ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

गरिखान देऊ : साना व्यवसायी 

२०७७ जेठ, २१  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । सरकारले जेठ ३२ गतेसम्म बन्दाबन्दी लम्ब्याउन गरेको निर्णयबाट असन्तुष्ट व्यवसायीहरूले बन्दाबन्दीको अवज्ञा शुरू गर्न थालेका छन् । मंगलवार काठमाडौं, वीरगञ्ज, विराटनगर, धनगढी, कोहलपुर र बुटवललगायत शहरमा व्यवसायीहरूले लकडाउनको अवज्ञा गर्दै व्यवसाय सञ्चालन गर्न खोजेपछि प्रहरीले त्यसलाई रोकेको थियो । 

विराटनगर, वीरगञ्ज, कोहलपुरलगायत शहरमा धेरैजसो व्यापारीले बिहान करिब ४ घण्टाजति पसल खोलेका थिए । बन्दाबन्दी लम्बिँदै जाँदा साना तथा मझौला व्यवसायी आआफ्नो व्यवसाय सञ्चालन गर्ने मनस्थितिमा पुगेका छन् । उनीहरूले निजीक्षेत्रका छाता संस्थाहरूलाई सरकारसँग यसबारेमा कुरा गर्न दबाब पनि दिन थालेका छन् । 

सरकारले बन्दाबन्दी खुकुलो बनाउने नीति नलिएपछि आक्रोशित व्यापारीहरूले सरकारसमक्ष बन्दाबन्दीको मोडालिटी परिवर्तन गरी आफूहरूलाई व्यवसाय सञ्चालन गर्न दिन साना तथा मझौला व्यवसायीको माग छ । मंगलवार नेपाल उद्योग वाणिज्य महासंघले व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाएको महासंघका जिल्ला÷नगर उपाध्यक्ष किशोर प्रधानले बताए । 

बन्दाबन्दीको अवधिमा समय तोकी दैनिक कम्तीमा पनि ४ घण्टा व्यवसाय सञ्चालन गर्न दिनुपर्ने आपूmहरूको माग रहेको उनले बताए ।

पोखरेलले अबको २ दिनभित्र यसबारेमा सरकारले निर्णय लिने र व्यवसाय सञ्चालनको वातावरण तयार गर्ने आश्वासन दिए तापनि व्यापारीहरू सरकारको निर्णय नपर्खने र बुधवारदेखि नै व्यवसाय सञ्चालनमा ल्याउने तयारीमा छन् ।

व्यवसायी सुषमा महराले २१ गतेदेखि ठूला मलबाहेकका अन्य ठाउँका पसल खोलिने बताइन् । ‘मलहरूमा भएका पसलहरू खोल्न सरकारको निर्णय पर्खिए पनि त्यसबाहेकका पसल भने २१ गतेदेखि खुला गर्छौं,’ उनले भनिन् ।

व्यवसाय सञ्चालन गर्दा पूर्णरूपमा भौतिक दूरी कायम राखिने र स्वास्थ्य सतर्कताका अपनाइने व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीहरू कोरोनाको मारमा परेका बखत सरकारले बजेटमार्फत आफ्ना मागलाई सम्बोधन नगर्दा धैर्य गुमाउन पुगेका छन् । त्यसमाथि यही जेठ २५ गतेभित्र कर चुक्ता गरिसक्न सरकारले दबाब दिएपछि थप आक्रोशित बनेका छन् । वैंकहरूले समेत किस्ता बुझाउन ताकेता गरेको र घरबेटीले घरभाडा तिर्न दबाब दिइरहेकाले व्यवसाय सञ्चालनको विकल्प नभएको व्यवसायीहरूको भनाइ छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकार निर्णय नगरे पनि व्यवसाय सञ्चालन गर्नु व्यवसायीहरूको बाध्यता भएको बताए । यसलाई लकडाउनको अवज्ञा भनेर नबुझ्न पनि उनले आग्रह गरे । कोरोनाका कारण थला परेका व्यवसायीहरूलाई जोगाउनु सरकारको दायित्व भएकाले व्यवसाय गर्नबाट आफूहरूलाई वञ्चित नगर्न उनले सरकारसँग आग्रह गरे । 

नेपाल पुष्प व्यवसायी संघले लकडाउनमा आआफ्नो व्यवसायमा फर्कन व्यवसायीहरूलाई जानकारी गराइसकेको बताएको छ । व्यवसायीहरूले अब लकडाउन पालना नगर्ने र काममा फर्किन वातावरण बनाउन मंगलवारदेखि नै केही नर्सरी सञ्चालनमा ल्याएको संघको भनाइ छ । संघका अध्यक्ष कुमार कसजु श्रेष्ठले पुष्प व्यवसायमा हाल कार्यरत करीब २० हजार स्थायी कर्मचारीहरूलाई तलब दिन नसकेकाले र उत्पादित वस्तु सवै नष्ट गर्नुपर्ने भएकाले अब घरभित्र कैद भएर बस्न नसकिने बताए । 

२१ गतेदेखि नै कटफ्लावरका पसलहरू सञ्चालनमा ल्याउने उनले बताए । अहिले व्यवसाय सञ्चालन गर्दा व्यापार नभए पनि व्यवसायीहरूलाई मानसिक तनावबाट बाहिर आउन मद्दत पुग्ने उनको भनाइ छ । 

कोरोनाका बिरामी धेरै भएका जिल्लालाई शिल गरी अन्य ठाउँहरूमा व्यवसाय सञ्चालन गर्दा अर्थतन्त्र चलायमान हुने र व्यवसायीहरू पलायन हुनबाट जोगिने उनको भनाइ छ । 

प्रतिक्रिया [1]
User Image

Keshav NS Adhikari

[Jun 3, 2020 06:50am]

सरकारले सानालाई हेरेर नीति बनाउन पर्छ । ठूला व्यवसायीहरु त जूवाको खाल र भन्सारको खेलबाट नै कमाइरहेकाछ्न् । उनिहरुलाई त अर्को पाँच वर्ष लकडाउन भए पनि केहि फरक पर्दैन ।


प्रतिक्रिया दिनुहोस्