ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

युवालाई आकर्षित गर्न झिमरुक गाउँपालिकाले शुरु गर्यो कृषि फार्म 

कृषि तालिम केन्द्रको रुपमा विकास गर्ने लक्ष्य

२०७७ जेठ, २१  
प्रदेश ०५
Image Not Found
author avatar राजेश जीसी

जेठ २१, प्यूठान । प्यूठान जिल्लाको झिमरुक गाउँपालिकाले व्यवसायिक कृषि फार्म सञ्चालन गरेको छ । पालिकाले जग्गा भाडामा लिई कृषि तालिम केन्द्र स्थापना गर्ने उद्धेश्यले फार्म सञ्चालन गरेको हो । 

कृषि भ्रमण तथा अनुगमनको नाममा धेरै बजेट खर्च भएको तर उपलब्धि भने नदेखिएपछि पालिकाको आफ्नै लगानीमा व्यवसायिक कृषि फार्म सञ्चालन गरेको झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसीले बताए । 

उनका अनुसार फार्ममा कृषि खेती सम्बन्धी प्राविधिक कुराको प्रयोगात्मक सिकाइ हुने गरेको छ । पालिकाका कृषकलाई व्यवसायिक रुपमा कृषि क्षेत्रमा लाग्न प्रेरित गर्न तथा उत्प्रेरणा जगाउन फार्मले मद्धत पुर्‍याएको उनी बताउँछन् ।

‘कृषि तालिम तथा अवलोकनजस्ता क्षेत्रमा धेरै खर्च भए पनि उपलब्धि नदेखिएकाले गाउँपालिकाले नयाँ अभ्यास थालनी गरेको हो’, अध्यक्ष जिसीले भने, ‘अधिकांश स्थानीय तहले सैद्धान्तिक ज्ञान मात्र दिने गरेको तर आफ्नो गाउँपालिकाबाट कृषकलाई सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञानका दिन शुरु गरेका छौं । ’

झिमरुक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुषालले फार्मलाई आगामी दिनमा कृषि तालिम केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

फार्मको रेखदेख पालिकाका कृषि प्राविधिकले गर्ने गरेका छन् । गाउँका अन्य अगुवा कृषकहरु जम्मा गरि उनीहरुलाई प्रयोगात्मक अभ्यास गराउँदै खेती गर्ने गरिएको छ । आवश्यकता अनुसार दैनिक ज्यालादारी मजदूरसमेत प्रयोग गर्ने गरिएको उनले बताए ।

‘पालिकाले चालू आर्थिक वर्षमा रू.५ लाख विनियोजन गरी हिउँदे सिजनबाट फार्म सञ्चालनमा ल्याएको हो’, उनले भने, ‘फार्ममा विशुद्ध अर्गानिक तरकारी उत्पादन हुँदै आएको छ ।’
उनका अनुसार अहिलेसम्म फार्म तयार गर्नका लागि झण्डै रू.२ लाख खर्च भएको छ ।

फार्ममा च्याउ, काक्रा, भान्टा, फर्सी वोडी, तिते करेला लगायत विभिन्न बेमौसमि तरकारी उत्पादन भएका छन् । फार्मबाट अहिलेसम्म रू.५३ हजार बरावरको च्याउ तथा तरकारी विक्री गरेर आम्दानी भएको छ ।

हाईटेक प्रविधिमार्फत कृषि खेतीलाई अगाडी वढाउने गाउँपालिकाको योजना छ । वार्षिक रू.२५ हजारका दरले ५ वर्षका लागि झण्डै ३ रोपनी जग्गा भाडामा लिएर फार्म संञ्चालन गरिएको छ ।आधुनिक प्रविधिमार्फत खेतिपाती गरिने र पालिका भित्रका बेरोजगार युवालाईको सीप विकासको लागि फार्ममार्फत सघाउने गाउँपालिको योजना छ ।

 हाल बन्दाबन्दीको समयमा ताजा तरकारी खोज्दै स्थानीय उपभोक्ता कृषि फार्ममा आउने गरेको झिमरुक गाउँपालिकाका कृषि शाखा प्रमूख टेक बहादुर विकले बताए । आगामी वर्षमा पनि थप जग्गा व्यवस्थापन गर्दै फार्मलाई अझ राम्रो र व्यवसायिक बनाउने गाउँपालिकाको योजना छ ।

उनले  बेरोजगार र बैदेशिक रोजगारबाट फर्किएका युवालाई कृषिमा जोड्न पनि फार्म सहयोगी हुने अपेक्षा गरिएको बताए ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्