ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

धान रोपाइँ २० प्रतिशत सकियो

२०७७ असार, १२  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । मनसुन शुरू भएसँगै धान रोपाइँ २० दशमलव शून्य ५ प्रतिशत सकिएको छ । रोपाइँ तीव्र गतिमा भए पनि धानखेतीका लागि आवश्यक मलको भने अभाव देखिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार नेपालमा १३ लाख ७१ हजार ७ सय ६ हेक्टर जमीनमा धानखेती हुने गर्छ । त्यसमध्ये हालसम्म करीब २ लाख ७५ हजार हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ । मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले रापाइँको क्रम जारी रहे पनि कतिपय जिल्लामा मलको अभाव रहेको जानकारी आएकाले त्यसलाई पूर्ति गर्न मन्त्रालयले पहल गरिरहेको बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनसँग हाल ५ हजार मेट्रिक टन युरिया, १२ हजार ५ सय मेट्रिक टन डीएपी र ४ हजार मेट्रिकटन पोटास मौज्दात रहेको छ । जेठदेखि साउन महीनासम्मका लागि १ लाख मेट्रिकटन युरिया र ५० हजार मेट्रिकटन डीएपी मल आवश्यक हुन्छ । डीएपी मलको समस्या खासै नभए पनि अहिले युरियाको माग अत्यधिक रहेको र अहिलेको मौज्दात निकै कम रहेकाले मलको हाहाकार बढ्न सक्ने कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखाका कृषि प्रसार अधिकृत कृष्ण धितालले बताए ।

मन्त्रालयले यस वर्ष कुल ४ लाख ५० हजार मेट्रिकटन मल खरीद गर्ने लक्ष्य लिएको थियो । करीब १ लाख मेट्रिकटन मल खरीद गर्न बाँकी नै छ । अघिल्लो वर्षको यही अवधिमा ३ लाख ४० हजार मेट्रिकटन मल विक्री भएको थियो ।

यसपालि सोही अवधिको तुलनामा ४० हजार मेट्रिकटन मल बढी विक्री भएको भए पनि मल अभाव भइरहेको उनले बताए । यस वर्ष बाँझो खेतगराहरूमा समेत खेती गर्ने क्रम बढेकाले माग पनि बढेको हुन सक्ने मन्त्रालयको अनुमान छ ।

भारतको कोलकातामा रोकिएको २५ हजार मेट्रिकटन डीएपी मलमध्ये हालसम्म १६ हजार मेट्रिकटन नेपाल ल्याइसकिएको छ । अब २५ हजार मेट्रिकटन मल आउन बाँकी रहेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले मल्टी कमोडिटी कम्पनीमार्फत ल्याउन लागेको २१ हजार ५ सय मेट्रिकटन युरिया मल गुजरातको बन्दरगाहमा रोकिएको महीना दिन भइसकेको छ । तर, त्यो मल ढुवानी गरेर नेपालमा ल्याउन अझै अन्योल छ । परराष्ट्र मन्त्रालय मन्त्रालयको पहलमा दुवै देशका दूतावासको आपसी छलफल पटकपटक भए पनि हालसम्म कुनै उपलब्धि नभएको ट्रेडिङ कर्पोरेशका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले बताए ।

धान दिवस सांकेतिक रूपमा मनाइने
हरेक वर्ष असार १५ गते सरकारले ठूलो तामझामका साथ राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । तर, यस वर्ष कोरोना माहामारीको असरलाई ध्यानमा राख्दै सांकेतिक रूपमा मात्रै रापाइँ दिवस मनाउन लागिएको केसीले जानकारी दिए । ‘धेरै मान्छेहरू उपस्थित नभएर स्वास्थ्यका मापदण्डहरूको पालना गरी भौतिक दूरीलाई समेत ख्याल गरी रोपाइँ दिवस मनाउने तयारी गरिएको छ,’ उनले भने ।

‘धान उत्पादनमा वृद्धि आत्मनिर्भता र समृद्धि’ भन्ने नाराका साथ सरकारले १७औं धान दिवस मनाउने तयारी गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्