ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनको मारमा दुग्ध व्यवसायी

२०७७ जेठ, २१  
बजार
Image Not Found
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । सुर्खेतको बराहताल गाउँपालिका–५ बड्डीचौरका रत्नलाल सुवेदीले लकडाउन हुनुअघि दैनिक ३० देखि ४० लिटर दूध विक्री गर्थे । ४ ओटा दुहुना भैंसी र एउटा उन्नत जातको गाई पालेका उनलाई अहिले दूध विक्री नभएकोमा चिन्ता छ । लकडाउनका कारण चिया पसल र होटेलहरू बन्द हुँदा दूध विक्री नभएपछि समस्या भएको उनी बताउँछन् । 

उत्पादित दूध उनले केही छिमेकी र बाँकी पाडोलाई नै खुवाउने गरेका छन् । ‘दूध खेर गइरहेको छ, गाईभैंसीलाई दाना खुवाउन नपाउँदा दुब्लाउन थालिसके’, सुवेदीले भने, ‘प्रशासनले दूध विक्री गर्न अनुमति दिएपनि होटेल व्यवसाय बन्द हुँदा घाटा खानुपरेको उनको भनाइ छ । 

व्यावसायिक रूपमा दूध उत्पादन गर्दै आएका बड्डीचौरकै अर्का किसान कृष्ण कँडेलले पनि दैनिक ६० लिटर दूध खेर गइरहेको गुनासो गरे । कोभिड–१९ को रोकथामका लागि सरकारले लागू गरेको लकडाउनका कारण यहाँका ग्रामीण भेगका किसानले पनि दुग्धजन्य पदार्थको सहज विक्री वितरण गर्न पाएका छैनन् । बजार व्यवसाय बन्द भएपछि डेरीले दूध खरीद गर्न छाडेका छन् । 

बड्डीचौरका ६० घरधुरी किसानले करीब १०० ओटा भन्दाबढी दुहुना गाईभैंसी पालेका छन् । दैनिक ५०० लिटर भन्दाबढी दूध खेर गएको उनीहरूको भनाइ छ । ऋण लिएर व्यावसायिक रूपमा दुग्ध व्यवसाय शुरू गरेका यहाँका किसानहरू ब्याज कसरी तिर्ने भन्ने चिन्तामा छन् । त्यतिमात्र होइन दैनिक आम्दानी टुटेपछि गुजारा चलाउन पनि समस्या भइरहेको उनीहरूको भनाइ छ । 

सिमलपानी पशु तथा कृषि सहकारी संस्थाका अध्यक्ष अर्जुन बुच्चामगरले लकडाउनका कारण मुश्किलले दैनिक २०० लिटरमात्रै दूध खपत भएको जानकारी दिए । बड्डीचौरका किसानका दूध यही सहकारीले विक्री गर्दै आएको छ । ‘लकडाउन लम्बिरहँदा गरीब किसानहरू मर्कामा परेका छन्, सबैभन्दा बढी चिया पसलहरूमा दूध खपत हुन्थ्यो, चियापसल बन्द हुँदा दूध–दही बेच्न समस्या भएको होे’, अध्यक्ष बुच्चाले भने । 

गाउँमा मात्रै हैन सदरमुकाम वीरेन्द्रनगरका दुग्ध व्यवसायीको पीडा पनि उस्तै छ । नमूना डेरीका सञ्चालक दिनेशप्रसाद आचार्यले साटाखानी, रतु, गोठीकाँडाका किसानको दूध खरीद गरी दैनिक ४०० लिटर दूध विक्री गर्थे । यतिबेला डेरी बन्दजस्तै छ । ‘प्रशासनले दूध बेच्ने गाडीलाई निर्बाध चल्न दिएपनि गाउँलेहरूमा कोरोना भाइरसको त्रास छ, त्यसैले ढुवानी गर्न सकिरहेका छैनन्’, आचार्यले भने, ‘चियापसल र होटेलहरू बन्द हुँदा दूध–दही खपत ह्वात्तै घटेको छ ।’

लकडाउनका कारण धरमपोखरा, पाम्का, गर्पन, बाबियाचौर लगायत स्थानबाट दुग्धजन्य पदार्थ ढुवानी हुन सकेको छैन । नेपाल डेरी एसोसिएशन कर्णाली प्रदेशले लकडाउनका कारण ६० प्रतिशत दूध खपत घटेको दाबी गरेको छ । एसोसिएशनका अध्यक्ष प्रेम रिजालले दैनिक २५ हजार लिटर भन्दाबढी दूध खपत हुने प्रदेशमा हाल मुश्किलले १० हजार लिटर खपत हुने गरेको जानकारी दिए । दूध खपत हुने मौसममै लकडाउन हुँदा यसपटक किसानहरू मारमा परेको रिजालकोे भनाइ छ । डेरी एसोसिएशनका अनुसार सुर्खेतमा मात्रै दैनिक १५ हजार लिटर दूध खपत हुन्थ्यो । तर लकडाउनले दुग्ध व्यवसाय पनि ठप्प पारेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्