ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

माथिल्लो तामाकोशी :  ठाडो सुरुङमा पाइप जडान आइतवार सम्पन्न हुँदै   

२०७७ असार, १३  
समाचार
Image Not Found
फाइल फोटो

असार १३, काठमाडौं । सरकारले लकडाउन गरेपनि एकाध दिन बाहेक काम नरोकिएको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल निर्माणसम्बन्धि काम आइतवार पूरा हुने भएको छ । 

कुल ४५६ मेगावाट क्षमताको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशीको जटिल मानिएको दुई ओटा ठाडो सुरुङको काम लकडाउनको समयमा सम्पन्न भएको छ ।

आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार कुल ६८३ मिटर लामो दुई ठाडो सुरुङमा पाइप जडानको काम पूरा भएको छ । गत असारदेखि ठाडो सुरुङमा पाइप जडानको काम शुरु भएको थियो । वर्षदिनमा जटिल काम सम्पन्न भएको हो ।     
     
उनले भने, ‘ करीब–करीब दुई ओटा ठाडो सुरुङमा पाइज जडानको काम पूरा भएको छ । केही काम शनिवार राती गरेर भोलि आइतवार पूरा हुनेछ ।’

कुल ३७३ मिटर लामो तल्लो ठाडो सुरुङको पाइप जडान यसअघि नै सम्पन्न भएको छ । पाइप जडानको काम सकिएपछि अष्ट्रियन कम्पनीले थप कामका लागि भारतीय कम्पनीलाई जिम्मा लगाउँछ । एउटा पाइप राख्न न्यूनतम पाँच दिन लागेको थियो ।     
     
तल्लो ठाडो सुरुङको काम अष्ट्रियन निर्माण व्यवसायी एन्ड्रिज हाइड्रोले गरेको हो । कार्यकुशलता देखाउन नसकेको भारतीय निर्माण व्यवसायी टेक्सम्याकोले लकडाउनको समयमा आफूलाई अब्बल सावित गरेको छ । प्राप्त विवरणअनुसार कुल ३१० मिटर लामो माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सकिएको छ ।     
     
प्रवक्ता न्यौपानेका अनुसार अब बाँकी २२ दशमलव ५ मिटर मध्ये २० मिटर शुक्रवारसम्म काम सम्पन्न गरिनेछ । बाँकी २ दशमलव ५ मिटर भने तेर्सो पाइपमा जोड्नुपर्ने भएकाले जडानका लागि थप केही समय लाग्नेछ ।

‘सम्पन्न भएको स्थानमा कङ्क्रिट गर्ने काम बाँकी छ, ती काम सँगसँगै अगाडि बढ्ेका छन् । सो काम आगामी बिहीवारसम्म सकिन्छ । हामी एउटा सकारात्मक अवस्थामा पुगेका छौं । लकडाउनको समयमा सहज रुपमा काम हुनु आफैमा खुसीको विषय बनेको छ’, प्रवक्ता न्यौपानेले भने ।     
     
माथिल्लो र तल्लो ठाडो सुरुङको बीचको १०० मिटर लामो सुरुङमा पाइपनै जडान गरिने भएकाले असजिलो काम सकिएपछि निर्माण व्यवसायी सो कामका लागि परिचालित हुनेछ । सो कार्यका लागि थप एक महीना समय लाग्नेछ । तेर्सो स्थानमा राखिने केही थान पाइप भारतको कोलकात्तामा छ । कोरोनाले भारतबाट ती पाइप आयातका लागि समस्या भएको छ ।’
निर्माण व्यवसायीले ती सामान ल्याउन पहल गरेको छ, कहिले आइपुग्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन’, उनले भने, ‘हामीले सकेसम्म ती पाइप ल्याउन निरन्तर आग्रह गरिरहेका छौं ।’चालू आव सकिन अझै १७ दिन बाँकी भएकाले आयोजनाको अन्य काममा भने थप प्रगति हासिल हुने विश्वास लिइएको छ ।     
     
आयोजनामा लगानी गर्ने शेयरधनी १० लाखभन्दा बढी छन् । नियमितरूपमा पूर्ण क्षमतामा काम हुन पाएको भए राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम करीब सम्पन्न हुने अवस्थामा पुग्ने थियो ।

भूकम्प, नाकाबन्दी र कोरोना कहरसँग जुधेर आयोजनाले आयोजना सम्पन्न हुने चरणमा पुगेको छ । यसअघि तय गरिएको कार्यतालिकामा निर्माण सकिएको भए दैनिक करीब रू.५ करोड बराबरको क्षतिसमेत नहुने अवस्था आउने थियो ।     
     
हाल सुरुङमा क्रङक्रिट लाइनिङ र ग्राउटिङको काम भइरहेको छ । बाँधस्थलको गत वैशाखमानै परीक्षण सम्पन्न भइसकेको छ । प्रसारण लाइन निर्माणको काम पूरा भइसकेको छ ।     

विद्युत् उत्पादन गर्ने उपकरणलगायत सामग्री भने जडान गरेर तम्तयारी हालतमा राखिएको छ । पाइप जडानलगायत अन्य प्राविधिक काम सम्पन्न गरेर सकेसम्म चाँडो पहिलो युनिट सञ्चालनमा ल्याउने तयारीमा नेपाल विद्युत् प्राधिकरण जुटेको छ । एउटा युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुनेछ । आयोजनामा कुल छ ओटा विद्युत् उत्पादन गर्ने युनिट छन् ।     
     
 सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव छ प्रतिशतको हाराहारीमा पुगेको छ । आयोजनाले भने अब प्रगति मापन नगर्ने, काम सम्पन्न गर्ने लक्ष्य राखेको छ । प्रसारण लाइन निर्माण र सवस्टेशनको काम सम्पन्न हुने चरणमा पुगेको छ ।

कुल २२० केभी क्षमताको प्रसारणलाइन निर्माण सकिएको भए पनि केही मल्टिसर्किटका टावरमा केही काम बाँकी रहेको आयोजनाले बताएको छ । रासस  
 

प्रतिक्रिया [1]
User Image

Ramram

[Jun 27, 2020 10:22am]

Utsahajanak news.


प्रतिक्रिया दिनुहोस्