ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

दूधको खपत बढ्न थाल्यो

भण्डारण रित्याउन भने अझै समस्या

२०७७ असार, १  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । लकडाउन खुकुलो भएसँगै दूधको खपतमा वृद्धि हुन थालेको भए पनि व्यवसायीहरूलाई आफूसँग रहेको धूलो दूधको भण्डारणको चिन्ता यथावत् रहेको छ । लकडाउन शुरू भएदेखि दूध तथा दुग्धजन्य पदार्थको खपतमा ठूलो परिमाणमा कमी आउँदा दूध उत्पादक किसानदेखि व्यापारीसम्मलाई नराम्रो प्रभाव पारिरहेको थियो । लकडाउनका शुरूका दिनहरूमा समग्र दुग्ध उद्योगको खपत करीब २० प्रतिशत सम्ममा झरेको थियो । तर, सरकारले लकडाउन खुकुलो पारेपछि केही दिनयता भने खपत बढेर ४० देखि ५० प्रतिशतसम्म पुगेको छ ।

गर्मी बढेसँगै दहीको खपत पनि बढेको छ । उपभोक्तामा त्रास केही कम भएकाले खपतको मात्रा केही बढेको हो । यद्यपि यसले समग्र उद्योगको खपतमा भने ठूलो प्रभाव पारेको छैन । अझै पनि दूधको स्टक राख्नुपर्ने बाध्यता भएको व्यवसायीहरूले बताउँदै आएका छन् । कोरोना महामारीका कारण नेपालमा खपत घटेपछि व्यवसायीहरूले आपूmले भण्डारण गरिराखेको धूलो दूधलाई देशबाहिर निर्यात गरेर भए पनि भण्डारण रित्याउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई आग्रह गरेका थिए ।

तर, हालको अवस्थामा अन्तरराष्ट्रिय बजारमा दुग्धजन्य पदार्थको मूल्य कम र नेपालमा बढी भएकाले देशबाहिर पठाउँदा ठूलो मात्रामा घाटा बेर्होनुपर्ने भएकाले आफ्नै देशमा खपत बढाउनुपर्ने पशुसेवा विभागका महानिर्देशक वंशी शर्माले बताए । गत फागुन महीनामा व्यवसायीहरूले आपूmहरूसँग धूलो दूध स्टक नभएकाले विदेशवाट धूलो दूध आयात गर्न पाउनुपर्ने माग गरेको उनले बताए । त्यस आधारमा हेर्दा हाल व्यवसायीहरूसँग लकडाउन भएपश्चात्को करीब ३ महीनाको मात्र स्टक छ । त्यसैले लकडाउन खुल्नासाथ खपत बढ्नेछ र घाटा खाएर विदेश निर्यात गर्नु पर्दैन । ‘गत फागुनभन्दा पछि व्यवसायीहरूले जेजति स्टक गरेका छन् त्यसको म्याद करीब डेढ वर्ष रहन्छ । त्यसैले आत्तिनुपर्ने अवस्था छैन,’ उनले भने । हाल निजी तथा सरकारी क्षेत्रका दुग्ध उद्योगहरूसँग करीब ३५ सय टन अर्थात् २ अर्ब १० करोड रकम बराबरको धूलो दूध स्टक रहेको राष्ट्रिय दुग्ध विकास बोर्डका अध्यक्ष बाबुकाजी पन्तले जानकारी दिए ।

‘अहिले यूरोपेली मुलुकहरूमा समेत कोरोनाको प्रभावले गर्दा धूलो दूधको उत्पादन बढेको छ । उनीहरूले सस्तो मूल्यमा विक्री गरिरहेका छन् । यस्तो बेलामा हाम्रो दूध अन्तरराष्ट्रिय बजारमा विक्री हुन सक्दैन,’ उनले भने । त्यसैले अहिले यो विषयमा छलफल जारी रहेकाले समस्या समाधानमा अझै समय लाग्न सक्ने उनको भनाइ छ ।
व्यवसायीहरूले भने आफूहरूसँग फागुन महीनाभन्दा अघिदेखिकै धूलो दूधको स्टक बाँकी रहेको दाबी गर्दै सरकारसँग चाँडो यसको विकल्प खोज्न माग गरेका छन् । समयमै व्यवसायीसँग भएको स्टक रित्याउन सकिएन भने डेरी उद्योगहरू टाट पल्टिन सक्ने खतरा बढेको नेपाल डेरी उद्योग संघका अध्यक्ष राजकुमार दाहाल बताउँछन् । फागुनदेखि साउन महीनासम्मको अवधिमा दूधको उत्पादन कम हुने र माग बढ्ने भएकाले यही बेला उद्योगीहरूले आफूसँग भएको स्टक रित्याउने गर्छन् । तर, यही बेला खपत घट्दा झोल दूध नै बिकेको छैन । त्यसैले धूलो दूध कसरी बेच्ने भन्ने चिन्ता व्यवसायीहरूको देखिन्छ । लकडाउन खुकुलो हुँदा पनि शतप्रतिशत दूध विक्री नहुँदा स्टक बढिरहेको छ, जसले गर्दा भदौपछि व्यवसायीहरूले किसानको दूध किन्न नसक्ने अवस्था आउन सक्ने व्यवसायीहरूको आकलन छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्