ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धनुषाको क्वारेन्टाइनमा संक्रमित भेटिएपछि स्वास्थ्यकर्मी र भान्से आएनन् 

२०७७ जेठ, २१  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

जेठ २१, जनकपुरधाम । धनुषाको एक क्वारेन्टाइनमा  संक्रमित भेटेपछि स्वास्थ्यकर्मी र भान्से आउन छाडेका छन् ।  बागचौरा मावि क्वारेन्टाइनमा बसेकामध्ये २ जनामा कोरोना भाइरस संक्रमण मंगलवार पुष्टि भएपछि मंगलवारदेखि नै स्वास्थ्यकर्मी र भान्से आउन छाडेका हुन् । 

हंसपुर नगरपालिका २ को यो क्वारेन्टाइनमा ५१ जना थिए । उनीहरूमध्ये दुईजनालाई कोरोना संक्रमण भएको मंगलवार पुष्टि भयो । तर अझै उनीहरूलाई आइसोलेनमा लगिएको छैन ।यससँगै क्वारेन्टाइनमा बसेकाहरूलाई खाना पकाउनेहरू र स्वास्थ्यकर्मीहरू पनि पुगेका छैनन्। पीपीई नदिएसम्म काममा नफर्किने उनीहरूले बताएका छन् ।

क्वारेन्टाइनमा बसेकाहरू भने मंगलवार बेलुकादेखि भोकै छन् । नजिक घर भएका व्यक्तिका परिवारबाट खाना आएको छ भने टाढा घर भएका भोकै छन् । क्वारेन्टाइनमै बिरामी भएका आफ्ना पति भोकै भएपछि आफूले खाना लिएर गएको सोनी देवीले बताइन् ।

भारतको सुरतमा काम गर्दै आएका उनका श्रीमान् आउनेबित्तिकै क्वारेन्टाइनमा बिरामी परेका छन् ।बुधवार बिहानदेखि कोही पनि नआएको क्वारेन्टाइनमा बसेका इन्दल राउतले बताए । बिहान नगरपालिकाका कार्यालय सहयोगी आएर पानीको बोतल दिएर गएपछि उनी पनि फर्केर नआएको उनले बताए ।

क्वारेन्टाइनमा बस्दै आएकी रविना खातुन भन्छिन्, ‘या त घर जान दिनुपर्‍यो, या त खाना दिनुपर्‍यो ।’ यसबारे बुझ्न खोज्दा हंसपुरका मेयर रामज्ञान मण्डल सम्पर्कमा आएनन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमित फेला परेपछि कुनै किसिमको जानकारी त्यहाँबाट नपाइएको बताए । ‘हामीलाई जानकारी दिएपछि संक्रमितलाई आईसोलेशनमा ल्याइसकेका हुन्थ्यौं,’ उनले भने, ‘अब भोलि उनीहरूलाई ल्याउन पहल गर्छु ।’

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्