ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

लकडाउनमा धमाधम विकास निर्माण अघि बढाउँदै काठेखोला

२०७७ जेठ, २१  
गण्डकी प्रदेश
Image Not Found
author avatar अर्जुन कार्की

बागलुङ । कोरोना महामारीको कारण देश अहिले लकडाउनमा छ । अधिकांश आर्थिक, व्यावसायिक गतिविधि ठप्प छन् । तर, बागलुङको काठेखोला गाउँपालिकाले सामाजिक भौतिक दूरी कायम गर्दै विकास निर्माणलाई तीव्रता दिएको छ । 

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण १ महीनाभन्दा बढी समयदेखि अवरुद्ध विकास निर्माणका काम विशेष सतर्कताका साथ पुनः सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिए । गाउँपालिकाभित्र रहेका संघ, प्रदेश र गाउँपालिका मातहतका योजनाको काम अहिले धमाधम भइरहेको बताए । 

अध्यक्ष थापाले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत गाउँपालिकाको १ करोड ६३ लाख लागतमा भीमापोखरा, धम्जा, तंग्राम, विहुँ, लेखान रेश रिङरोड सडकको स्तरोन्नति, प्रदेश सरकारको ८० लाख लागतमा विहुँ जलजलादेखि रेश सडक स्तरोन्नति, संघीय सरकार र गाउँपालिकाको लागत सहभागितामा बहुवर्षीय योजना अन्तर्गत ९ करोड ८५ लाख रुपैयाँ बजेटको एकपाटादेखि रेश बौर सडक स्तरोन्नति तथा कालोपत्र, संघीय सरकारको विशेष अनुदानमा १ करोड १० लाख लागतमा काठेखोला–६ विहुँमा एक घर एक धारा खानेपानी योजना, संघीय सरकारको सहयोगमा २ करोड बजेटमा अक्षेते–सलाम भीमापोखरा जोड्ने सडकको स्तरोन्नति र गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजना अन्तर्गत काठेखोला–६ र २ जोड्ने लामाबगर घाटमा र वडा नं ६ र ७ जोड्ने एकलेखेतमा मोटरेबल पुलको काम भइरहेको बताए । 

गाउँपालिकाको गौरवका योजनाहरूको काम पनि लकडाउन अवधिमा सामाजिक दूरी कायम गरी भइरहेको जानकारी उनले दिए । ‘लकडाउनको कारण सामाजिक दूरी कायम गरी पूर्वाधार र गाउँपालिकाको पहिचानका काम गरिरहेका छौं,’ अध्यक्ष थापाले भने, ‘लकडाउनमा बाहिरी जिल्लाका मजदूर घर फर्किए पनि अहिले स्थानिय मजदूरले काम गरिरहनुभएको छ ।’ गाउँपालिकाले निर्माण सामग्री ढुवानीका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी निर्माण व्यवसायीलाई सहज बनाइदिएको छ ।

गाउँपालिकाले लकडाउनको अवस्थामा सामाजिक दूरी कायम गरी सतर्कताका साथ विकास निर्माण सञ्चालन गर्न निर्देशन जारी गरेको थियो । ‘गाउँपालिकाभित्र यस वर्ष सम्पन्न गर्नुपर्ने र बहुवर्षीय योजना समयमै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई स्थानीय मजदूर परिचालन गरी काम अघि बढाउन आग्रह गरिएको छ,’ अध्यक्ष थापाले भने ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्