ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
ad banner Mango Tech Digital Marketing Solution

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल : बन्दाबन्दीमा २३४ ओटा अन्तरराष्ट्रिय उडान    

२०७७ असार, १३  
समाचार
Image Not Found

असार १३, काठमाडौं ।  नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ ओटा अन्तरराष्ट्रिय उडान भएका छन् । 

बन्दाबन्दीको तीन महीनाको अवधिमा यात्रु चार्टर तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको विमानस्थलले बताएको छ । यी उडानबाट ११ हजारभन्दा बढी यात्रु नेपाल आएका छन् भने १३ हजार यात्रु नेपालबाट बाहिरिएका छन् ।     
     
 विमानस्थल कार्यालयले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार बन्दाबन्दीको अवधि चैत ११ देखि असार १२ गतेसम्म कार्गो र चाटर्र्र गरी २३४ अन्तरराष्ट्रिय उडान भएका हुन् । यी उडानबाट ११ हजार २८२ यात्रु र ३३ जना बच्चा नेपाल आएका छन् भने नेपालबाट १३ हजार १०३ यात्रु तथा २५६ जना बच्चा बाहिरिएका छन् ।

यो अवधिमा विभिन्न मुलुकबाट ४ लाख ९२ केजी कार्गो नेपाल आएको छ । नेपालबाट पनि ४१ लाख ७२ हजार ७७ केजी कार्गो विभिन्न मुलुक गएको बताइएको छ ।     
     
नेपाल एयरलाइन्सले मात्रै कार्गो र यात्रु चार्टर गरी ५१ ओटा उडान गरेको छ । निगमका प्रवक्ता अर्चना खड्काका अनुसार निगमको २८  ओटा चार्टर तथा सरकारको समन्यवमा विभिन्न मुलुकबाट नेपाली फर्काउन मात्रै २३ ओटा उडान भएका छन् ।

यो शनिवारसम्मको पूर्वनिर्धारित उडान हो । जुलाई महीनामा चार्टर उडानको पुनःनयाँ उडान तालिका आउने निगमले उल्लेख गरेको छ । निगमपछि हिमालय एयरलाइन्सले धेरै अन्तरराष्ट्रिय उडान गरेको छ ।

अन्तरराष्ट्रिय एयरलाइन्समा कतार एयरवेजले सर्वाधिक उडान गरेको छ । जजीरा, टर्किस, एयर अरेबिया, कोरियनलगायत एयरलाइन्सले पनि नेपालमा चार्टर उडान गरेका छन् ।     
     

 बन्दाबन्दीको असाधारण परिस्थितिमा निगमले एकैदिन आठ ओटा अन्तरराष्ट्रिय उडान गरेको छ । कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले बन्दाबन्दी लागू गरेको तीन महीनाको अवधिमा नेपाली एयरलाइन्सकोतर्फबाट यो सबैभन्दा बढी अन्तरराष्ट्रिय उडान हो । निगमले कोभिडको त्रासमाँझ शुक्रवार (जुन २६ तारिख) मात्रै आठ  ओटा अन्तरराष्ट्रिय उडान गरेको बताएको छ ।     
     
निगमको अपरेशन विभागका अनुसार निगमका दुई ओटा वाइड बडी र दुई ओटा न्यारो बडी जहाजले बन्दाबन्दीको अवधिमा शुक्रवार सबैभन्दा धेरै आठ ओटा उडान गरेका छन् । निगमको न्यारो बडी एयरबस ए ३२० जहाजले बहराइनमा दुई ओटा, हङकङ दुई ओटा र मलेशियाको क्वालालम्पुरमा एक ओटा उडान गरेको छ । त्यस्तै वाइड बडी ए ३३० जहाजले क्वालालम्पुरमा दुई ओटा र साउदी अरेबियाको रियादमा एक ओटा उडान गरेको छ ।     
     
 असारमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निरन्तर अन्तरराष्ट्रिय उडान भइरहेको छ । असारको पहिलो सातादेखि दैनिक १० देखि १६ अन्तरराष्ट्रिय उडान भएको छ । शुक्रवारमात्रै १६ ओटा अन्तरराष्ट्रिय उडान भएको विमानस्थल कार्यालयले बताएको छ । असार महीनाको शुरुदेखिनै विभिन्न मुलुकबाट अलपत्र नेपाली धमाधम चार्टर उडान मार्फत स्वदेश फर्किरहेका छन् ।     
     
     
 बन्दाबन्दीमा गत चैत १९ गते निगमले सबैभन्दा लामो गन्तब्य अष्ट्रेलियाको ब्रिश्बेन र वैशाख २४ गते सिड्नीमा चार्टर उडान गरेको थियो । पछिल्लो पटक निगमको वाइड बडी जहाजले जेठ २६ मा अष्ट्रेलियाको राजधानी क्यानबेरामा चार्टर उडान गरेको थियो ।

मलेशियाको क्वालालम्पुर ट्रान्जिट हुँदै करीब १२ देखि १३ घण्टाको उडानलाई निगमले आफ्नो ऐतिहासिक उडान गरेको थियो । अहिले विदेशमा अलपत्र नेपाली ल्याउनेक्रममा निगमको वाइडबडी जहाजले केही दिनअघि सिड्नी र शनिवार क्यानबेराबाट नेपाली ल्याएको छ ।     
     
 गत चैत १० गतेदेखि नेपालमा अन्तरराष्ट्रिय उडान गर्ने सबै एयरलाइन्सको उडान स्थगन गरिएको छ । आन्तरिकतर्फ पनि उडान हाललाई स्थगित छ । पछिल्लो पटक असारको अन्तिम सातासम्म उडान प्रतिबन्ध कायम गरिएको छ । अहिले कूटनीतिक माध्यमबाट मात्रै चार्टर उडान हुन्छ ।

पछिल्लो पटक सरकारले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन चार्टर उडान गरिरहेको छ । चैत ११ देखि जेठ ३२ गतेसम्म सरकारले देशभर लकडाउन गरेको थियो । असार १ देखि बन्दाबन्दी केही खुकुलो बनाइएको छ । अत्यावश्यक कार्यालय, उद्योग, कलकारखाना तथा बजार मात्र खुकुलो बनाइएको छ । यस्तो व्यवस्था असार २१ सम्मका लागि हो । त्यसपछि परिस्थिति हेरेर निर्णय हुने बताइएको छ ।     
     
निगमले यूएन मिसनमा उडान गर्दै     
     
 निगमले संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा रहेका विभिन्न मुलुकमा चार्टर उडान गर्ने भएको छ । आगामी जुलाई ८ देखि शान्ति सेना लैजान र उताबाट ल्याउन दुईतर्फी चार्टर उडानको तयारी भएको निगम उच्च स्रोतले जानकारी दिएको छ ।     
     
 निगमका वाइडबडी जहाजले कंगो, सुडानलगायत यूएनमीसन भएका मुलुकमा चार्टर उडान गर्ने तयारी भएको हो । यसैबीच निगमले कोभिड महामारीको विषम परिस्थितिलाई ध्यानमा राखी सेवामा खटिने सबै कर्मचारीको बीमा गरेको छ ।

कोभिड महामारीका बीच सञ्चालन भइरहेको अवस्थामा निगमका सबै कर्मचारीलाई कोरोनाको बीमाको व्यवस्था मिलाइएको निगमले उल्लेख गरेको छ । निगममा करीब १ हजार ५०० कर्मचारी कार्यरत छन् । निगमले अन्तरराष्ट्रियतर्फ दुई ओटा वाइड बडी र दुई ओटा न्यारो बडी जहाज तथा आन्तरिकतर्फ नौ ओटा जहाजले उडान गर्दै आएको छ । रासस  
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्