषकलाई मलको समस्या हुन नदिन त्यहाँ रोकिएको मल ल्याउनैपर्ने हुन्छ । होइन भने रोपाइँको समयमा मलको अभाव देखिन्छ,’ प्रबन्ध निर्देशक भण्डारीले आर्थिक अभियानलाई भने ।

आर्थिक वर्ष २०७६/७७ मा कृषि सामग्री कम्पनीको १३ र साल्ट ट्रेडिङ कर्पोरेशनको सातओटा टेन्डरमार्फत कुल ४ लाख ५७ हजार मेट मल नेपाल भिœयाउने सरकारको योजना थियो । यसमध्ये हालसम्म ३ लाख ३५ हजार ५ सय मेट आइसकेको छ । १ लाख २१ हजार ५ सय मेट मल आउन बाँकी रहेको कम्पनीका कृषि प्रसार अधिकृत कृष्ण धितालले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले २ लाख मेट युरिया, १ लाख १८ हजार मेट्रिकटन डीएपी र ७ हजार ४२ मेट पोटास विक्री गरेका छन् ।

अहिले यी दुई कम्पनीसँग २९ हजार मेट डीएपी, २३ हजार मेट युरिया र ६ हजार मेट पोटास मौज्दात छ । ३४ हजार मेट कृषि सामग्री कम्पनीसँग र २४ हजार मेट मल साल्ट ट्रेडिङसँग छ ।

सरकारी कम्पनीहरूसँग यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा धेरै मल मौज्दात रहेको भनिए पनि किसानले भने आपूmहरूले मल नपाएको गुनासो गरिरहेका छन् । झापा, इलाम, पाँचथर, मोरङ, सुनसरीलगायत जिल्लाका किसानले समेत सहजरूपमा मल पाउन नसकेको प्रदेश नं. १ का खाद्यसुरक्षा महाशाखा प्रमुख राजेन्द्र उप्रेतीले जानकारी दिए । ‘अहिले सहकारी र डिलरहरूमार्फत कृषकलाई मल वितरण गरिरहेका छौं । तर, त्यो पर्याप्त छैन,’ उनले भने ।

राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले पूर्वी र पश्चिमी पहाडी जिल्लाका कृषकले मल नपाएको गुनासो गरेको बताए । किसानलाई बजार जान र मल बीउ किन्नसमेत निकै समस्या रहेको उनको भनाइ छ । शुरूका दिनमा ठूलो समस्या थियो । तर, हाल उस्तै असहज नभए पनि समस्या कायमै रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्