ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

दुल्लू नगरको बजेट कृषि र रोजगारी केन्द्रित

२०७७ असार, १२  
कर्णाली प्रदेश
NA
author avatar पंखबहादुर शाही

दैलेख । दैलेखको दुल्लू नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटमा व्यावसायिक कृषि र रोजगारी सृजनालाई जोड दिएको छ । बुधवार सातौं नगरसभामा उपप्रमुख विष्णु थापाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि रू. ८० करोड ४३ लाख ६६ हजार १६५ को बजेट प्रस्ताव गर्दै कोभिड–१९ बाट उत्पन्न संकट व्यवस्थापनका लागि कृषि र रोजगारी सृजनामा जोड दिएको बताए ।

प्रस्तावित आय अनुमानका आधारमा चालू खर्चतर्फ रू. ७ करोड र नगरपालिका र वडाहरूको पूँजीगत खर्चतर्फ रू. १७ करोड ९८ लाख ९५ हजार ६६५, संघ र प्रदेशबाट प्राप्त विषयगत शाखाका लागि सशर्त अनुदान, समपुरक अनुदानतर्फ रू. ३५ करोड ७९ लाख र अन्य रू. १९ करोड ६५ लाख ७० हजार ५०० हुने अपेक्षा नगरपालिकाको छ । तत्काल कोरोना भाइरस संक्रमणको रोकथाम तथा महामारी नियन्त्रण गर्ने र आगामी दिनमा कोरोना भाइरसका कारण प्रभावित नागरिकलाई लक्षित गरी स्थानीय रोजगारी सृजना गर्ने गरी वार्षिक कार्यक्रम तर्जुमा गरिएको नगरपालिकाले बताएको छ ।

यस्तै नगरपालिकाले सञ्चालन गरेको दुल्लू अस्पतालसहित नगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूको संरचना विकास, जनशक्ति व्यवस्थापन, संक्रमण र महामारीजन्य रोग नियन्त्रण लगायत स्वास्थ्य क्षेत्रका मुलभूत विषयलाई बजेटले सम्बोधन गरेको छ । सार्वजनिक निजी क्षेत्रका विकास साझेदार निकायहरूसँग साझेदारी गरी नगरका समग्र विकास प्रक्रियालाई थप गतिशील बनाउन साझेदारी नीतिलाई प्रमुख रूपमा अंगिकार गरिएको नगर प्रमुख भण्डारीले बताए ।

सजावटयुक्त कृषि पर्यटन, बाँझो जग्गा सदुपयोग गर्न विदेशबाट फर्किएका बेरोजगार नागरिक र कृषि पढेका युवा, महिला कृषक जनशक्तिलाई सरल ढंगबाट कृषि ऋण उपलब्ध गराउन वित्तीय संघ सस्थाहरूसँग समन्वय र सहकार्य, उद्यमशीलतामा आधारित विद्यालय सञ्चालन, दीगो विकासमा आधारित पूर्वाधार निर्माण, धार्मिक सांस्कृतिक पर्यटनमार्फत आन्तरिक आय वृद्धि जस्ता नीतिलाई बजेटले प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्