ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धरान बजारमा चहलपहल शुरू

२०७७ जेठ, २१  
बजार
Image Not Found

धरान (अस) । लकडाउन भएको ७२ दिनपछि धरान बजारमा चहलपहल देखिएको छ । कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न सरकारले देशव्यापी लकडाउन घोषणा गरेको अघिल्लो दिनबाटै यहाँ लकडाउन शुरू भएको थियो । देशव्यापी लकडाउन आगामी ३२ गतेसम्म घोषणा गरिएको भए पनि मंगलवारदेखि धरानको बजार भने क्रमिक रूपमा खुल्न थालेका छन् । 

निजी तथा भाडाका टेम्पो, सिटी सफारीहरू पनि चल्न थालेका छन् । धरानको मुख्य बजार महेन्द्र पथ, पुरानो बजार, देशीलाईनका सबै खाले पसलहरू खुल्ला देखिन्छन् । विशेषगरी खाद्यान्न पसलहरूका लागि मात्रै यहाँको लकडाउन खुकुलो बनाइएको भए पनि अन्य वस्तु तथा सेवासम्बन्धीका पसलहरू पनि खुल्दै गएका छन् । लामो समयसम्म धरानमा कोरोनाको संक्रमण नदेखिएपछि सुरक्षाको हिसाबले कडाई नगर्दा बजारहरू खुल्न थालेका हुन् । 

उदयपुरको भुल्केमा कोरोना संक्रमित भेटिएपछि धरान उपमहानगरपालिकाले सुरक्षामा कडाइ गरेको थियो । त्यसपछि सुनसरीको इटहरीमा संक्रमित भेटिएपछि थप कडा पारेको थियो । करीब २ साताअघि धरानकै एक महिलालाई संक्रमण देखिएपछि समयअनुसार मात्रै खाद्यान्नका पसलहरू खुलाएन दिइएको थियो । 

तर, पछिल्लो समय सुनसरीमा देखिएका कोरोना संक्रमित र उनीहरूका आफन्तमा गरिएको परीक्षणहरू नेगेटिभ आएपछि केही सहजता महसुश गरिएको छ । धरानमै भेटिएकी कोरोना संक्रमित पनि सोमवार निको भएर घर फर्किएकी छिन् । 

लकडाउनको संरचना (मोडालिडी) परिवर्तन गर्न सोमवार सुनसरी उद्योग वाणिज्य संघले धरान उपमहानगरपालिकालाई आग्रह गरेको थियो । मेयर तिलक राइले आवश्यकताअनुसार लकडाउनको स्वरूप फेरिँदै जाने बताएका छन् । अन्य जिल्लामा जस्तो कोरोना संक्रमण नदेखिएकाले बजार खुलाउन उपयुक्त नै हुने स्थानीय राजेन्द्र तामाङ बताउँछन् । ‘अन्य ठाउँको जस्तो संक्रमणको अवस्था यहाँ छैन्, सामान्य नै छ, किन लकडाउन गर्नु, यत्तिका दिन भईसक्यो बजार खुलाउँदा हुन्छ,’ उनले भने ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको उपचार गरिने भएका कारण पनि यहाँ संक्रमणको जोखिम कायमै छ । त्यसैले सामाजिक दुरीसहित सुरक्षितरूपमा बजार खुलाए पनि सावधानी भने अपनाउनु पर्ने आवश्यक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्