ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

जनताको जीवनमा हस्तक्षेप गर्ने काम नगरौं

२०७७ असार, २  
अन्तरवार्ता
Image Not Found

कोरोना भाइरसको व्यवस्थापनमा भारतले गलत तरीका अपनाएको बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजको धारणा छ । बजाजका अनुसार कोरोना भाइरस नियन्त्रण गर्न सरकारले जापान वा दक्षिण कोरिया जस्ता एशियाली देशबाट पाठ सिक्नुको सट्टा पश्चिमी मोडल अपनायो । पश्चिमी देशहरूले आर्थिक तथा सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउने खालको कडा उपायहरू अपनाएर अर्थतन्त्र ध्वस्त पारे । तर, जापान र दक्षिण कोरियाले भने यस्ता उपायहरू नअपनाइकन नै संक्रमण धेरै हदसम्म नियन्त्रण गरे । पछिल्लो समय त्यहाँ आर्थिक र सामाजिक गतिविधिहरू विस्तारै सुचारु भइरहेका छन् । २ महीनाभन्दा लामो समयदेखि लकडाउन लगाउँदा पनि भारतमा संक्रमण अनियन्त्रित रूपमा बढिरहेको छ । जुलाइको अन्त्यसम्ममा राजधानी दिल्लीमा संक्रमितको संख्या ५ लाख भन्दा माथि पुग्ने अधिकारीहरूको अनुमान छ । कोरोना भाइरसको संक्रमणको वक्र चेप्टो पार्न लकडाउन ल्याइएको थियो, तर यसले वृद्धि (कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को वक्रलाई चेप्टो बनाइदिएको छ ।

हामीले लकडाउन निकै चाँडै शुरू गर्‍यौं भन्नेबारे तपाईंले स्पष्ट रूपमा बताउँदै आउनु भएको थियो र यो निकै लामो समयसम्म रह्यो । यसलाई तपाईंले निर्दयी लकडाउन भन्नु भएको छ । यसलाई फरक तरिकाले गर्न सकिन्थ्यो भनेर तपाईंले केही सोच्नु भएको छ ? भारतमा संक्रमण धेरै भए पनि मृत्यु तुलनात्मक रूपमा कम देखिएको छ । यति लामो समयसम्म लगाइएको कठोर लकडाउनका कारण यस्तो भएको हो भन्ने तथ्य तपाईं स्वीकार गर्नुहुन्छ ?
एकजना पूर्व मुख्यमन्त्री फडनाभिसले म विज्ञ होइन, त्यसैले यस विषयमा मेरो धारणाको अर्थ छैन भनेर बताएको भोलिपल्ट तपाईंले मलाई यो प्रश्न सोध्दै हुनुहुन्छ । उनले ठीक भने । म विज्ञ होइन । म उनलाई के भन्न चाहन्छु भने, हो म विज्ञ होइन, त्यसैले लकडाउन गरेर, थाल ठटाएर, दियो बालेर वा फूल बर्साएर कोरोना भाग्छ भन्ने म सोच्दिनँ ।

गम्भीर कुरा के हो भने अवश्य मसँग यसका उत्तर छैनन्, तर यसबारे मेरा केही धारणा र प्रश्न भने छन् । पहिलो मैले नबुझेको कुरा के हो भने हामीले पूर्वीय देशहरूको उदाहरण नहेरेर पश्चिमतिर किन हेर्‍यौं ? भारत एशियाली स्तरको रोग प्रतिरोधात्मक क्षमता, तापक्रम र जनसांख्यिक भएको देश हो । युवा जनसंख्यामा ‘थ्रोम्बोसिस’को सामना गर्न सक्ने क्षमता पनि होला, भाइरसको महामारीको यस अवस्थामा यो महत्त्वपूर्ण छ ।  

त्यसैले सर्वप्रथम सरकारले पश्चिमी देशको उदाहरण किन हेर्‍यो भनेर व्याख्या गरोस् भन्ने म चाहन्छु । दोस्रो कुरा काम गर्ने जनसंख्याको २१ वर्षदेखि ६० वर्षबीचको उमेर समूह (जो स्वस्थ र बलिया पनि छन्)लाई घरमै कोचेर किन राखियो ? मास्क लगाएर सामाजिक दूरी कायम गरेर काममा जान किन दिइएन ? उनीहरू काममा जान किन सक्षम भएनन् ? कुन चाहिँ तथ्यांकमा आधारित रहेर हामीले सबैलाई घरभित्रै राख्यौं र वस्तुतः अर्थतन्त्रको चक्कालाई घुम्नबाट रोक्यौं । यो कुरा मेलै बुझेको छैन ।  

तेस्रो कुरा, शुरुआती अवस्थामै कठोर खालको लकडाउन लगाएकाले भारतमा संक्रमण वा मृत्यु सीमित भएको हो भन्ने कुरा म भन्न सक्दिनँ । जापानमा के भइरहेको छ हेर्नुस् । जापान वृद्ध जनसंख्या धेरै भएको देश हो । तर, मलाई थाहा भएसम्म त्यहाँ संक्रमणका कारण मर्नेको संख्या कम छ । थाइल्यान्डलाई नै हेरौं । यो सबैजना सबैजनासँग घुलमिल हुने समाज हो । तर त्यहाँ पनि १०० देखि २०० जनाको मृत्यु भएको छ । यो संख्या अझ बढी पनि हुन सकछ, म यकिनसँग भन्न सक्दिन । क्याम्बोडिया, सिंगापुर जस्ता साना देशलाई हेरौं । मैले यहाँ भन्न खोजेको के हो भने पश्चिमको तुलनामा अधिकांश एशियाली देशमा संक्रमण दर कम छ, मृत्यु पनि निकै थोरै छ । मलाई लाग्दैन कि यसले भारतीय लकडाउनको महिमा दर्शाएको छ । एशियाली देश वा जनसंख्याले फरक तरिकाले व्यवहार गरेकोले पनि यस्तो भएको हुन सक्छ ।

लकडाउनसम्बन्धी तर्कसँगको मेरो विमति के हो भने यो स्पष्टतः संक्रमणको वक्र चेप्टो बनाउन गरिएको हो । ताकि चिकित्सा पूर्वाधारले बिरामीको संख्या धान्न सकोस् । यो हिसाब अर्थहीन छ । मानौं– १ अर्ब ४० करोड जनसंख्यामध्ये वृद्ध जनसंख्या १० प्रतिशत छ, १० प्रतिशत उच्च रक्तचापका बिरामी छन्, १० प्रतिशतमा मधुमेह र यस्तै यस्तै समस्याहरू छन् । यो भनेको ३० करोडदेखि ४० करोड मानिस हुन् ।

यस्तोमा एक वर्षसम्म लकडाउन गर्दा पनि वक्रलाई चेप्टो बनाउन सकिँदैन । हामीलाई त्यस्तो खालको जनसंख्याको उपचार गर्न सक्षम नर्स र डाक्टरहरू सहितको कम्तीमा ५० लाखदेखि १ करोड क्षमताको शय्या, भेन्टिलेटरको खाँचो छ । त्यसैले लकडाउनको हिसाब नै मिल्दैन । लकडाउन गर्नुको पछाडि रहेको उद्देश्य मैले नबुझ्नाको आधारभूत तर्क यही हुन् ।

स्वीडेन जस्तो देशकै उदाहरण लिउँ न । लकडाउन लागू नगरेको भनेर धेरैले प्रशंसा गरेका थिए । तर अहिले उनीहरू टाउको समातेर एक अर्कालाई प्रश्न गरिरहेका छन् । किनकि त्यहा“ संक्रमितको मृत्युदर विश्वमै उच्चमध्ये परेको छ । तपाईंमाथि रोकतोक थिएन र तपाईं पुनः मार्चकै महीनामा फर्किनुभयो भने कर्मचारीलाई काममा आउन दिने वा घरबाटै काम गर्न दिने विषयलाई फरक तरिकाले कसरी गर्नुहुन्थ्यो वा व्यवसाय र परिवारको व्यवस्थापन कसरी गर्नुहुन्थ्यो ?  
मलाई खुसी लागेको छ कि तपाईंले स्वीडेनको उदाहरण दिनुभयो । मलाई के लाग्छ भने यो उदाहरणलाई कि त गलत तरिकाले बुझिएको छ कि त व्यापक रूपमा गलत व्याख्या गरिएको छ । स्वीडेनले सामान्य अवस्थामाझैं निरन्तर व्यवसाय सञ्चालन गरेन । बरु सरसफाइ, मास्कको प्रयोग, सामाजिक दूरीजस्ता उपायको पक्षपोषण गर्‍यो, विशेषगरी वृद्धवृद्धाको हेरचाह गर्ने मानिसका लागि । यिनीहरूले सबै गरे । तर, उनीहरूले के चाहिँ गरेनन्, यी सबै सावधानी अपनाउँदा अपनाउँदै पनि युवा र स्वस्थ मानिसलाई थुनेर राखेनन् । त्यसैले स्वीडेनले एउटा अतिवादी उपायबाट अर्को अतिवादी उपायमा हामफालेन । स्वीडेनले ठीक बीचको बाटो अपनायो अनि तथ्यांकमा स्वीडेनले अपनाएको यो उपायले कस्तो प्रभाव पर्छ भन्ने कुरा पछि हेर्न पाइन्छ । स्वीडेनका मुख्य वैज्ञानिकले भनेअनुसार कडा खालको बन्दाबन्दी लागू गरेका स्कान्डिभियन छिमेकी देशका तुलनामा त्यहाँ मृत्युदर उच्च छ ।  

तर, आगामी ६ महीनादेखि १२ महीनाको अवधिमा अर्थतन्त्र खुल्दै जाँदा के हुन्छ भन्ने कुरा हामी देख्नेछौं । उनले दिएको डरलाग्दो अभिव्यक्तिले कस्तो प्रभाव पार्छ त्यो पनि हामीले देख्नेछौं । उनले के भनेका छन् भने यो महामरीको विशेषता यही हो कि स्वस्थ र युवाहरू शान्त भएर वृद्धवृद्धा र संकटाभिमुखहरूलाई संक्रमण हुने अवस्था कुरेर बसिरहेका छन् । यसको अर्थ भाइरस सधैं हाम्रो आसपास कहिले लकडाउन खुल्ला र समातौंला भनेर कुरेर बसिरहेको हुन्छ । अहिले भारतमा ठ्याक्कै यही भइरहेको छ । हामी विस्तारै लकडाउन खुलेर एकअर्कालाई भेट्ने क्रममा छौं र परीक्षण बढेसँगै संक्रमितको संख्या पनि बढिरहेको छ ।

त्यसो भए मैले फरक तरिकाले के गर्नु पथ्र्यो ? मूलतः मैले पनि मास्क, सामाजिक दूरीका उपायहरू अपनाउँथे अनि वृद्धवृद्धाहरूलाई सुरक्षित राख्न जस्ता सावधानीका सबै उपायहरू गर्थें । तर, म आ–आफ्ना काममा जाउ भनेर सबैलाई भन्थे । यसको विरोधमा केही तर्क आउन सक्थ्यो । उदाहरणका लागि वृद्धवृद्धा र बिरामीसँग बस्नेलाई चाहिँ के गर्ने ? उनीहरूको व्यवस्थापन कसरी गर्ने ? उनीहरूसँग आफ्ना लागि विकल्प रोज्ने विवेक छ । मलाई लाग्दछ कि हामीले उनीहरूलाई त्यसो गर्न दिनुपर्छ ।

तपाईं र मसँग पनि धुम्रपान गर्ने कि नगर्ने भनेर निर्णय गर्ने विकल्प छ । धूमपानले ज्यान लिन्छ भन्ने कुरा राम्ररी थाहा पाउँदा पाउँदै पनि चुरोट पिउने अधिकार हामीसँग छ । चुरोटको प्याकेटमै यस्तो चेतावनी दिइएको छ । दुभाग्र्यवश मानिसहरूले कारमा बस्दा सिटबेल्ट नलगाउने वा मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने विकल्प रोज्छन् । यसको अर्थ दुईपांग्रे सवारीसाधन सुरक्षित छैन भनेर बजाज अटो नै बन्द गरिदिने त होइन नि । त्यसैले अन्तिम विकल्प जनतालाई नै रोज्न दिऊँ र उनीहरूको जीवनमा हस्तक्षेप गर्ने काम नगरौं । मेरो भनाइ यत्ति हो ।

(भारतीय पत्रिका इकोनोमिक टाइम्सको अनलाइन संस्करणमा छापिएको अन्तर्वार्ताकोअनुदित अंश)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्