ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

विकासको सपना र सरकारको चाला

२०७७ असार, ५  
पाठक विचार
NA

कोरोना भाइरसको महामारी रोगले गर्दा संसारकै खराब दिन आइरहेको छ । भविष्य सम्झेर सबै व्यक्ति दुःखी छन् तापनि यस्तो घडीमा एकअर्कालाई सहयोग गरेर अघि बढ्नुुपर्छ भन्ने भाव पलाएको छ ।

रोगका कारण मानिसका लक्ष्य, चाहना, कार्य, मुलुकको विकासपछि धकेलिएको छ । त्यसमाथि पनि मुलुकमा विलासी नेताहरू हुनुु, विज्ञ तथा बुद्धिजीवीहरूको कदर नहुनु देशका लागि ठूलो अभिशाप हो । यो घडीमा बुद्धिजीवी विज्ञहरूले राजनीतिमा इच्छाशक्ति जगाउनुुपर्छ, जसले गर्दा खराब संस्कारको अन्त्य हुँदै जानेछ । हरेक पैसाका सिक्काका दुई भाग भएजस्तै देश विकासका पनि दुई भाग हुन्छन्, कसैले यो देशमा विकास भइरहेको देख्छ भने कसैले मुलुकमा विकास भइरहेको देख्दैन । देशमा नेताहरूको पछि लाग्ने उत्तिकै हुन्छन् भने यिनीहरूलाई घृणा गर्ने पनि छन् । जलविद्युत्, कृषि तथा पर्यटन आदिबाट देश विकास हुन सक्छ । तर, स्वार्थ, कमिशन चक्र, भिजनको कमीले गर्दा विकास अलपत्र परिरहेको छ । देशमा बुद्धिजीवी र विज्ञहरूको कमी छैन । तर, विडम्बना यो क्षेत्रमा यस्ता व्यक्तिहरू प्रवेश गर्ने चाँहदैनन् । त्यसैगरी कुर्सीमा ठूलो ओहोदाका व्यक्तीहरू पनि आसेपासेलाई छोडेर यस्ता बुद्धिजीवी विज्ञहरूलाई अपनाउन चाँहदैनन् । यही नै समाज र मुलुकको प्रगतिको बाधक हो । मुुलुक सधैं यस्तै भइराख्ने हो भने विकासका बजेट भएर पनि विकास हुँदैन । यो भनेको सेफमा राखेको पैसा जस्तो हो । यस्तो बेला प्रधानमन्त्रीको कुर्सीमा बस्ने मानिस निष्पक्ष र निडर भई काम गर्नुपर्छ । सरकारले घमण्ड र गफ त्यागी राम्राराम्रा विज्ञहरूलाई मौका दिने हो भने देशमा परिवर्तन सम्भव छ ।

यो मुलुकमा देश हाँक्नेहरूले विदेशीको चाकडी गर्न छोडी उनीहरूसँग मैत्री भावना मात्र राख्नुपर्छ । आप्mनो देशमा रहेको धनको राम्ररी खर्च गर्न सक्ने हो भने पनि विकासका लागि ठूलै सहयोग मिल्छ । सरकराले मन ठूलो गरी लगानीकर्ताको मनोबल बढाई व्यवसाय तथा उद्योगको वातावरण बनाइदिनुपर्छ । तर, देशमा रहेको ऋणभार, बैंक तरलता, वैदेशिक रोजगार समस्या आदिको समधान हुन सकेन । त्यसैले उद्योगधन्दाको विकास हुन सकेन । त्यही भएर उद्योग व्यवसायीहरू सरकारसमक्ष असन्तोष राख्दै आएका छन् । तर, अब आएर यी कुरामा ध्यान दिन जरुरी छ । बहुमतको सरकारले राज गरेको पनि झन्डै ३ वर्ष पुग्न लागी सक्यो । तर, जनता उति खुशी छैनन् । सरकारले जनताले सोचेअनुसार त काम गरेन नै, आफ्नै घोषणापत्रअनुसार पनि काम गर्न सकेको छैन । भ्रष्टाचारको आरोप लागेको छ, आफन्तवादको आरोप लागेको छ । तर, सरकार अरूका कुुरा सुन्न नै चाहँदैन । आफूले राम्रो गरेको एकोहोरो रटान मात्रै दिँदै आएको छ । काम नगर्ने सरकारलाई अहिले त झन् कोेरोना गजबको बहाना बनेको छ । कोरोना नआएको भए यसो गथ्र्यौ, उसो गथ्र्यौं भनेर गफ हान्न थालेका छन् । कोरोना नआएको भए त सरकारले देशलाई स्वर्गै बनाउने रहेछ कि क्या हो भनेजस्तो गरी कुरा गर्न थालेको पाइन्छ ।

संकटको यो घडीमा सरकारको महत्त्वपूर्ण काम भनेको नागरिकहरूलाई सस्तोमा खाद्यान्न र अन्य उपभोग्य वस्तु उपलब्ध गराउनु हो । त्योभन्दा ठूलो कुरा त कोरोनाको परीक्षण र उपचार राम्ररी गराउनु पर्ने हो । तर, यसमा सरकार चुकेको छ । त्यसैले यो रोग दिनप्रतिदिन बढ्दो छ । त्यस्तै महीनौं लकडाउन हुँदा शिक्षाक्षेत्र पनि अस्तव्यस्त छ । सजिलो तरीकाले समाजमा नैतिक शिक्षा उपलब्ध गराउनु हो र सस्तो स्वास्थ्य उपचार उपलब्ध गराउनु सरकारको काम हो । यति काम गर्न असम्भव पनि छैन । सबै पक्ष इमानदार र सकारात्मक हुने हो भने यी कुराको समाधान हुन त्यति कठिन पनि होइन, प्रतिपक्षहरूले पनि यस्ता कुराहरूमा निरन्तर आवाज उठाइराख्नुपर्छ ।

सरकारले आफ्नो विलासिताका लागि हुने खर्च ७६ प्रतिशत कम गर्नुपर्छ । कुर्सी बचाउन राष्ट्रधन लड्डुपेडा जस्तो बाँड्नु हुँदैन । बेरुजू रकम उठाउनुपर्छ । बजेटअनुसार काम नभए बजेट कम गर्नुपर्छ । सरकारले भ्रमण खर्च, औषधि खर्च, गाडी खर्च र मनोरञ्जन खर्च आदि कम गर्नुपर्छ । विकास गर्ने हो भने भ्रष्टाचार न्यून गर्नुपर्छ । उद्योग व्यवसायीलाई हौसला दिएर उद्योग व्यवसायको विकास गर्नुपर्छ । खाद्यान्न, लत्ताकपडा र अन्य सामानको आयात कम गर्दै जानुपर्छ र निर्यात बढाउँदै जानुपर्छ । राष्ट्रधन चुहावटबाट बचाउनुपर्छ । केही समयका लागि उद्योगीव्यवसायीहरूलाई कर प्रणाली खुकुलो बनाउनुपर्छ । यी कुराका लागि सरकार कडा हुन सक्नुपर्छ । यदि यो परीक्षामा सरकार कडा भएर अघि बढ्न सक्छ भने वर्तमान सरकार हिरो हुन सक्छ । तर, इच्छाशक्ति हुने, आँट नगर्ने, गफ, डरलाई नअपनाएर एकजुट भएर परिवर्तन भएर अघि नबढने हो भने यो पनि विगतका सरकारहरू जस्तो असफल भएर लड्नेछ । लोकतन्त्रपश्चात् मुलुकमा विकास भएको छ तर यति विकासले समाजलाई पुग्दैन । जनताको अपेक्षा निकै बढेको छ । त्यसअनुसार अहिले भएको विकास चित्तबुझ्दो छैन । वर्तमान सरकार तथा आउने सरकारहरूले यसलाई सुधार गर्दै लैजानुपर्छ । समग्रमा के भन्न सकिन्छ भने बहुमतको सरकार हुनु ठूलो सौभाग्यको कुरा हो, यो सुनौला अवसरलाई सरकारले गुमाउनु हुँदैन । विलासी वस्तुको उपभोग कम गर्ने, राजनीतिक नियुक्ति दिने आयोग आदि कम गर्ने राष्ट्रधनको तहबह मिलाउने, यी सब कुराका लागि सरकार तयार हुनुपर्छ, सक्रिय हुनुपर्छ । संविधान संशोधन नै किन गर्न नपरोस् तयार हुनुपर्छ ।

सबैभन्दा ठूूलो कुरा अठोट हो । सरकार चलाउनेसँग बलियो अठोट हुनुपर्छ । त्यसअनुसार रणनीति तय हुनुपर्छ । यस्तो भएमा जनताले देखेको विकासको सपना पूरा हुन सक्छ ।

रमेशकेशरी वैद्य

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्