ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

बाह्य चक्रपथको कालोपत्र गर्ने कार्य शुरू 

२०७७ जेठ, २१  
सुदूरपश्चिम प्रदेश
Image Not Found

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगर गौरवको योजनाअन्तर्गत बाह्य चक्रपथको कालोपत्र गर्ने कार्य मंगलवारदेखि शुरू गरेको छ । चक्रपथको ब्रह्मदेव तिलकेनी सडक खण्डको ३ किलोमीटर क्षेत्रमा कालोपत्रको कार्य शुरू गरिएको हो । 

चक्रपथ कालोपत्र गर्ने कार्यको नगरप्रमुख सुरेन्द्र विष्टले मंगलवार शुभारम्भ गरे । चक्रपथ कालोपत्र गर्ने कार्यले नगरवासीको जीवनस्तरमा सुधार ल्याउने उनको भनाइ छ । रू. ५ करोड ६७ लाख लागतमा ठेक्का प्रक्रियामार्फत उक्त सडक कालोपत्र हुन लागेको हो । शनिदेव पीएस उच्चकोटी जेभी निर्माण कम्पनीले सडक कालोपत्रको ठेक्का पाएको छ । 

१८ मीटर चौडाइ रहेको सडकमा फुटपाथ, नाली र बाह्य क्षेत्रमा वृक्षरोपण गरी हराभरा बनाइने छ । नगरपालिकाको बाह्य चक्रपथको कूल लम्बाइ ८४ किलोमीटर छ । स्थानीय तहको चुनावपश्चात् चक्रपथ निर्माणको कार्य शुरू गरिएको थियो । २ वर्षभित्रै पूरै चक्रपथ निर्माण गरी कालोपत्र गरिने लक्ष्य लिइएको नगर प्रमुख विष्टले बताए । 

उनले मानव र जीवजन्तुबीचको सीमा रेखाका रूपमा समेत सडकलाई लिन सकिने बताए । चक्रपथले नगरभित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समेत जोड्ने भएकाले नगरको विकासमा नयाँ आयाम थपिने उनको भनाइ छ । 

चक्रपथ निर्माणको कार्य शुरू भएसँगै जग्गाको मूल्य दोब्बरभन्दा बढीले वृद्धि भएको ब्रह्मदेवका स्थानीयवासी शंकरसिंह विष्टले बताए । ‘भरपर्दो सडक नहुँदा विगतमा वर्षात्का बेला नगरपालिका कार्यालय पुग्नै निकै सकस हुने गरेको थियो’, उनले भने, ‘चक्रपथ निर्माणसँगै सहजरूपमा गाडी गुडाएर केही घण्टामै कार्यालय पुग्न थालेका छौँ ।’

सडक कालोपत्र हुन थालेपछि झनै बाह्य क्षेत्रमा जानका लागि, कृषि उपज बिक्री गर्न र बिरामी पर्दा अस्पतालसम्म पुग्न सहज हुने उनको भनाइ छ । ‘धेरै चुनाव देख्यौँ । धेरैले अश्वासन पनि दिए । कसैले पनि सहज सडक निर्माणका लागि कार्य गरेनन्’, स्थानीयवासी निर्मला ओखेडाले भनिन्, ‘स्थानीय तहको निर्वाचनमा दिएको अश्वासन निर्वाचित जनप्रतिनिधिले पूरा गरेका छन् । हामी खुशी छौँ ।’

चक्रपथ नगरपालिकाका १९ ओटै वडालाई जोड्नेगरी निर्माण हुन लागेको छ । यसले नगरपालिका क्षेत्रभित्रका धार्मिक एवं पर्यटकीय स्थल ब्रह्मदेव, रौटेला, विष्णुमन्दिर, भम्केनी, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीमाथिको झोलुङ्गे पुल, र बाराकुण्डालगायतलाई जोडेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्