ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

वीरगञ्ज महानगरको बजेट ११ महीनामा आधा पनि खर्च भएन 

२०७७ असार, ११  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

असार ११, वीरगञ्ज  । वीरगञ्ज महानगरले चालू आर्थिक वर्ष २०७६/ ७७ को ११ महीनामा बजेटको आधा रकम पनि खर्च गर्न सकेको छैन ।

महानगरले यो वर्षका लागि रू.४ अर्ब ४८ करोडको बजेट ल्याएकोमा जेठ मसान्तसम्ममा रू. २ अर्ब ११ करोड ६३ लाखमात्र खर्च गरेको छ । यो कुल बजेट आकारको ४७ प्रतिशतमात्र हो । 

महानगरको सातौं नगरसभामा आगामी आर्थिक वर्ष २०७७/ ७८ का लागि पेश भएको नीति तथा कार्यक्रम र बजेटमा उल्लेख भएअनुसार पूँजीगततर्फ रू. ३ अर्ब ३ करोड विनियोजन गरिएकोमा रू.१ अर्ब १२ करोड ८३ मात्र खर्च भएको छ । यो प्रगति पूँजीगत बजेटको ३७ प्रतिशत मात्र हो । 

वितेको माघ महीनादेखि कोरोना संक्रमणको नियन्त्रणका पूर्वाधार निर्माण र उपायहरूमा केन्द्रित हुनु परेकाले बजेट खर्च प्रभावित भएको महानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । 
अधिकांश विकास योजना कार्यान्वयनको अन्तिम चरणमा भएकोले वर्षको अन्त्यसम्ममा पूँजीगत खर्च ७० प्रतिशत पुग्ने अनुमान महानगरको छ । 

चालू वर्षमा साधारण खर्चतर्फ रू. १ अर्ब ४४ करोड अनुमान गरिएकोमा ६८ प्रतिशत खर्च भएको छ । विगत ३ वर्षको खर्चको तुलनामा यो वर्ष सबैभन्दा न्यून खर्च हुने देखिएको छ । अघिल्लो समीक्षा वर्ष २०७५/ ७६ मा कुल बजेटको ५९ प्रतिशत खर्च भएको थियो ।

त्यो वर्ष रू. ५ अर्ब ९ करोड बजेट बनाएको महानगरले ११ महीनामा ५३ प्रतिशत बजेट उपयोग गरेको थियो ।

चालू वर्षको ११ महीनाको खर्च ६ प्रतिशत बिन्दुले न्यून देखिन्छ । अघिल्लो वर्षको अन्तिम महीनामा भएको खर्च अनुपातका आधारमा यो वर्ष न्यून खर्च हुने देखिएको हो । 
आर्थिक वर्ष २०७४/ ७५ मा रू. ४ अर्ब ३० करोडको कुल बजेटमध्ये ६३ प्रतिशत खर्च भएको थियो ।

अघिल्ला २ वर्ष वित्तीय व्यवस्थापनतर्फ ८६ प्रतिशत खर्च भएकोमा यो वर्ष करीब ४९ प्रतिशतमात्रै पुगेको छ । विकास निर्माणको मुख्य समयमा कोराना संक्रमण र नियन्त्रणका लागि लगाइएको लकडाउनले योजना रोकिँदा विकास खर्च प्रभावित भएको महानगरले बताएको छ । 

कोरोना भाइरस संक्रमणको कारण अधिकांश योजना कार्यान्वयनमा ल्याउन नसकिएको नीति तथा कार्यक्रममा उल्लेख छ ।‘माघ महीनामा नेपालमा पहिलो पटक कोरोना संक्रमित भेटियो । संघ सरकारले भीडभाड नगर्न र सचेतना अपनाउन निर्देशन दिएपछि कोरोना विरुद्धको अभियानमा जुट्नु परेकाले विकास निर्माणका काम ठप्प गर्नुपर्ने अवस्था आयो,’ महानगरको बजेटमा भनिएको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्