ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

अब झगडा नागरिकतामा

२०७७ असार, १२  
तीतो मीठो
author avatar मदन लम्साल

नेपालीहरू ज्यादै मिहेनती । कहिल्यै खाली बस्न सक्दैनन् । कुनै न कुनै निहुँमा विवाद निकालिरहन्छन्, झगडा गरिरहन्छन् । कहिले लिपुलेक, कहिले एमसीसी, कहिले बेसारपानी त अहिले नागरिकताको नयाँ विधेयक ।

एकथरी भनिरहेछन् कि विदेशी बुहारीलाई बिहे गर्ने बित्तिकै नागरिकता दिनै हुन्न । अझ विदेशी ज्वाइँलाई त कुनै हालतमा पनि दिनै हुन्न । पैले नागरिकता पाएका दुई चार जना बुहारीले चेत खुवाइसकेका छन् । अब ज्वाइँहरू पनि थपेर नेपाललाई फिजी वा मौरिसस बनाउने हो र ? नेपालमा त घरज्वाइँलाई नामर्द पो भन्छन् । यत्ति पनि थाहा छैन ?

नेपाली चेलीले विदेशमा नागरिकता पाउन वर्षौं कुनुपर्ने । अनि विदेशी चेलीलाई एक हातले सिन्दूर, अर्को हातले नागरिकता दिनुपर्ने ? भारतीय पुरुषसँग बिहे गरेर जाने नेपाली चेलीले भारतीय नागरिकताका लागि ७ वर्ष कुर्नुपर्दा नेपाल–भारत सम्बन्ध बलियो हुने । तर नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी बुहारीका लागि नागरिकताका लागि ७ वर्ष कुर्नुपर्दा नेपालको विदेश सम्बन्ध बिग्रने ?

कम्युनिष्टहरू त समाजवादी, अन्तरराष्ट्रियवादी हुन्छन् भन्ने सुनेको र पढेको हो । अस्ति बेजिङ र काठमाडौंमा एकैपटक त्यही भावको गीत बजेको होइन र ? तर नागरिकताको कुरा आएपछि भने देखाउने दाँत एउटा, चपाउने चैं अर्को किन ?

यो बेला देशको आर्थिक, सामाजिक विकास, चेतनाको विकास, राष्ट्रिय एकताभन्दा नागरिकता नै सबै थोक हो । विदेशीलाई त्यो सजिलै दिने ? नेपालमा आएपछि तिनले कति वर्षसम्म दुःख झेल्न सक्छन्, कति पापड पेल्न सक्छन्, कति विभिन्न प्रशासनिक दुःख सहन सक्छन्, कति ‘ह्युमिलिएसन’ सहन सक्छन्, त्यो सबै हेरेर, तौलेर मात्र जब हामी वीर नेपालीको पंक्तिमा गणना लायक हुन्छन्, अनि पो दिनुपर्छ नागरिकता । नत्र नागरिकता जस्तो चीज पनि सजिलै दिन हुन्छ र ?

अर्काथरीको आफ्नै गुनासो छ । बाउले छोराछोरीलाई डोर्‍याउँदै लग्यो भने नागरिकता ठाउँको ठाम पाउने । तर जन्म दिने आमाले लगिन् भने नानाथरीको प्रमाण जुटाउनुपर्ने र अझ बुबाको पहिचान नभएको पनि लेख्नुपर्ने ?

यो विधेयक हुबहु पास भए त महिलामाथि ठूलै भेदभाव हुन्छ । कि त विदेशीसँग बिहेवारी नै रोक्नुपर्‍यो । होइन भने नागरिकतामा किन विभेद ? यो त राष्ट्रवादको भाङ खाएर हिँडेकाहरूले बुहारीलाई नागरिकताबाट वञ्चित गराउन रचेको अहिलेको प्रपञ्च हो ।  

छोराले विदेशी बुहारी ल्याउन सक्ने, नाती, नातिना ल्याउन सक्ने । तर छोरीले विदेशी ज्वाइँ र नाती, नातिना ल्याउन किन नसक्ने ? बुहारीको अलिअलि चिन्ता गरे पनि छोरीले रोजेको ज्वाइँको त वास्तै छैन बा ! यस्तो पनि हुन्छ ज्वाइँलाई नारायण सरह मान्ने हाम्रो नेपालमा ? नागरिकता कानूनमा यस्तो असमान ?

अब के छोरीहरूलाई विदेश पढ्न वा जागीर खान नजाओ, विदेशीसँग नजर नलाओ, विदेशीसँग बिहे त गर्दै नगर भन्ने हो ? कि त विदेशी श्रीमान्ले जसो जसो भन्छन्, उसै उसै मात्र गरेर उतै बस भन्ने हो ?

आफ्नै सन्तानमध्ये छोरा र छोरीलाई त बराबर मान्ने विधेयक ल्याउन नसक्नेले वा नमान्नेले मधेशी समुदाय लगायतलाई बराबर मान्नेगरी कानून ल्याउँछन् होला भनेर कसरी पत्याउने ?

नेपाली नागरिकता यति पावरफुल रहेछ कि, विदेशीहरू लाइन लागेर नागरिकता लिन नेपालीसँग बिहा गर्न तँछाडमछाड गर्न आउँछन्, हो ? अर्को कुरा, के विदेशीको कामै विवाह गर्ने मात्र हुन्छ र ? कि विवाह गरेर आउने सबै विदेशी चपरचण्डाल हुन्छन् ? अनि तिनको उद्देश्य चैं नेपाललाई डुबाउने नै हुन्छ ? विवाह गरेर ल्याउनेको महत्त्व चैं केही पनि हुन्न ? बुहारी आउँदा पनि बर्बाद, ज्वाइँ आउँदा पनि बर्बाद हुन्छ ? नेपालीको राष्ट्रियता त्यति कमजोर छ ? अनि ७ वर्षपछि चाहिँ बुहारी र ज्वाइँहरू नेपाली राष्ट्रिय भावनाले ओतप्रोत हुन थाल्छन् हो ? लेन्डुपहरूको नागरिकता पनि वंशज नै त थियो, होइन र ?

कम्युनिष्टहरू त समाजवादी, अन्तरराष्ट्रियवादी हुन्छन् भन्ने सुनेको र पढेको हो । अस्ति बेजिङ र काठमाडौंमा एकैपटक त्यही भावको गीत बजेको होइन र ? तर नागरिकताको कुरा आएपछि भने देखाउने दाँत एउटा, चपाउने चैं अर्को किन ?

होइन, देशको नक्सामा सहमति गरेझैं यो नागरिकता विधेयकमा पनि सबै दलबीच एउटा सहमति बनाएर जान सकिन्न र ? वा जुन जुन देशका नागरिक नेपालमा बुहारी वा ज्वाइँ भएर भित्रिन्छन्, तिनलाई उनीहरू आएको देशका कानूनमा भएजस्तै ‘रेसिप्रोकेट’ गरेर सोही अनुसार नागरिकता दिने गरे हुन्न र ?

अहिले पनि देशका नगरमा बस्ने पो नागरिक, सीमामा, गाउँ ठाउँमा बस्नेले राज्यबाट नागरिकको जस्तो व्यवहार पाएका छन् र ? उनीहरू त अहिले पनि अनागरिक जस्तै छैनन् र ? अहिले त नागरिकता पाउने चैं ‘हाम्रो मान्छे, नपाउने चैं पराई मान्छे’ जस्तो भएको छैन र ? पाउनुपर्ने कत्तिले पाएका छैनन्, तर नपाउनुपर्ने थुप्रै विदेशीले समेत नेपाली नागरिकता बोकेर हिँडेका छन् त ! यो किन र कसरी ? जवाफ कस्ले दिन्छ ?

कुनै बेला त थुप्रै नेपालीभाषी सिक्किम, दार्जिलिङ, आसामकाहरूले समेत नेपाल छिरेको भोलिपल्टै नागरिकताको प्रमाणपत्र पाएका थिए क्यारे ! यहाँसम्म कि विहार, यूपी, बंगलादेश र पाकिस्तानका समेतले पनि पाएका थिए रे । किनकि उसबेला त डालो र नाङ्लोमा राखेरै नागरिकता बाँडिन्थ्यो रे । अझ राजा महेन्द्रले त बोलाई बोलाई नागरिकता दिएका थिए कुनै बेला ।

त्यसैले अहिले विवाद गर्नुभन्दा एउटा सर्वमान्य विधि बनाएर नागरिकता दिने कुरामा राजनीति बन्द गरे हुन्न ? अझ राष्ट्रियताकै यति माया छ भने नागरिकताबाट भन्दा भान्साबाट शुरू गर्ने उपाय चैं निकाल्न धेरै ढिला भएन र ? नेपाली शीपले, नेपाली माटोमा फलाइएको, नेपाली उत्पादनको चैं प्रवद्र्धन गर्ने राष्ट्रियता पो चाहिएको होइन र ऐले ?

होइन यो नि हुन्न, त्यो नि हुन्न भन्ने लाग्छ भने यो नागरिकता भन्ने चीज नै हटाइदिए के हुन्छ ? यसोे गरेसि न बुहारीको झगडा, न ज्वाइँको लफडा । ‘वसुधैव कुटुम्बकम्’ गरे हुन्न ? यसै पनि नेपाली नागरिकता बोकेर एक छिन गर्वले छाती फुलाउनु बाहेक नेपाली नागरिकले बाँकी के नै पाएका छन् र ?

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्