ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनलाई तुरुन्त हटाऊ

२०७७ जेठ, १९  
सम्पादकीय
Image Not Found

सरकार आफैले लकडाउनको स्वरूप परिवर्तन गर्ने बताइरहँदा औद्योगिक र व्यावसायिक गतिविधि सञ्चालन गर्ने गरी लकडाउन केही खुकुलो हुने अपेक्षा थियो । तर, शनिवार पछिल्लोपटक लकडाउन जेठ मसान्तसम्म लम्बाइएको छ । दैनिक जीवन र व्यावसायिक गतिविधिलाई राहत दिनेबारेमा केही नबताई अवधि थप्ने काम हुँदा नागरिक र व्यवसायीलाई निराश र आक्रोशित बनाएको छ । दैनिक कमाइबाट गुजारा गर्नेहरू त यसै निराश थिए ।

वास्तवमा सरकार यस महामारीको व्यवस्थापनमा पूर्ण असफल सावित भइसकेको छ । निराश जनता जबर्जस्तीमा उत्रिए भने देशकै लागि दुर्भाग्य हुनेछ ।

लकडाउन लम्बाइँदै जाँदा पछिल्लो समय लकडाउनको विरोधमा आम नागरिक र निजीक्षेत्रको गुनासो बढ्दो छ । लकडाउनको २ महीने अवधिमा सरकार के हेरेर बस्यो भन्ने प्रश्न सर्वसाधारणले गर्न थालेका छन् । अब अवज्ञा पनि हुन थाल्ने सम्भावना छ । गत शुक्रवार विराटनगरका व्यापारीहरूले पसल खोलेर लकडाउनको अवज्ञा गर्ने प्रयास नै गरे । लकडाउन भए पनि पछिल्लो समय कोरोना संक्रमित र मृत्यु हुनेको संख्या पनि बढ्दो छ । कोरोना भाइरस निर्मूल भएर नजाने र औषधि पनि तत्कालै पत्ता नलागिहाल्ने अवस्था भएकाले अहिले विश्वभरि नै भाइरससँगै जीवन अघि बढाउने नीति लिन थालिएको छ । धेरै देशले लकडाउन खुकुलो बनाउँदै व्यवसाय खुला गर्दै जाने नीति लिएका छन् ।

लकडाउन थपिएकोमा भन्दा पनि लकडाउनलाई खुकुलो बनाउँदै लैजाने कुनै पनि योजना सरकारले सार्वजनिक नगर्दा आमनागरिकले सरकारको निर्णयमाथि नै प्रश्न गर्न थालेका छन् । हुन पनि लकडाउनको अवधिमा सरकारी रणनीति कत्तिको सफल भयो, त्यसमा सुधार गर्नुपर्ने के हो भन्नेबारेमा जनतालाई खासै सूचना दिइएको छैन । प्रधानमन्त्रीले सार्वजनिक वक्तव्य दि“दासमेत यसको विकल्पमा चर्चा नगर्नुले नागरिकमा निराशा र आक्रोश जन्मिएको छ ।

कोरोनाको संक्रमणबाट जोगिन पूर्वतयारी नहुनु स्वाभाविक नै हो । तर, विश्वभरि नै फैलिइसकेको अवस्थामा नेपालले उपयुक्त रणनीति चालेको भए यति धेरै संक्रमित हुने अवस्था आउँदैनथ्यो । कतिपय देशले संक्रमणको संख्या थोरैमा सीमित गर्न सकेका उदाहरण पनि छन् । नेपालमा भने कोरोना अघि अघि र सरकार पछि पछि लागेको प्रतीत हुन्छ । समस्या सरकारको कार्यशैलीमा छ । सरकारी अंगमा समन्वय र सहयोगको अभाव छ । कमान्डरविनाको युद्ध लडिरहे जस्तो देखिन्छ, कोरोनाविरुद्धको लडाइँ । स्वास्थ्य मन्त्रालय, उच्चस्तरीय समिति, प्रधानमन्त्री वा क्राइसिस म्यानेजमेन्ट सेन्टर, कसको नेतृत्वमा योजना र कार्यान्वयन भइरहेको छ, यी अंगलाई नै राम्ररी थाहा नभएको अवस्था देखिन्छ ।

अझै भाइरस परीक्षणका लागि पर्याप्त किट छैनन् । पीसीआर र आरडीटीमा कुन उपयुक्त भन्नेमा सरकार आफै अन्योल देखिन्छ । क्वारेन्टाइन स्थलको व्यवस्थापन स्थानीय तहले लिए पनि संघीय सरकारले स्रोत र सूचना उपलब्ध नगराइदिँदा ती कुइँराका कागजस्तै बनेका छन् । हो, उनीहरूले आफूले जाने जति र सके जति भने गरिरहेका छन् । यस्तोमा संघीय सरकारको भूमिका धेरै हुन्छ, जसमा ऊ चुक्दै गएको देखिँदै छ । क्वारेन्टाइन नै अहिले कोरोना फैलाउने केन्द्र बन्न थालेको देखिन्छ । एकजनाले त क्वारेन्टाइनबाट भागेर आत्महत्या गरेको समाचारले निराशाको मात्रा देखाउँछ ।

लकडाउन कोरोनाविरुद्ध लड्नका लागि तयारीको समय हो । नेपालले गरेको तयारी पर्याप्त देखिएन । विज्ञहरूले लकडाउनका विकल्पबारे सरकारलाई सुझाव नदिएका होइनन्, त्यसमा सरकारको चासो देखिएन । सरकारले लकडाउन घोषणा गर्नु नै कोरोना रोकथामको एकसूत्रीय उपाय हो भनेर काम गर्दा त्यसबाट सृजित आर्थिक र मानवीय समस्या निकै जटिल तहमा पुगिसकेको छ । अब, अनन्तकालसम्म लकडाउन लगाउनु आर्थिक र मानवीय दृष्टिकोणले पनि उपयुक्त हुँदैन । यसबाट दीर्घकालीन गम्भीर असर पर्ने संकेत देखिन थालिसकेकाले तत्कालै लकडाउन खुकुलो बनाउनेतिर लाग्नुपर्छ । हो, विगतकै जस्तो सामान्यीकरण भने तत्कालका लागि सम्भव छैन । यही तथ्यलाई लिएर त्यसअनुसार मानिसका दैनिकी चलाउने नीति तय गरिनुपर्छ । त्यसैले लकडाउनको सहज निर्णयमा लाग्नुको सट्टा यसबाट बाहिरिने उपायको खोजीमा सरकार लाग्नैपर्छ ।

हो, विगतकै जस्तो सामान्यीकरण भने तत्कालका लागि सम्भव छैन । यही तथ्यलाई लिएर त्यसअनुसार मानिसका दैनिकी चलाउने नीति तय गरिनुपर्छ । अब यस रोगबारे जनता आफै पनि जान्ने भइसके । सरकार मात्र सर्वज्ञ भन्ने सोच त्याग्नुपर्छ । वास्तवमा सरकार यस महामारीको व्यवस्थापनमा पूर्ण असफल सावित भइसकेको छ । निराश जनता जबर्जस्तीमा उत्रिए भने देशकै लागि दुर्भाग्य हुनेछ ।

प्रतिक्रिया [2]
User Image

Keshav NS Adhikari

[Jun 1, 2020 07:05am]

पूर्ण सहमतीका साथ यो आवाजमा बल थप्न चाहन्छु ।


User Image

Ramram

[Jun 1, 2020 06:44am]

Sahi ho.


प्रतिक्रिया दिनुहोस्